Biratnagar, Morang, Nepal
१८ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

तिहारमा आगलागीको जोखिम, सशस्त्रको पूर्वतयारी

उद्‌घोष संवाददाता
१८ कार्तिक २०८३, बुधवार

झापाको भद्रपुरमा दमकलबाट आगो नियन्त्रणको अभ्यास गर्दै सशस्त्र प्रहरी । तस्वीर ः एपीएफ

Advertisement

झापा । तिहार नजिकिएसँगै घर, पसल तथा बजारमा दीपावलीको तयारी बढेको छ । तिहारमा हुने असावधानीका कारण आगलागीबाट बर्सेनि क्षति बेहोर्नु पर्ने गरेको छ ।

उज्यालो र उत्सवको पर्वका रूपमा मनाइने तिहारमा दियो, मैनबत्ती, विद्युतीय बत्ती र पटका प्रयोग गर्ने क्रम बढ्ने भएकाले आगलागीको जोखिम पनि उत्तिकै रहने गर्छ । 

यही सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्वतयारी थालेको छ ।

तिहारका बेला सानो असावधानीले पनि ठूलो आगलागीको रूप लिन सक्ने भएकाले सम्भावित दुर्घटनामा तत्काल प्रतिकार्य गर्ने उद्देश्यले गणले भद्रपुर नगरपालिकासँगको सहकार्यमा आगलागी नियन्त्रण अभ्यास गरेको हो । अभ्यासमा सशस्त्र प्रहरी कर्मचारीहरूले आगो नियन्त्रण गर्ने, उद्धार गर्ने तथा विपद्का समयमा अपनाउनुपर्ने सावधानी र कार्यविधिबारे व्यावहारिक अभ्यास गरेका छन् ।

गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले मंगलबार भएको प्रशिक्षणमा बिपद ब्यवस्थापनका प्रशिक्षकलाई निर्देशन गर्दै सम्भावित क्षति न्यूनीकरणमा ब्यवहारिक र प्राविधिक ज्ञान दिन लगाए ।

चाडपर्वका समयमा बाक्लो बस्तीमा मानिसको चहलपहल बढ्ी हुने, घर तथा व्यापारिक प्रतिष्ठानमा विद्युतीय सजावट गरिने र प्रज्वलनशील सामग्रीको प्रयोग हुने भएकाले आगलागीको जोखिम हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेषगरी बाक्लो बस्ती र साँघुरा सडक भएका क्षेत्रमा आगलागी भए नियन्त्रण तथा उद्धारमा थप चुनौती हुने सशस्त्रको भनाई छ । यस्तो अवस्थामा सुरक्षाकर्मीको पूर्वतयारीसँगै दमकल, स्थानीय तह, प्रहरी र समुदायबीचको प्रभावकारी समन्वय आवश्यक गणले जनाएको छ ।

सशस्त्र प्रहरीले गरेको अभ्यासलाई सम्भावित विपद् सामना गर्ने तयारीका रूपमा हेरिए पनि यस्ता गतिविधिलाई चाडपर्वमा मात्र सीमित नराखी नियमित अभ्यास र जनचेतनासग जोड्नुपर्ने भद्रपुरवासीले बताएका छन् । सशस्त्र प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना बनाएर सम्भावित आगलागी नियन्त्रणमा तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ राखेको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले तिहारमा हुने सम्भावित जोखिमबाट जोगिदै सुरक्षित तिहार मनाउन जनचेतनामुलक भिडियो पनि सार्वजनिक गरिएको जानकारी दिए । 

विपद् जोखिम न्यूनीकरण, उद्धार तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि स्थानीय तहसंगको सहकार्यलाई प्राथमिकता दिदै आएको जनाएको छ ।

तिहारलाई सुरक्षित बनाउन दियो तथा मैनबत्ती सुरक्षित स्थानमा बाल्न, विद्युतीय तार र उपकरणको अवस्था जाच गर्न तथा पटका प्रयोगमा सावधानी अपनाउन गणले सर्वसाधारणलाई आग्रह गरेको छ । 

सम्भावित आगलागीको जोखिम देखिएमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्न पनि सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।

View : 31

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved