विराटनगर । सोमबार विहान करीव साढे ५ बजेतिर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा देवीको दर्शन गर्न यात्रु लिएर गएको बोलेरो जिपमा हाइटेन्सन विद्युत लाइनको तारले छोएर आगलागी हुँदा चारजनाको ज्यान गयो । दुई घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।
यो दुर्घटनामा मे १ ज ३०११ नम्बरको जिपमा करेन्ट प्रवाह हुँदा त्यसका चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराई र एकै परिवारका तीन यात्रुहरूसहित चारजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरिसकेको छ ।
फुङलिङ नगरपालिका–१० स्थित सुकेटार–काफ्लेपाटी सडक खण्डमा भएको दुर्घटनामा झापाको भद्रपुर–८ स्थित अस्पताल चोकका ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमति ६९ वर्षीया सरिता पौडेल, उनीहरूकी नातीनी (छोरी तर्फकी) ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको घटनास्थलमै करेन्ट लागेर भएको आगलागीमा जलेर ज्यान गएको हो ।
दुर्घटनामा पौडेल दम्पतीकी छोरी (मृतक आध्याकी आमा) ललितपुर बस्ने ४५ वर्षीया सबिना आचार्य र सविनाका १० वर्षीय छोरा अबियम आचार्य गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको दुर्घटनास्थल फुङलिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बुले जानकारी दिए ।
यो घटनामा चारजनाको ज्यान गएपछि अहिले कारण खोज्ने काममा स्थानीय प्रशासन, विद्युत प्राधिकरणदेखि त्यहाँका जनप्रतिनिधिहरू समेत केन्द्रीत छन् ।
पीडित परिवारले घटनामा विद्युत प्राधिकरणको लापरवाही रहेको भन्दै सत्यतथ्य छानबिन गरी क्षतिपूर्ति नदिएसम्म शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरू प्राधिकरणसँग सर्वपक्षीय छलफलको आग्रह गरेका छन् । पीडित परिवारको आग्रहपछि अहिले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा छलफलको तयारी भइरहेको वडाध्यक्ष लिम्बुले बताए ।
सडक छेउमा विद्युतको हाइटेन्सन लाइनको तार कसरी लत्रियो भन्ने विषयले दुर्घटनाको कारण खुल्ने भनिएको छ । तर यस बिषयमा प्राधिकरणले भने आफ्नो धारणा तयार पारिसकेको छ । घटनामा प्राधिकरणको कति दोष छ ? घटनालाई कसरी लिएको छ ? प्राधिकरणकै कमजोरी हो या कुनै भवितव्य मात्रै हो भन्ने प्रश्न सर्वसाधारणले समेत उठाउन थालेका छन् ।
यस बिषयमा नेपाल विद्युत प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले भने प्राधिकरणको दोष नभएको जिकिर गरेका छन् । उनले दुर्घटनाको मुख्य कारण आइतबार रातीको हावाहुरीसहितको बर्षा र चट्याङ मुख्य कारण भएको दाबी गरे ।
‘हिजो राति त्यहाँ हावाहुरी र चट्याङसहित पानी परेको रहेछ, चट्याङले पोलमा फलामे पिनमा क्षति पुगेर तारलाई अड्काउने च्यानलबाट तल झारिदिएछ,’ प्राधिकरणका कोशी प्रमुख ठाकुरले भने ‘बिजुलीको पोलमा त्यसरी तार राखेको ठाउँमा माटोको डल्लो पनि राखिएको हुन्छ, चट्याङ लाग्दा माटोको डल्लो फुटाइदिन्छ, हिजो पनि त्यस्तै भयो अनि तार अड्काउने च्यानलभन्दा तल झर्यो, भुँइमा तारले छाएको भए ‘ट्रिपिङ’ भइहाल्थ्यो, त्यो हुनै पाएन अनि लत्रिएको तारमा विहानै अध्यारोमा गाडीले छुन पुग्दा दुर्घटनाको अवस्था बन्यो ।’
प्रमुख ठाकुरका अनुसार तार चुडिएको भए वा ट्रिपिङ भएर विद्युत कटेको भए प्राधिकरणका कर्मचारीले तत्कालै समस्या समाधान खोज्ने अवस्था थियो, तर तार लत्रिएका कारण करेन्ट प्रवाह भइरह्यो । परिणाम् तारले गुडिरहेको गाडीमा छोएर आगलागी हुँदा चारजनाको ज्यान गयो । ठाकुरका अनुसार बिजुलीको तारले गाडीको छतमा छुँदैमा तत्कालै करेन्ट लाग्दैन र आगो पनि लाग्दैन ।
उनले भने, ‘त्यहाँ हिजोको पानीले बाटो हिलो भएको थियो भन्ने रिपोर्ट छ, त्यो तार गाडीको छतमा अड्कियो, गाडीको कुनै विद्युतीय सुचालक धातु (मेटल) ले जमिनमा छोएको हुनुपर्छ, त्यसरी छोइँदा गाडीभित्र धुँवा आएको हुनुपर्छ, जब त्यहाँ धुँवा आउन थाल्यो होला अनि, भित्रका मान्छे बाहिर निस्कएको हुनसक्छ, त्यतिबेला चिसो जमिनमा र गाडीमा एकैचोटी खुट्टा पर्दा तारको करेन्ट भुईँमा प्रवाह भएर आगलागी भएको हुनसक्छ ।’
View : 149
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved