Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई अर्घ

उद्‌घोष सम्वाददाता
३ मंसिर २०८०, आइतवार

विराटनगर : तराईमा मानिरहँदा पहाडलाई समेत जोड्दै लगेको हिन्दु धर्मावलम्बीहरूको पर्व छठको आज आइतबार मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइदैछ । विराटनगरका नदी, नहर र तलाउ किनारमा तयार पारिएका घाटमा पुगेर भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिन लागेका हुन् । सूर्य अस्ताउनुपूर्व उनीहरूले पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सक्नेहरूले रातभर घाटमा जाग्राम समेत बस्ने गर्दछन् ।

विराटनगरको पूर्वी किनारामा पर्ने सिंघिया, पश्चिममा केसलिया, मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहर र बुढी खोलासम्मै पुगेर भक्तजनहरूले सूर्यलाई अर्घ दिने छन् ।

सूर्य आराधनासँग सम्बन्धित छठ पर्व मनाउन चाहिने सामग्रीहरूको किनमेल गर्न शनिबार विराटनगरका प्रमुख बजार क्षेत्रमा मानिसहरूको भिड लागेको थियो । भक्तजनहरूले ब्रतका लागि आवश्यक सामग्रीहरू जोहो गर्न हाटबजारमा किनमेल गरेका हुन् ।

उनीहरूले छठको प्रसादका रुपमा प्रयोग गरिने उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, कसार, कागती र अदुवा लगायतका सामग्री तथा फलफूल खरिद गरेर छठको तयारी गरेका हुन् । साथै महिलाहरूले सूर्य उपासनाका अवसरमा लगाउने नयाँ सारीसहित श्रृंगारका सामग्रीहरू बिक्री हुने पसलहरूमा भिड लागेको थियो ।

विराटनगर महानगरपालिका–९ गुद्री लाइनमा व्रतालुहरु छठका लागि आवश्यक सामग्रीहरू किनमेलमा व्यस्त देखिन्थे । शनिबार किनेका सामग्रीहरू खोला, नदी र नहर किनारमा सजाइएका घाटमा लगेर चढाउने र त्यसलाई प्रसादीका रुपमा प्रयोग गर्ने गरिन्छ ।

ब्रतालुहरूले शनिबार खरना ब्रतको दिन ओखलमा कुटिएको गहुँको पिठोबाट पकाइएको ठेकुवा लगायतका परिकार पकाएका छन् । उनीहरूले आज साँझ उदाउँदो सूर्यलाई चढाएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएपछि त्यसलाई प्रसादी बनाउने गर्दछन् ।

मिथिला संस्कृतिसँग जोडिएको छठ पर्व अहिले तराईका जिल्लाका साथै पहाडमा पनि उत्तिकै जाँगरका साथ मनाउन थालिएको छ । तराईमा मैथिली भाषीसहित हिन्दु धर्मावलम्बीहरूले श्रद्धाका साथ छठ पर्व मनाउँदै आएका छन् ।
सूर्यको स्तुतिले चिताएको मनोकामना पूरा हुने विश्वास गरिन्छ । सोही विश्वासकै आधारमा श्रद्धालु भक्तजनहरूले छठ पर्व मनाउँदै आएका छन् ।

कात्तिक चतुर्थीदेखि सुरु हुने छठ पर्व सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुने गर्दछ ।

View : 276

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved