संघर्षदेखि सफलतासम्म
ज्ञान तथा विज्ञानका देवता भगवान् सूर्यको उदय पूर्व दिशाबाट हुन्छ। मानवीय सभ्यताको विकासमा पूर्वीय दर्शनको छुट्टै विशेषता र महत्त्व छ। त्यसैले अध्यात्म र दर्शन दुवैमा पूर्वको अत्यन्त प्रभाव पाइन्छ।
पूर्वाञ्चल विश्वविद्यालयको स्थापना वि.सं. २०५२ सालमा पूर्वी नेपालको हालको कोशी प्रदेशको राजधानी विराटनगरमा भएको हो। उच्च शिक्षालाई काठमाडौंकेन्द्रित संरचनाबाट बाहिर निकाल्दै ज्ञान, अनुसन्धान र अवसरलाई देशको कुनाकाप्चासम्म पुर्याउने राष्ट्रिय आकांक्षाको प्रतिफलस्वरूप यसको जन्म भएको हो।
त्यतिबेला पूर्वी नेपालमा त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरू त थिए, तर समयसापेक्ष पाठ्यक्रमसहितको गुणस्तरीय उच्च शिक्षाका लागि एक छुट्टै विश्वविद्यालयको आवश्यकता महसुस गरिएको थियो।
विशेष गरी उच्च शिक्षा केही सीमित सहरहरूमा मात्र खुम्चिएको तत्कालीन सन्दर्भमा यसको सान्दर्भिकता झन् बढी थियो।
पूर्वाञ्चल विश्वविद्यालयले विकेन्द्रीकरणको सशक्त अभियान बोक्दै सुव्यवस्थित कक्षाकोठा र विभिन्न संकायको माध्यमबाट आफ्नै भूगोलमा दक्ष जनशक्ति निर्माण गर्ने चुनौतीपूर्ण जिम्मेवारीका साथ उदय भएको हो।
यस अर्थमा यो विश्वविद्यालय केवल एउटा शैक्षिक संस्था मात्र नभएर शिक्षामार्फत क्षेत्रीय सन्तुलन, समावेशी विकास र नयाँ नेपालको परिकल्पना तर्फको एक ऐतिहासिक कदम थियो।
नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार संघीय विश्वविद्यालयको कुलपति पदेन प्रधानमन्त्री र प्रादेशिक विश्वविद्यालयको हकमा पदेन मुख्यमन्त्री रहने व्यवस्था छ।
पूर्वाञ्चल विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने भए पनि स्थापनाकालदेखिको अथक प्रयास र परिश्रमले गर्दा आज यो नेपालको दोस्रो ठूलो र व्यवस्थित विश्वविद्यालय बन्न सफल भएको छ।
बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि सरकारले त्रिभुवन विश्वविद्यालयको विकल्प र एक स्वायत्त संस्थाका रूपमा यसलाई स्थापित गरेको हो।
मोरङको गोठगाउँमा करिब ५४५ हेक्टर जमिनमा फैलिएको मुख्य परिसरसहित यस विश्वविद्यालयले सुरुवाती दिनमा केही व्यवस्थापकीय कठिनाइहरू झेल्नुपर्यो। तर, विस्तारै कोल्टे फेर्दै व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी, कानुन र शिक्षा गरी पाँच संकायबाट सुरु भएको यस यात्राले अहिले १२० भन्दा बढी सम्बन्धन प्राप्त कलेज र आफ्नै आंगिक क्याम्पसहरूको सञ्जाल विस्तार गरिसकेको छ।
पूर्वाञ्चल विश्वविद्यालयको यात्रा सहज भने पक्कै थिएन। सरकारबाट पर्याप्त बजेटको अभाव र केवल सम्बन्धन शुल्कमा भर पर्नुपर्ने बाध्यताले भौतिक र प्राज्ञिक विकासमा कठिनाइ उत्पन्न भएको थियो।
राजनीतिक हस्तक्षेप, अस्थिरता, शैक्षिक पात्रो कार्यान्वयनको चुनौती र २०७१ साल ताका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतापछि खस्किएको साखलाई पुनर्ताजगी दिनु यसका लागि ठूला संघर्ष थिए।
यी अनेकौँ बाधालाई चिर्दै आज पूर्वाञ्चल विश्वविद्यालय एउटा स्थापित 'ब्रान्ड' बन्न सफल हुनु शैक्षिक संस्थाहरूका लागि प्रेरणाको स्रोत हो।
एकातिर त्रिभुवन विश्वविद्यालयको स्थापित साखसँग प्रतिस्पर्धा गर्दै विद्यार्थी संख्या बढाउनु यसका लागि 'फलामको चिउरा' चपाउनु सरह थियो। अर्कोतिर, 'यो त नयाँ विश्वविद्यालय हो' भनी शङ्काको दृष्टिले हेर्नेहरूको पनि कमी थिएन। तर, अनेक चुनौतीका बाबजुद विश्वविद्यालय परिवारले हार नमानी इमानदारी र परिश्रमका साथ शैक्षिक उन्नयनमा अहोरात्र लागिपर्यो।
फलस्वरूप, पुराना संकायहरूको स्तरोन्नतिसँगै दक्ष प्राध्यापक र कर्मचारीहरूको व्यवस्थापन, शक्तिशाली परीक्षा व्यवस्थापन कार्यालयको निर्माण, योग्य संकाय प्रमुखहरूको नियुक्ति र दिगो विकासका लागि रणनीतिक योजनाहरू निर्माण गर्दै विश्वविद्यालय अघि बढ्यो।
आज २६ हजार १२८ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयले आफ्नो दूरगामी लक्ष्य अनुरूप नर्सिङ र जनस्वास्थ्यका कार्यक्रमहरूलाई अझ सुदृढ बनाएको छ।
साथै, आफ्नै शिक्षण अस्पतालमार्फत सन् २०२५ (वि.सं. २०८१/८२) बाट औपचारिक रूपमा एमबीबीएस. कार्यक्रमसमेत सुरु गरिसकेको छ।
इन्जिनियरिङतर्फ २०५८ सालदेखि नै सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, जियोमेटिक्स र बायोमेडिकल जस्ता विधा सञ्चालनमा छन्। नेपालमा 'बायोमेडिकल इन्जिनियरिङ' सुरु गर्ने यो पहिलो विश्वविद्यालय हो।
विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ आंगिक क्याम्पस यसको मुख्य केन्द्र हो। यस संकाय अन्तर्गत ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
त्यसैगरी, होटल व्यवस्थापन स्नातक र स्नातकोत्तर, कानुनतर्फ पाँच वर्षे बीए.एलएल.बी , तीन वर्षे एलएल.बी र दुई वर्षे एलएल.एम कार्यक्रमहरू सफलतापूर्वक सञ्चालनमा छन्। 'फ्याकल्टी अफ मेडिकल एण्ड एलाइड साइन्सेज' अन्तर्गत फार्मेसीका उच्चस्तरीय कार्यक्रमहरू पनि सञ्चालित छन्।
व्यवस्थापन संकायमा उचाइ लिँदै यसले पूर्वी नेपालमा पहिलो पटक दर्शनाचार्य कार्यक्रम सुरु गर्यो। यो समय विश्वविद्यालयका लागि प्राज्ञिक उत्कृष्टता प्रमाणित गर्ने चुनौतीपूर्ण घडी थियो, जहाँ अनुभवी अनुसन्धानकर्ता र वरिष्ठ प्राध्यापकहरूको ठूलो समूह आवश्यक थियो। गुणस्तरमा सम्झौता नगर्ने दृढ सङ्कल्पका कारण तत्कालीन संकाय प्रमुख तथा कार्यक्रम निर्देशकहरूको अथक प्रयत्नले यो कार्यक्रम सफल मात्र भएन, यसै संकायबाट विश्वविद्यालयले टीकाराम राईलाई पहिलो विद्यावारिधि समेत प्रदान गरेकाे छ ।
यसरी विभिन्न उकाली-ओराली र उतारचढाव झेल्दै आज पूर्वाञ्चल विश्वविद्यालय नेपालको एक शक्तिशाली प्राज्ञिक केन्द्र, अनुसन्धानकर्ताहरूको थलो र नयाँ विश्वविद्यालयहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ।
(लेखक कर्ण, पूर्वाञ्चल विश्वविद्यालयका दर्शनाचार्य अध्येता हुन्।)
View : 445
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved