विराटनगर । विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीले सरकारी बिदाका दिन पनि बालबालिकालाई नियमित खोप लगाउँदै आए पनि त्यसबापत पाउनुपर्ने सट्टा बिदा नपाएको गुनासो गरेका छन् ।
बालबालिकालाई नियमित खोपबाट वञ्चित हुन नदिन बिदाको दिनसमेत सेवा सञ्चालन गर्नुपर्ने बाध्यता भए पनि महानगरपालिकाले स्वास्थ्यकर्मीको अतिरिक्त श्रमको व्यवस्थापन गर्न सकेको छैन ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५५ मा सार्वजनिक बिदाका दिन काम गर्ने स्वास्थ्यकर्मीलाई सट्टा बिदा दिने व्यवस्था छ । नियमअनुसार यस्तो बिदा तीन महिनाभित्र पालो मिलाएर लिनुपर्ने प्रावधान छ ।
महानगरपालिकाका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिनाको १०, ११ र १२ गते तीन दिन बालबालिकालाई नियमित खोप लगाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, ती तीन दिनमध्ये कुनै दिन सरकारी बिदा परे पनि खोप कार्यक्रम भने रोकिदैन । स्वास्थ्यकर्मीले अनिवार्य रूपमा खोप सेवा सञ्चालन गर्नुपर्ने हुन्छ ।
विराटनगर महानगरपालिकाले नियमित खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई क्षयरोग, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, निमोनिया, झाडापखाला, दादुरा, रुबेला, जापानी इन्सेफलाइटिस र टाइफाइडजस्ता रोगबाट बचाउन विभिन्न चरणमा खोप केन्द्र र स्वास्थ्य केन्द्रहरुबाट खोप लगाउँदै आएको छ ।
सरकारले सार्वजनिक गरेको २०८२ र २०८३ सालको सरकारी तथा सार्वजनिक बिदाको सूची हेर्दा खोप सञ्चालन हुने १०, ११ र १२ गतेमध्ये दुवै वर्षमा विभिन्न महिनामा बिदा परेको देखिन्छ । २०८२ सालमा जेठ १०, साउन १०, भदौ १०, असोज ११, कात्तिक १०, पुस १० र १२ तथा माघ १० गते बिदा परेको थियो । त्यस्तै, २०८३ सालमा वैशाख १२, भदौ १२, असोज १०, मंसिर १२ तथा पुस १० र ११ गते बिदा परेको छ ।
गत वर्ष मात्रै आठ दिन बिदामा पनि स्वास्थ्यकर्मीले खोप लगाएका थिए । यीमध्ये केही बिदा शनिबारका कारण परेका हुन् भने केही पर्व तथा उत्सवका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
भदौमा हरितालिका तीज, कात्तिकमा छठ, पुसमा क्रिसमस डे तथा २०८३ सालको भदौमा रक्षाबन्धनका कारण खोप सञ्चालन हुने दिन सार्वजनिक बिदा परेको थियो ।
महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले स्वास्थ्यकर्मीले गर्दै आएको कामका आधारमा सट्टा बिदा दिने व्यवस्था नभएकाले अहिलेसम्म उपलब्ध नगराइएको बताए । यद्यपि, सट्टा बिदा दिनुपर्ने विषयमा छलफल भइरहेको र महानगर प्रशासन पनि सकारात्मक रहेको उनको भनाइ छ ।
बालबालिकाको स्वास्थ्यसग जोडिएको खोप सेवा नियमित र प्रभावकारी बनाउनका लागि सट्टा बिदा दिनुपर्ने कर्मचारी बताउँछन् । तर, सेवा निरन्तर सञ्चालन गराउने नाममा स्वास्थ्यकर्मीको श्रम र कानुनी अधिकारलाई बेवास्ता गर्न नमिल्ने बताइन्छ ।
View : 34
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved