काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदिश खरेलले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने विकल्पबारे राजनीतिक दलहरूबीच छलफल भएको बताएका छन् । उनले यसो भन्दै रास्वपाका त्यसका लागि तयार रहेको स्पष्ट संकेत गरेका हुन् ।
शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले निर्वाचनको मिति, खर्च, कानुनी तथा प्राविधिक पक्षलाई ध्यानमा राखेर एकैपटक निर्वाचन गर्ने वा फरकफरक समयमा गर्ने भन्ने विषयमा छलफल भएको बताए ।
यता, शुक्रबार नै विराटनगर आइपुगेका रास्वपाका सांसद डा अमरेश कुमार सिंहले पनि राज्यको अर्बौं रुपैयाँ खर्च जोगाउन आगामी स्थानीय र प्रदेश सभाको निर्वाचन एकै दिन गर्नुपर्ने प्रस्ताव गरे । सभापति रवि लामिछानेबाटै जनकपुरबाट विदा भएर हुलाकी राजमार्ग लक्षित मेची–महाकाली पैदल यात्राका निस्किएका सि्हले शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपालजस्तो गरिब मुलुकले छोटो अवधिभित्र दुईटा निर्वाचनको भार थेग्न नसक्ने बताए ।
रास्वपाले आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको जिकिर गर्दै २०८४ सालको मङ्सिर पहिलो साता प्रदेशसभाको निर्वाचन गर्नुपर्ने अवस्था रहेको बताउँदै आएको छ ।
रास्वपाका सांसद खरेलले पनि पटकपटक निर्वाचन गर्दा राज्यको खर्च बढ्नुका साथै विकास निर्माण र प्रशासनिक कामसमेत प्रभावित हुने बताएका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा झन्डै १८ अर्ब रुपैयाँ खर्च भएको उल्लेख गर्दै उनले निर्वाचन खर्च घटाउने विकल्प खोज्नुपर्ने धारणा राखेका हुन् ।
'अहिले गत सालकै चुनावमा फागुन २१ को चुनावमा झन्डै १८ अर्ब खर्च भएको छ । अब त्यो खर्च अझै बढ्न सक्छ' उनले भने 'एउटा चुनावमा २० अर्ब रुपैयाँ खर्च भयो भने त्यसले कति सय किलोमिटर बाटो बनाउन सकिन्छ ? २०० मेगावाट बिजुली निकाल्न सकिन्छ होला ।’
खरेलले निर्वाचनका कारण बजेट विनियोजन र विकास खर्चमा समेत असर पर्ने बताए । वर्षभरि विभिन्न तहका निर्वाचन भइरहँदा सरकारको ध्यान विकासभन्दा निर्वाचनतर्फ केन्द्रित हुने उनको भनाइ थियो ।
View : 26
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved