मलेसिया श्रमिक ठगी प्रकरण
विराटनगर । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
अर्याललाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको भन्ने चर्चाका बीच प्रहरीले भने उनलाई भारतीय भूमिबाट पक्राउ नगरिएको दाबी गरेको छ । सीमावर्ती क्षेत्रमा पक्राउ गर्दा कानुनी समस्या आउन सक्ने भएकाले नेपालतर्फकै सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहेका ५९ वर्षीय अर्याललाई प्रहरीले बिहीबार विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
स्याङ्जाको करेन्डाडा–४ स्थायी घर भएका अर्यालमाथि नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि मंसिर २ गते तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा कानुन अधिकृत निर्मला गुरुङ पक्राउ परेका थिए ।
निजी क्षेत्रबाट म्याक्रोटेक प्रालिका सञ्चालक कैलाश खड्कासहित रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी यसअघि नै पक्राउ परिसकेका छन् । अर्यालको पक्राउसँगै यस प्रकरणमा पक्राउ परेका व्यक्तिको संख्या ११ पुगेको छ ।
सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति १०० रिंगेटका दरले अतिरिक्त शुल्क असुल गरिएको थियो ।
नेपाल र मलेसियाबीचको समझदारीमा उल्लेख नभएको तथा दुवै देशको संयुक्त कार्यदलबाट स्वीकृतिसमेत नभएको ‘बायोमेडिकल सर्भिस चार्ज’ शीर्षकमा रकम उठाइएको अनुसन्धानबाट खुलेको छ ।
सन् २०१९ देखि सुरु भएको यस प्रक्रियाबाट ७ लाख ५० हजार ९८८ नेपाली श्रमिक प्रभावित भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । संकलित रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाइएको अनुसन्धानमा उल्लेख छ । उक्त रकम १७ पटक टेलिग्राफिक ट्रान्सफर (टीटी) मार्फत पठाइएको थियो ।
त्यसका लागि नेपाल राष्ट्र बैंकमा १६ पटक निवेदन दिइएको र स्वीकृतिपछि लक्ष्मी सनराइज बैंकमार्फत रकम मलेसिया पठाइएको अनुसन्धानमा उल्लेख छ ।
रकम विदेश पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको र ती निर्णय तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव तथा शेरबहादुर कुँवरको कार्यकालमा भएको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर निर्णयसम्बन्धी फाइल श्रम मन्त्रालयमा फेला नपरेको बताइएको छ ।
View : 14
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved