विराटनगर । मंसिर ६ र ७ मा सम्पन्न प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट नेपालको व्यापार, पारवहन, ऊर्जा र क्रिकेटका क्षेत्रमा नयाँ अवसर सिर्जना भएको पूर्वका उद्योगी व्यवसायीले बताएका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका सम्झौताहरूका कारण निजी क्षेत्रले दीर्घकालिन रुपमा आर्थिक तथा व्यापारिक क्षेत्रमा लाभ प्राप्त गर्ने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले बताए । संघमा आयोजित सञ्चारकर्मीहरूसँगको छलफलमा अध्यक्ष साहले भएका सवै सहमतिको प्रभावकारी कार्यान्वयन गर्न निजी क्षेत्रले सरकारलाई ध्यानाकर्षण गराइरहने बताए ।
अध्यक्ष साहले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको बताए । भ्रमणका क्रममा भएका सहमतिले नेपाली उद्योगी–व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गर्दै उनले भ्रमणका उपलब्धिहरूलाई व्यवहारमा कार्यन्वयन गर्न सरकारले काम गर्नुपर्ने धारणा राखे ।
भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहबाहेक गुजरातको दीनदयाल (काण्डला) र ओडिशाको पारादीप बन्दरगाह नेपालले प्रयोग गर्न पाउने नयाँ सहमतिले नेपालको समुद्रपार व्यापारको पारवहन दूरी छोट्याउने उनको धारणा छ । यसबाट आयात–निर्यातमा लाग्ने समय र ढुवानी खर्च घट्ने तथा नेपाली व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता अझै बढ्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन भारत सहमत हुनुलाई संघले महत्वपूर्ण उपलब्धि मानेको बताए । करिब एक दशकदेखिको प्रयासपछि भएको यस सहमतिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहज बनाउने, हवाई भाडा सस्तो पार्ने र पर्यटन व्यवसायलाई पनि लाभ पु¥याउने अपेक्षा गरिएको बताए ।
अर्कोतिर, चितवनमा कृषि–औद्योगिक पार्क निर्माण तथा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) र स्टार्टअप हब स्थापना गर्ने सहमतिले कृषि प्रशोधन उद्योग र सूचना प्रविधि क्षेत्रमा ठूलो नयाँ लगानीको सम्भावना र अवसर सिर्जना भएको अध्यक्ष साहले बताए । यसबाट सूचना प्रविधिमा संलग्न युवा उद्यमीलाई ठुलो अवसर सिर्जना भएको बताए ।
नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको बेला भारतसँग खेल पूर्वाधार विकास, प्रशिक्षण तथा घरेलु लिगमा सहकार्यसम्बन्धी सहमतिलाई छिटो कार्यान्वयन गर्न संघले माग गरेको छ ।
राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास, नेपाली खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिम दिने र दुवै देशका खेलाडीलाई एकअर्काको घरेलु लिगमा सहभागी गराउने सम्भावनाको अध्ययनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने संघको धारणा छ ।
अध्यक्ष साहले भारत भ्रमणका क्रममा भएका सहमतिहरू कागजमा मात्र सीमित नराखी शीघ्र कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरे । औद्योगिक तथा व्यापारिक क्षेत्रका अवरोध हटाउन सरकारसँग सहकार्य गर्न मोरङ उद्योग व्यापार संघ सदैव तत्पर रहेको उनले बताए ।
कञ्चनपुरको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास, धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकीको काम अघि बढाइनुले सीमा नाकामा मालवाहक सवारीसाधन रोकिने समस्या कम हुने संघका बरिष्ठ उपाध्यक्ष अनिल सारडाले बताए । उनले यसबाट आयात–निर्यात प्रक्रिया छिटो र सहज हुने अपेक्षा गरिएको बताए ।
ऊर्जा क्षेत्रका सहमतिलाई नेपाली उद्योगको दीर्घकालीन विकाससँग जोड्दै संघले भारतले घोषणा गरेको २४ हजार करोड रुपैयाँको सहयोग प्याकेजको ठूलो हिस्सा ऊर्जा क्षेत्रमा खर्च हुने विषयलाई महत्वपूर्ण मानेको जनाइएको छ ।
साथै, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र प्रसारण लाइन निर्माणसम्बन्धी सहमतिले नेपालको ऊर्जा उत्पादन तथा प्रसारण प्रणालीलाई बलियो बनाउने र नेपाली उद्योगले वर्षैभरि निर्बाध विद्युत् आपूर्ति पाउने वातावरण तयार हुने उनले धारणा राखे ।
अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन र झापा–सिलिगुडीमा पेट्रोलियम टर्मिनलको शिलान्यासले इन्धन आपूर्ति सहज बनाउने संघले आधिकारिक धारणा राखेको छ । पाइपलाइन तथा टर्मिनल सञ्चालनमा आएपछि उद्योग र यातायात क्षेत्रले इन्धन अभाव झेल्नुपर्ने अवस्था कम हुने, ढुवानी खर्च जोगिने र बजार मूल्य नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणकै क्रममा पर्यटन तथा पारवहनका दृष्टिले अयोध्या र जनकपुर जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु हुनु पनि ठुलो उपलब्धि भएको संघका उपाध्यक्ष विकास बेगवानीले बताए । यसले नेपाललाई रामायण सर्किटमा आबद्ध गर्ने संघको लामो समयदेखिको माग पूरा गरेको बताए ।
त्यस्तै, रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको अन्तिम सर्वेक्षण पूरा हुनुले भविष्यमा नेपाल र भारतबीचको आवागमन तथा सामान ढुवानीलाई थप सहज र सस्तो बनाउने विश्वास व्यक्त गरे ।
संघले अहिले पनि उद्योगी–व्यवसायीले भोग्दै आएका धेरै समस्या समाधान हुन नसकेको भन्दै तत्काल समाधान गर्न सरकारसँग आग्रह पनि गरिरहेको अध्यक्ष साहले बताए । प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिहरू स्वागतयोग्य भए पनि नेपाली उद्योगी–व्यवसायीले भोग्दै आएका केही गम्भीर समस्यामा सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए ।
नेपालको निर्यात व्यापारलाई प्रत्यक्ष प्रभावित पारिरहेको भारतीय गुणस्तर प्रमाणीकरण प्रणाली (बीआईएस) सम्बन्धी समस्या समाधान गर्न माग गरेको छ । नेपालमा उत्पादित वस्तुको गुणस्तर प्रमाणीकरण नेपालमै बीआईएस मापदण्डसरह हुने व्यवस्था गरी त्यसलाई भारत सरकारले मान्यता दिनुपर्ने अध्यक्ष साहको भनाइ छ ।
त्यस्तै, जुट उद्योगमा लगाइएको एन्टिडम्पिङ तथा काउन्टरभेलिङ शुल्कले उद्योग सञ्चालनमा समस्या सिर्जना गर्नुका साथै हजारौँ श्रमिकको रोजगारी अन्योलमा पारेको संघले जनाएको छ । उक्त शुल्कका कारण प्रभावित बनेको जुट उद्योगलाई राहत दिन सम्बन्धित समस्या तत्काल समाधान गर्न संघले सरकारसँग आग्रह गरेको छ ।
विद्युत् व्यापारसम्बन्धी सहमति पनि स्पष्ट हुनुपर्ने संघको माग छ । प्रसारण लाइन तथा जलविद्युत् आयोजना निर्माणका सहमति सकारात्मक भए पनि जीटुजी र बीटुबी आधारमा नेपालको अतिरिक्त विद्युत् भारतले खरिद गर्ने व्यवस्था अस्पष्ट भएको भन्दै त्यसलाई सरकारले थप स्पष्ट पार्नुपर्ने बताए ।
View : 29
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved