Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अभिभावक बनेकी नुमा

ध्रुव भट्टराई
१७ फागुन २०८०, बिहिवार

विराटनगर । सायद प्रकृति नै रहस्यमयी छ– शरीर र मन फरक पारिदिने । शरीर पुरुषको, मन महिलाको अनि शरीर पुरुषको, मन महिलाको । कस्तो हुँदो रहेछ भने शरीर र मन फरक परेपछि पहिले आफूलाई चिन्न मुश्किल पर्ने, अनि आफूलाई चिन्यो, अरूलाई चिनाउन मुश्किल पर्ने ।

यस्तै मुश्किलमा परेकीहरूमध्ये एक हुन्, चन्चला लिम्बू (नुमा) । ३२ वर्षअघि जन्मिदा उनी छोरा थिए । उनको शरीरले दिएको लिङ्ग पहिचान छोरा नै थियो । आखिर अरूले पहिचान गर्ने पनि यसरी नै हो । उनको नाम पनि पुरुषसँगै जोडिएको थियो । उनी मोरङको बबियाबिर्तामा हुर्किदै गइन् । 

जसै नुमा हुर्किदै गइन्, उनी १२/१३ वर्षको उमेर टेकेसँगै उनलाई म त छोरा नभएर छोरी पो हुँ भन्ने लाग्न थाल्यो । छोराको लुगा मन पर्दैन थियो । छोरीले लगाउने लुगामा मन जान्थ्यो । बाल्यावस्थामा छोरीजस्तो बन्न खोज्ने नुमाको स्वभावप्रति परिवारजनको ध्यान गएन । त्यो स्वभाव बालहठ ठानियो । उनी दिदीहरूले जस्तै गाजल लगाउन लालयित हुन्थिन् ।

नुमा भन्छिन्, ‘मलाई आफू केटा भएर पनि किन केटीजस्तो बन्न मन लागेको होला भन्ने प्रश्नले उकुसमुकुस बनाइरहन्थ्यो । तर उत्तर कहाँ पाउनु ? छोरो मान्छे भनिएको शरीरमा छोरीको जस्तो मन कोमल हुँदै थियो ।’ नुमा आफैले कुनै निर्णय लिन सक्ने अवस्था थिएन । अरूले भनेको मान्नुपर्थ्यो ।

आठ कक्षामा पढ्दै गर्दा उनले आफू छोरा होइन, छोरी नै हुँ, पुरुष होइन, महिला नै हुँ भन्ने पक्का गरिन् । आफू त पक्का भइन् तर घरमा कसरी कुरा बुझाउने, साथीहरूलाई कसरी सम्झाउने भन्ने उनी रनभुल्लमा परिन् । 

उनले आफ्नो शरीर र मनको भिन्नताको रहस्य खोल्न सकिनन् । कसैलाई भन्न सकिनन् । आफ्नो पहिचान लुकाएरै राख्न बाध्य भइन् । यसको परिणाम के भयो भने उनको पढाइ बिग्रिदै गयो । पढाइमा लगाउनुपर्ने चित्त लैंगिक पहिचान लुकाउनमा लगाउनुपर्ने भयो । ‘मेरो पढाइ बिग्रदै गयो । मलाई पढाइभन्दा पनि कसरी आफ्नो पहिचान लुकाउने भन्ने चिन्ता हुन्थ्यो । यसमै बढी ध्यान दिन थाले’ नुमा भन्छिन् ।

उनलाई सबैभन्दा ठूलो सकस स्कुलको शौचालय प्रयोगमा हुन्थ्यो । केटा जस्तो देखिन केटाकै शौचालयमा पस्नु पर्थ्यो । उनका अनुसार भित्री मनले उनलाई केटीकै शौचालयमा पस्न भन्थ्यो, तर केटाको लुगा लगाएको हुन्थे । शौचका लागि उनलाई केटाकै शौचालय सजिलो हुन्थ्यो, तर केटीहरूसँगै शौचालय छिर्न असहज लाग्थ्यो । सुनसान भएपछि केटीकै शौचालयमा पस्थिन् । 

उनले १० कक्षा पढ्दासम्म केटाकै पोशाक लगाइन् । शरीरिक रुपमा केटाकै हाउभाउ भेषभुषमा सजिएर स्कुल गइन् । उनले आफ्नो केटी मन दबाउनुसम्म दबाएर राखिन् । शरीरले छोरा भए पनि मनले छोरी हुँ भन्ने कुरा कसैलाई सुनाइनन् ।

उनको हाउभाउ ऊमेर बढेसँगै क्रमशः केटीको जस्तो हुने त्रम विस्तारै बढ्दै गयो । यससँगै साथीहरूको नजर पनि परिवर्तन हुँदै गयो, उनीहरू नकारात्मक बन्न थाले । ‘मेरो हाउभाउ केटीको जस्तै हुन थालेपछि स्कुलका साथीहरूले मलाई छक्का, हिजडाको उपनाम दिन थाले,’ नुमा भन्छिन्, ‘यसले मलाई ठूलो मानसिक पीडा दिन्थ्यो ।’

म केटी नै हुँ भनेर उनले कपाल पाल्न थालिन् । यसले घरमा निकै समस्या सिर्जना गर्‍यो । कपाल पालेपछि परिवारका अन्य सदस्यहरूले धेरै गाली गरे । तर उनले आफ्नोबारे केही बोलिनन् । छोरा मान्छेले यसरी कपाल पाल्न हुँदैन भन्ने परिवारको मत थियो । 

उमेर बढ्दै गएपछि उनको लैंगिक पहिचानमा चियोचर्चो र खिसिट्युरी पनि बढ्न थाल्यो । पढ्नु त थियो नै । स्कुल जाने र नजाने आधाआधा जसो गरेर उनले १० कक्षा पूरा गरिन् । 
जीवन जिउनै पर्छ भन्ने सोचले दोधारे परिचय बोकेर जसोतसो बाँचेकी उनी विस्तारै आफूलाई समाजमा खुलाउँदै लगिन् । परिवारमा भने चार जना दिदीहरूपछि उनी छोराका रुपमा जन्मिएकी थिइन् ।

‘म छोरा भएर जन्मिदा परिवार धेरै खुशी हुनु हुन्थ्यो, जब उमेर बढ्दै गयो मेरा रहर, चाहनाहरू छोरीको जस्तै हुन थाल्यो । समाजको साँघुरो सोचसँग जुध्दै आफूलाई बचाउन निकै सकस थियो’, उनी भन्छिन्, ‘तर, खुलेर बाच्नु थियो, सायद मोरङमा परिचय खुलाएर अगाडि आउनेमा म नै पहिलो हुँ जस्तो लाग्छ ।’

पहिचान स्थापित गर्न सकस

सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा ठान्छन्, त्यस्तै कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छन् भने उनीहरू लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र पर्दछन् । यसमा न त उनीहरूको दोष हुन्छ न त उनीहरूको अविभावकको ।

समाजले पनि मानिसको यो जैविक अवस्थालाई हत्तपत्त स्वीकारेको पाइदैन । यही चेपुवामा लामो समय परिन् नुमा पनि । सन् २०१४ मा थाइल्याण्ड पुगेर शल्यक्रियामार्फत महिलाको शरीर बनाएर फर्किएकी उनी संघर्षको दौरानमा धेरै पटक यौन हिंसाको सिकार बन्न पुगेको विगत सुनाउँछिन् । झण्डै १७ लाख रुपैयाँ खर्चेर शल्यक्रियामार्फत महिलाको शरीर बनाएर उनी फर्किएकी थिइन् ।

उच्च शिक्षा अध्ययनका लागि उनी विराटनगरको एक क्याम्पसमा भर्ना भएपछि उनी कपाल पालेर क्याम्पस जान सुरु गरिन् । उनलाई शिक्षकले कपाल काट्न लगाएका दिनदेखि पढाइ छोडेकी उनी अहिले पनि पढाइको भोक नमेटिएको बताउँछिन् । ‘उमेर बढेसँगै मलाई कपाल पाल्ने रहर जाग्न थाल्यो, म कपाल पालेर क्याम्पस जाँदा सरले कपाल काट्नु भन्नुभयो’, उनले विगत स्मरण गर्दै सुनाइन्, ‘म छोरी हुँ नि त किन कपाल काट्नु भन्ने लाग्यो त्यो दिनदेखि क्याम्पस नै जान छोडिदिएँ ।’

अहिले नुमाको संघर्षको एउटै एउटा लक्ष्य छ, त्यो हो पहिचान । उनको चाहना छ– नयाँ पुस्ताले लैंगिक पहिचानका लागि आफूले जस्तो पीडा भोग्नु नपरोस्, यति धेरै संघर्ष गर्नु नपरोस् र अपमानित हुनु नपरोस्, गौरवका साथ जिउन सकूँन् ।’

सम्झन लायक त्यो एक पल

नुमा विराटनगर आएपछि परिवर्तनशील समाज र निलहिरा समाजसँग सन् २००८ मा आवद्ध भइन् । यसअघिका दिनमा उनी आफ्नो पहिचान लुकाउन बाध्य थिइन् । उनलाई आफू छोरी हुँ भनेर घर परिवार र समाजमा खुल्न नसक्दाको ती दिनमा धेरै पीडा हुने गरेको थियो ।

विराटनगरको वीरेन्द्र सभागृहमा सन् २००८ मा लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले पूर्वाञ्चल स्तरीय सुन्दरी प्रतियोगिता आयोजना गरिएको थियो । सोही सुन्दरी प्रतियोगितामा नुमा पनि सहभागी भइन् ।

प्रतियोगितामा अन्य १६ जनालाई उछिन्दै नुमाले सुन्दरी प्रतियोगिताको उपाधि जितिन् । त्यसपछि उनी जताततै मिडियामा छाएकी थिइन् । ‘सायद मलाई लाग्छ, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिलो व्यक्ति म नै हो जस्तो लाग्छ, पूर्वाञ्चलमा पहिलो पटक मिडियामा छाएको’ त्यसपछि उनलाई समाजमा खुल्न कुनै गाह्रो नभएको उनी बताउँछिन् । 

अभिभावक बनेकी नुमा

नुमा विगत १५ वर्षदेखि निरन्तर आफूजस्ता लैंगिक अल्पसंख्यकहरूको पहिचान र अधिकारका लागि संघर्षरत छिन् । झापाको दमक बस्दै आएकी उनी लिड नेपाल संस्थाको झापा जिल्लाको कार्यक्रम संयोजक छिन् । सोही संस्थामार्फत लैंगिक अल्पसंख्यकहरूको पहिचान र अधिकारका लागि वकालत गदै आएकी छिन् ।

नेपालभरि यौनिक तथा लैंगिक अल्पसंख्यक १० लाखको हाराहारीमा भएको अनुमान गरिएको छ । तीमध्ये २० हजार बढीलाई सेवा दिएको उनको दाबी छ ।

संघर्षको समय भोकसँगै अपमान खेप्दै हिंडेकी उनलाई आफ्नो समुदायको नेतृत्वदायी भूमिकामा पुग्छु जस्तो कहिल्यै लागेको थिएन । तर, पनि आत्मबल र आत्मविश्वासले आफूलाई यो स्थानमा पुर्‍याएको बताउने उनी पहिले भन्दा अहिले जीवन बाँच्न निकै सहज भएको सुनाउँछिन् । हिजो अपमान गर्नेहरूले नै अहिले सम्मानजनक ठाउँ दिदा संघर्षको दौरानमा पाइला डगमगाउन नदिनु नै महत्वपूर्ण रहेको उनी सुनाउँछिन् । 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानवअधिकारको क्षेत्रमा लामो समयदेखि वकालत गर्दै आएकी नुमा भने अहिले पनि एकल जीवन बिताइरहेकी छिन् । नुमालाई बिहे गर्ने पनि रहर छ ।

लैंगिक अल्पसंख्यकहरूको बिहेका सम्बन्धमा ठोस कानुनी व्यवस्था हुनुपर्ने माग राख्दै उनले भनिन्, ‘हाम्रो समुदायको लागि बिहे गर्न कानुनले छुट दिएको छैन, कानुन आएपछि बिहे गरेर श्रीमती भित्राउने मन छ ।’ तर उचित जीवन साथी अहिलेसम्म आफूले नपाएको उनले बताइन् ।

नुमा किरात समुदायकी हुनु निलहीरा समाजका लागि गौरवको कुरा भएको छ । निलहीराका एक सदस्य सञ्जय शर्मा भन्छन्, ‘सानै उमेरदेखि आफ्नो पहिचानका लागि संघर्ष गरेकी नुमा हाम्रो समुदायमा उदाहरणीय हुन् ।’

View : 367

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved