विराटनगर । खेलको अन्तिम ओभरमा जनकपुरलाई जितका लागि १३ रन चाहिएको थियो । क्रिजमा थिए अर्धशतक बनाइसकेका सैफ हसन । बलिङको जिम्मेवारी आन्द्रे रसेलको काँधमा थियो । अन्तिम बलसम्म खेल कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन थियो ।
यो कठिन अवस्थामा अनुभवी रसेलले अन्तिम ओभरमा जनकपुर बोल्ट्सलाई १० रनमै रोके । उनको यही जादुका कारण विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दुई रनको रोमाञ्चक जित निकाल्यो ।
मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) को यो रोमाञ्चक खेलमा ब्याटिङमा पनि विस्फोटक अर्धशतक बनाएका वेस्ट इन्डिजका रसेल बलिङमा पनि जनकपुरका लागि घातक सावित भए । उनले चार ओभरमा ४५ रन खर्चेर चार विकेट लिए । उनको यही अलराउन्ड प्रदर्शन विराटनगरको जितको निर्णायक आधार बन्यो ।
जनकपुरविरुद्ध विराटनगरको ब्याटिङ प्रभावशाली रह्यो ।
लोकेश बम, इमरान शेख र रसेलले अर्धशतक बनाएपछि विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन जोड्यो । एनपीएलको इतिहासमा एउटै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएको यो पहिलो अवसर हो ।
विराटनगरले बनाएको यही कीर्तिमानयुक्त स्कोरले खेललाई प्रतिस्पर्धात्मक बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पहिलो ओभरमै सेहान जयसूर्यालाई गुमाएको थियो ।
मोइन अलीले उनलाई एक रनमा स्टम्पिङ गराए । तर त्यसपछि लोकेश र इमरानले जनकपुरका बलरलाई दबाबमा राखेका थिए ।
दोस्रो विकेटका लागि यी दुई ब्याटरले १०७ रनको साझेदारी गरेका थिए । इमरानले ४५ बलमा ५६ रन बनाए । उनको इनिङ्समा पाँच चौका र दुई छक्का समावेश थिए । अभिषेक तिवारीको बलमा विकेट पछाडि क्याच भएपछि उनको इनिङ्स समाप्त भयो ।
लोकेशले भने आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए । प्रतियोगितामा दोस्रो अर्धशतक बनाउने क्रममा उनले ४० बलमा ५६ रन जोडेका थिए । उनको इनिङ्समा तीन चौका र तीन छक्का रहे । १४औं ओभरमा ब्याटिङका लागि आएका रसेलले छोटो समयमै खेलको गति परिवर्तन गरिदिए ।
उनले २९ बलमा अविजित ५२ रन बनाए । दुई चौका र पाँच छक्का प्रहार गरेका रसेलले जनकपुरका बलरमाथि आक्रामक प्रहार गर्दै विराटनगरलाई बलियो योगफलमा पुर्याए ।
शुभम रञ्जने सात रनमा अविजित रहे । जनकपुरका अभिषेक तिवारीले चार ओभरमा ३८ रन खर्चेर दुई विकेट लिए । मोइन अलीले एक विकेट हात पारे ।
१७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा रसेलले आफ्नो अनुभव र बलिङ क्षमताको भरपूर उपयोग गरे । जनकपुरका लागि सैफ हसन एक्लैले जितको आशा जीवित राखेका थिए । तर उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
४८ बल खेलेका सैफले दुई चौका र पाँच छक्कासहित ७१ रन बनाए । उनी इनिङ्सको अन्तिम बलमा रसेलको बलमा आउट भए । जनकपुरका लागि विशाल सुस्लिङले पनि ३० बलमा ४३ रन जोडेर जितको आशा देखाएका थिए ।
लक्ष्य पछ्याउन मैदान उत्रिएको जनकपुरले सुरुआतमै तीन महत्त्वपूर्ण विकेट गुमाएको थियो । एन्जेलो म्याथ्युजले तृतराज दासलाई ६ रनमा बोल्ड गरे । मोइन अली १० रनमा आउट भए भने पूर्वकप्तान अनिल साहले खाता खोल्न नपाउँदै मैदान छाड्नु पर्यो ।
तीन विकेट गुमिसकेपछि सैफ र विशालले जनकपुरको इनिङ्स सम्हालेका थिए । चौथो विकेटका लागि उनीहरूले ७६ रनको साझेदारी गरे ।
यो साझेदारीले जनकपुरलाई पुनः खेलमा फर्कायो । तर, श्रीलंकाली लिजेन्ड एन्जेलो म्याथ्युजको बलमा विशाल बाउन्ड्री लाइननजिक क्याच आउट भएपछि जनकपुरको त्यो साझेदारी टुट्यो । त्यसपछि सैफलाई जिम्मी निसमले साथ दिए । उनीहरूबीच ३० बलमा ५६ रनको साझेदारी भयो ।
निसमले १५ बलमा तीन छक्कासहित २७ रन बनाए । १९औं ओभरको अन्तिम बलमा उनी आउट भए । त्यसपछि आएका कप्तान हरमित सिंह पहिलो बलमै आउट भएपछि जनकपुर दबाबमा पर्यो ।
अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा जनकपुरसँग जितको अवसर अझै थियो ।
तर, रसेलले विपक्षी ब्याटरलाई आवश्यक रन बनाउन दिएनन्। अन्तिम बलमा सैफलाई आउट गर्दै उनले विराटनगरको जित निश्चित गरे । रसेलले चार विकेट लिँदा म्याथ्युजले तीन ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । रुपेश सिंहको नाममा एक विकेट रह्यो ।
जनकपुरविरुद्धको जितसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ । सुरुआती दुई खेल गुमाएको विराटनगरले पछिल्ला दुई खेल जित्दै प्लेअफ दौडमा आफूलाई पुनः बलियो अवस्थामा उभ्याएको छ ।
जनकपुरविरुद्धको जितपछि विराटनगरका कप्तान सन्दीप लामिछानेले खेलको अन्तिम क्षणसम्म कायम रहेको तनावपूर्ण अवस्थाबाट टोली बाहिर निस्कन सकेकोमा खुसी व्यक्त गरे । ‘तनावपूर्ण खेल रह्यो ।
अन्तिम बलसम्म रोमाञ्चकता कायम रह्यो । अन्त्यमा हामी नै जित्यौं, त्यसैले खुसी रह्यौं । दुई खेल जितेपछि हामी प्लेअफ समीकरणमा कायम रहेका छौं । एन्ड्रे रसेलको प्रदर्शन आफैंमा उत्कृष्ट रह्यो । उनले ब्याट र बल दुवैबाट निर्णायक प्रदर्शन गरे,’ उनले भने ।
View : 23
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved