Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, तटीय क्षेत्रमा जोखिम

उद्‌घोष संवाददाता
२६ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ भएर बग्ने हुङ्गा खोलामा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।

पहिरोले खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो पानी जमेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब ७ बजे पहिरो खसेर पानी थुनिएको सूचना पाएपछि प्रहरीले घटनास्थलतर्फ टोली पठाएको छ ।

नदी तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा नजिकका दुईवटा हाइड्रोपावरलाई अवस्थाबारे जानकारी गराएर उच्च सतर्कता अपनाउन भनिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हुङ्गा खोलामा पहिरो खसेर बनेको अवरोधलाई स्थानीयले ड्यामजस्तो संरचना बनेको अवस्थामा देखेका छन् ।

अहिले पानीको निकास भने सुरु भएको प्रहरी सूचनामा उल्लेख छ । तर पहिरोमाथिबाटै पानी बगिरहेको र अवस्था संवेदनशील रहेकाले जोखिम कायमै रहेको जनाइएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनाललाई उधृत गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले बताए अनुसार गौरीशंकर हाइड्रोपावरको हेड वर्क्सबाट करिब १०० मिटर तल, महाकुलुङ गाउँपालिका–२ तर्फ पहिरो खसेको हो ।

घटनाको सूचना गौरीशंकर हाइड्रोपावरका कर्मचारीमार्फत बिहान ७ बजे इलाका प्रहरी कार्यालय सोताङमा पुगेको थियो ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो करिब ३५ मिटर अग्लो छ। त्यसले खोलाको करिब १०० मिटर क्षेत्र थुनेर करिब १५ मिटर गहिराइसम्म पानी जम्मा भएको प्रारम्भिक जानकारी छ ।

पहिरोले खोला थुनिएपछि तत्कालका लागि नदीको तटीय क्षेत्रमा रहेका बस्ती तथा हाइड्रोपावरलाई सतर्क गराइएको छ ।

प्रहरीले खोला आसपास रहेका गाउँबस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।

नजिक रहेका दुईवटा हाइड्रोपावरमा कार्यरत कामदार तथा त्यहाँ रहेका सवारीसाधनलाई पनि सुरक्षित स्थानतर्फ सार्न भनिएको छ। प्रहरीले उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।

विशेषगरी पहिरोमाथिबाटै पानी बगिरहेको अवस्थाले जोखिम निम्त्याउन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका मानिसलाई सचेत गराइएको हो ।

प्रहरी सूचनामा भनिएको छ, ‘अहिलेको अवस्था, पानी पहिरोमाथिबाटै बगिरहेको छ ।’

यही कारण खोलाको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई थप सतर्क रहन आग्रह गरिएको छ ।

हुङ्गा खोला थुनिएको स्थान महाकुलुङ गाउँपालिका–२ मा पर्छ। प्रहरीका अनुसार यो स्थान प्रहरी चौकी बुङबाट करिब १० किलोमिटर दक्षिण–पूर्वमा पर्छ ।

हुङ्गा खोलाको पानीको बहाव अगाडि सोताङ गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका हुँदै अघि बढ्छ । त्यसपछि यो क्षेत्रको जलप्रवाह खोटाङ र ओखलढुंगातर्फ पुगेर दूधकोशी नदीमा मिसिन्छ ।

त्यसैले पहिरोले बनेको अवरोध तत्काल फुट्ने वा पानीको बहावमा अचानक परिवर्तन आउने अवस्था भए त्यसको असर खोलाको तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भन्दै प्रहरी र स्थानीय निकायले सतर्कता अपनाउन थालेका हुन् ।

तर पहिरोले बनेको अवरोध कहिले फुट्छ, कति पानी जम्मा भएको छ वा त्यसबाट कस्तो क्षति हुन्छ भन्नेबारे प्रहरीले अहिलेसम्म कुनै अनुमान सार्वजनिक गरेको छैन ।

उपलब्ध सूचनामा पनि त्यस्तो प्रक्षेपण गरिएको छैन ।

View : 51

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved