Biratnagar, Morang, Nepal
५ मंसिर २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका १३ जनप्रतिनिधिको पद रिक्त, दिक्तेल–रुपाकोट–मझुवागढी–१० को वडा नै रित्तो

उद्‌घोष संवाददाता
४ मंसिर २०८३, शुक्रवार

विराटनगर । आफू निर्वाचित भएको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल त्याग गरेका कोशी प्रदेशका पाँच जिल्लाका १३ जना जनप्रतिनिधि पदमुक्त भएका छन् ।

निर्वाचन आयोगले बिहीबार निकालेको सूचना अनुसार पदमुक्त हुनेमा एक जिल्ला समन्वय समितिका प्रमुख, दुई पालिकाका उपप्रमुख, पाँचजना वडाध्यक्ष, चार वडा सदस्य र एक पालिकाका कार्यपालिका सदस्य  छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै आयोगमा जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

पद रिक्त हुनेमा सबैभन्दा बढी खोटाङ जिल्लाका ८ जना जनप्रतिनिधि छन् । आयोगका अनुसार खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राईको पद गएको छ । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष र चारैजना वडा सदस्यको पद रिक्त भएको हो । वडाका सवै जनप्रतिनिधिको पद रिक्त हुँदा वडा नै रित्तो भएको छ ।

वडाध्यक्ष मुगाधन राई, महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता वि.क., वडा सदस्य रामधन राई र शहरमनि राईको पद रिक्त भएको आयोगको सूचनामा उल्लेख छ । त्यस्तै, नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको जनाइएको छ ।

यता, भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर २ र उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्षको पद पनि रिक्त भएको छ । टेम्केमैयुङ–२ का वडाध्यक्ष बालचन्द्र राई, लिम्चुङबुङ–४ का वडाध्यक्ष छत्र बहादुर राईको पद रिक्त भएको हो । 

इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्वाङको पद रिक्त भएको छ । इलामकै सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ढालबहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जुडिलाल कौडगियाको पदसमेत रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएको आधारमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम मंसिर २ गते निर्णय गरेका कारण उनीहरूको पद स्वतः रिक्त भएको जनाइएको छ ।

View : 54

५ मंसिर २०८३, शनिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved