Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

बेलगाम छन् मुख्यमन्त्री कार्की

मुख्यमन्त्री कार्की किन आफ्नै अभिव्यक्तिले विवादमा तानिन्छन् ? बोलीमा किन लगाम लगाउँदैनन् ? धेरैले गर्ने यसखालको प्रश्नमा कांग्रेसका एक जिम्मेवार नेता उनी लास्ट बेन्चर हुनु नै यसको कारण भएको खुलासा गर्छन् ।
उद्घोष सम्वाददाता
२६ माघ २०८०, शुक्रवार

विराटनगर । सत्ता गठबन्धन र आफ्नै पार्टीमा विद्रोह गरेर गएको असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्की यतिखेर फस्ट बेन्च र लास्ट बेन्चको लफडामा फसेका छन् । मोरङको सुन्दरहरैंचामा एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले आफू लास्ट बेन्चर भएको तर पनि मुख्यमन्त्री बन्न सकेको आशयको भाषण गरे ।

‘कार्कीले यतिमात्र भनेको भए विषय तिलको पहाड हुँदैन थियो होला,’ उनलाई परोक्ष सहयोग गर्ने एक जना पत्रकार भन्छन्, ‘हल्काफुल्का प्वाल टाल्न(रफ्फु गर्न) त हामीले जानेकै थियो, तर भ्वाङ नै यत्रो परो कि केले सिउनु केले टाल्नु ?’ उनको दावीअनुसार जुनसुकै बेन्चमा बसे पनि लक्ष्य प्राप्त गर्न सकिन्छ भनेर विद्यार्थीलाई हौसला प्रदान गर्नु मुख्यमन्त्री कार्कीको भाषणको अन्तर्य हो । ‘तर बोल्नेले बेपरवाह बोलिदिएपछि बुझ्नेले जसरी बुझिदिन्छन् भन्ने यो एउटा गतिलो उदाहरण पनि हो’ उनले भने, ‘व्यक्ति खरिदार होस् कि सुवेदार वा मुखिया, कसैको आत्मसम्मानमा चोट पुर्‍याउनु सर्वथा अनुचित हुन्छ ।’ 

मुख्यमन्त्री कार्कीले गएको सोमबार मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सवमा आफू लास्ट बेन्चर भएको भाषण गरेका थिए । त्यतिखेर उनले आफू लास्ट बेन्चर हो मात्रै भनेनन्, आफ्नो पालाको लास्ट बेन्चर नै अहिले मुख्यमन्त्री बनेको हो भनेका थिए ।

विद्यार्थीहरूको परर्र ताली खाँदै उनले आफ्नो पालाको फस्ट बेन्चर खरिदार भएर भुँडी भर्न मात्रै ठिक्क भएको, तर आफू लास्ट बेन्चर भएर मुख्यमन्त्री बन्न सफल भएको बताएका थिए । उनले त्यतिखेर गरेको भाषण सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ । मुख्यमन्त्री कार्कीले गरेको भाषण यतिखेर चोकचोकमा मानिसका लागि कुरा गर्ने मसला बनेको छ । अझ स्कूल, कलेजमा लास्ट बेन्चमा बस्ने विद्यार्थी भविष्यको मुख्यमन्त्री र फस्ट बेन्चमा बस्ने भविष्यको खरिदार भनेर छेडखानी गर्ने नयाँ ‘मिम’ बनेको छ । 

आखिर मुख्यमन्त्री कार्की किन आफ्नै अभिव्यक्तिले विवादमा तानिन्छन् ? बोलीमा किन लगाम लगाउँदैनन् ? धेरैले गर्ने यसखालको प्रश्नमा कांग्रेसका एक जिम्मेवार नेता उनी लास्ट बेन्चर हुनु नै यसको कारण भएको खुलासा गर्छन् । 

मुख्यमन्त्री कार्कीले दिएको अभिव्यक्तिलाई कोशी प्रदेश सभाका एक सदस्य किशोरचन्द्र दुलालले सुरुमा अर्कै तरिकाले बुझेका रहेछन् । दोस्रो कार्यकाल पनि प्रदेश सभा चुनाव जितेका कार्की प्रमुख सचेतक, मन्त्री र मुख्यमन्त्री नहुँदासम्म प्रदेश सभाको बैठक चल्दा लास्ट बेन्चमा बस्थे । ‘मैले त ‘त्यही लास्ट बेन्चमा बस्ने म सांसद मुख्यमन्त्री भएँ’ भनेर गर्व गरेका होलान् भन्ने ठानेको थिएँ, बुझ्दै जाँदा त उनको सानैदेखिको बानी लास्ट बेन्चमा बस्ने रहेछ’ दुलालले भने ।

साथ दिने छैनन् कोही

कांग्रेसमा विद्रोह गर्नु र एमालेको साथ पाउनु नै केदार कार्की मुख्यमन्त्री बन्ने बाटो बन्नु हो । सिद्धान्तः कार्की एमालेले बनाएका मुख्यमन्त्री हुन् । मुख्यमन्त्री बन्नका लागि कार्कीले गरेको जम्मा काम भनेको नपुग ८ जना सांसद ठिक्क पार्नु हो । जुन उनले तयार पारे । बाँकी ३९ एमालेका सांसदले समर्थन गरेपछि कार्की मुख्यमन्त्री बन्दा खुशी हुनेमा कांग्रेसभन्दा एमाले बढी थिए ।

तर पाउरोटी बिस्कुटमाझै एमालेको खुशीमा २१ दिनमै ढुसी पर्यो । उता कांग्रेसले पनि आठ भाइले युद्ध जितेपछि सबै कुरा बिर्सियौं भन्यो । नेपाली कांग्रेसका कोशी प्रदेश अध्यक्ष उद्धव थापाले गला कसरी जोड्नुपर्छ भनेर एमालेबाटै सिकियो भन्दै युद्ध जितेर घर फर्केकालाई फूलमालाले स्वागत गर्नुको विकल्प छैन भनिदिए ।

नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री भन्न कुनै आपत्ति नहुने भनिदिए । एमालेको प्रस्ताव र समर्थनमा मुख्यमन्क्री नियुत्त हुनु र पछि सबै दलको समर्थन पाउनु कार्कीका लागि ऐतिहासिक थियो । तर ऐतिहासिक समर्थन प्राप्त गरेका तिनै मुख्यमन्त्री कार्की भने सरकार सञ्चालनका सुरुका दिनदेखि नै एक्ला छन् । 

उनले कानूनले दिएको सुविधा पनि प्रयोग गर्न सकेका छैनन् । मुख्यमन्त्रीको दाहिने हात मानिने राजनीतिक सल्लाहकार उनले अहिलेसम्म नियुक्त गर्न सकेको छैनन् । सचिवालयमा उनलाई राजनीतिक, आर्थिक सल्लाहकारलगायतका सल्लाहकार नियुक्त गर्ने सुविधा छ । तर कानुनले दिएको सुविधा छाडेर उनले सुरुमै मधेस प्रदेशका एक इन्जिनियर खगेन्द्र कर्णलाई प्राबिधिक सल्लाहकार नियुक्त गरे ।

तत्कालीन निमित्त प्रमुख सचिव ईश्वरकुमार गिरीले कानुनले नदिएको काम आफूले नगर्ने भनेपछि कर्णको नाम मुख्यमन्त्रीको सचिवालयबाट गायब भएको छ । स्रोतका अनुसार, ठेक्कापट्टाबाट लेबी उठाउनेगरी इन्जिनियर कर्ण प्राबिधिक सल्लाहकार नियुक्त भएका थिए । नियमले नियुक्त गर्न नमिलेपछि उनी हटाइए । त्यसबाहेक मुख्यमन्त्री कार्कीले जनसम्पर्क सल्लाहकार र प्रेस सल्लाहकारमा दुई जना पक्रकार नै नियुत्त गरेका छन् ।

जनसम्पर्क सल्लाहकार नियुक्त लीलाबल्लभ घिमिरे नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति अध्यक्ष पनि हुन् । उनी महासंघको अध्यक्ष र मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारको दोहोरो जिम्मेवारी र धपेडीमा छन् । प्रेस सल्लाहकार देवनारायण शाह कान्तिपुर दैनिकका पूर्वसम्वादाता हुन् । यसबाहेक मुख्यमन्त्री कार्कीले कृतिभुषण बस्नेतलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् ।

काठमाडौंमा कलेज पढाउँदै गरेका बस्नेत आफ्ना नातेदार कार्की मुख्यमन्त्री भएपछि सहयोग गर्न विराटनगर आएका हुन् । बस्नेतबाहेक मुख्यमन्क्री कार्कीको सचिवालयमा नियुत्त भएकाहरू कुन योग्यता र क्षमताले नियुक्त भएका हुन् सूचनाको हक प्रयोग गर्दासम्म मुख्यमन्त्री कार्यालयले खुलाउन सकेको छैन । 

कार्यक्रमको योजना र कार्यान्वयनको हिसाबले मुख्यमन्त्रीलाई बलियो बनाउन सचिवालयको महत्वपूर्ण भूमिका हुने अनुभवीहरूको बुझाइ छ । यसबाहेक मुख्यमन्क्रीले नियुत्त गरेका मन्त्री, आफू सम्वद्ध दल, गठबन्धन भए ती दलका नेताहरूको सहकार्य र हिमचिम आवश्यक हुन्छ । तर मुख्यमन्त्री कार्कीलाई सहयोग गर्ने खासै कोही देखिदैनन् ।

स्रोतका अनुसार गठबन्धन दलका नेताहरू मुख्यमन्त्रीले डाकेको बैठकमा नजानेसम्मको अवस्था छ । उनीहरूले मुख्यमन्त्रीले डाकेको बैठकमा जानुलाई फाल्तु काम र समयको नष्ट भन्ने गरेका छन् ।

यतिसम्म कि नेपाली कांग्रेसमा शेखर कोइरालाका खास मान्छे भनिएका कार्कीलाई सोही समूहका नेता कार्यकर्ताले पनि भेट्न रुचि राख्दैनन् । कोइराला समूहकै नागेश कोइरालासँग मुख्यमन्त्री कार्कीको सम्बन्ध पानी बाराबारको छ । नागेश नेपाली कांग्रेसका मोरङ उपसभापति र विराटनगर महानगरपालिकाका मेयर पनि हुन् ।

नागेश आफू मेयर हुँदा कार्कीले गरेको असहयोगको हिसाब मिलाउन चाहन्छन् । नेपाली कांग्रेस मोरङको सभापति डिकबहादुर लिम्बू, विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईं पनि कोइराला समूहकै हुन् । लिम्बू संघीय मन्त्री भएकाले काठमाडौंमै व्यस्त रहन्छन् । चापागाईं र मुख्यमन्त्री कार्कीमा भने कसले कसलाई मान्छे गन्ने भन्ने अघोषित प्रतिष्पर्धा छ । 

यस्तै मोरङमा नेपाली कांग्रेसका थुप्रै केन्द्रीय सदस्य छन् । कार्कीकै समकालीन भीम पराजुली प्रदेश सभा सदस्यमात्र होइनन् पार्टीको केन्द्रीय सदस्य नै छन् । कुनै बेला हित्तचित्त मिलेका यी दुई अहिले एकअर्कालाई सहयोग गर्ने होइन छिर्के लगाउने दाउमा छन् । पराजुली आफ्नै गुटका उद्धव थापा मुख्यमन्त्री भइदिएर उनको मन्क्रिमण्डलमा शत्तिशाली मन्त्रालयको मन्त्री हुने योजनामा थिए । तर, कार्की मुख्यमन्त्री भएपछि पराजुलीको योजनाले काम गरेन ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको चुनावमा जम्मा दुई भोट पाएर सुरुमै घायल छन् । अर्यालले कार्कीलाई कसरी सहयोग गर्ने मेसो नै पाएका छैनन् ।

त्यस्तै कांग्रेसका केही केन्द्रीय सदस्यहरू जो देउवा समूह भनिएर चिनिएका छन् तिनले शेखर कोइरालाले बोकेको मान्छेलाई सहयोग गर्ने कामलाई तातो न छारोको काम ठानेका छन् । कोइराला समूह भनिएका तर प्रदेश सभा सदस्य हारेका गुरुराज घिमिरेले कार्कीसहितका आठ भाइले गरेको विद्रोहलाई सुरुमै अनुशासनहिनता भनेर आफ्नो लाइन क्लियर गरिदिएका छन् । 

समाचार स्रोतका अनुसार, मुख्यमन्त्री कार्कीलाई गारोसारो पर्दा सहयोग गर्नेमा गणेशराज कार्की छन् । कार्की पूर्वप्रशासक हुन् । उनी कुनै बेलामा मोरङमा सीडीओ भएर बसेका थिए । यसबाहेक मुख्यमन्क्री कार्कीले नियुत्त गरेका प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, मुख्य न्यायाधिवक्ता रुपेश कोइराला उनका लागि अड्को पड्को तेलको धूप भएका छन् ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved