Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरी यातायातको ट्रायल सेन्टरमा प्रदेश मन्त्रीको गोप्य छड्के

मन्त्री राईलाई ट्राफिक प्रहरीले ‘बाहिर जानुस्’ भन्दै धकेले, यातायात प्रमुख कड्किए !

उद्‌घोष संवाददाता
२८ माघ २०८०, आइतवार

विराटनगर, २८ माघ । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमन गर्न पुगे । 

टाउकोमा क्याप, अनुहारमा कालो चस्मा र मुखमा कालै मास्क लगाएका थिए । सेन्टर पुगेर उनले केही सेवाग्राहीसँग कुराकानी गरे । सचिवालयका कर्मचारीहरूले पनि औपचारिक पोसाक लगाएका थिएनन् । 

मन्त्री राई पुग्दा टेम्पु र सिटी सफारीको ट्रायल भइरहेको थियो । उनी कर्मचारी भएको ठाउँमा पुगे । त्यहाँ ट्राफिक प्रहरीका सई पनि थिए । नचिनिँदो गरी त्यहाँको गतिविधि नियाल्न थाले । 

त्यही क्रममा यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँ मन्त्रीको नजिकै आए र ठुलो स्वरमा ‘तपाईँ को हो यहाँबाट गइहाल्नुहोस्’ भन्दै कड्किए । मन्त्री राई केही पर सरे । फेरि चुपचाप लागिरहे ।

हाफ भेष्ट, हाफ ज्याकेट कालो चस्मा र मास्क लगाएर यातायातका कर्मचारी तथा ट्राफिक बस्ने छेउमै गएर उभिँदा उनलाई कसैले चिनेनन् । सचिवालयका कर्मचारीहरू पनि सरकारी पोसाकमा थिएनन् । मन्त्रीका पिएसओ पनि सादा पोसाकमा थिए । 

मन्त्री झन्डावाला नलिएर अर्कै गाडीमा गएका थिए । केही बेर उभिएपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न भने । तर उनले अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजेका थिए । त्यसपछि उनले मास्क खोले । कर्मचारीहरूले उनलाई चिनेर कुर्सीमा बस्न आग्रह गरे ।

‘सेवाग्राही भएर जाँदा मलाई त प्रहरीले ठेललाल गरे’ उनले भने, ‘सोझा साझा सेवाग्राहीले सजिलै सेवा पाउँदैन भन्ने देखेर आएँ ।’ उनले थप अनुगमन गरेर नागरिकलाई सहज हुने वातावरण बनाउने बताए । 

ट्रायलमा फेल पास ठाउँको ठाउँ गर्नुपर्ने व्यवस्था बने पनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको बताए । 

‘ट्राफिकले फेल पास भन्दो रहेछ’ उनले भने ‘तर कर्मचारीले भर्ने फारममा भने खालि नै राख्दा रहेछन्, यसले पनि आर्थिक चलखेल हुन्छ भन्ने देखाएको छ ।’ 

यता, यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश गर्ने नदिएको बताए । 

भीड हुने गरेकाले फेल पासको उति नै बेला नलेखेको दाबी गरे । भने, ‘केही त्रुटि नहोस् भनेर पछि लेख्ने गरिएको छ, हतारमा चेक लिस्टमा नाम चढाउँदा बिग्रने डरले हुन्छ ।’

यातायातका निमित्त प्रमुख प्रसाईँले यातायात कार्यालयले सकेसम्म सेवाग्राहीलाई झन्झट नदिने प्रयास गर्दै आएको दाबी गर्दै भने, ‘फेसबुक पेज पनि बनाएका छौँ, त्यसमा परीक्षा, ट्रायल आदि सबै विषयमा जानकारी राखिदिने गरेका छौँ ।’

मोटरसाइकलको सेवाग्राही लाइनै जाँदा गल्ती हुनसक्ने भएकोले त्यो टेबुलबाट नउठी चेकलिष्ट नभर्ने गरिएको जिकिर गरे । केरमेट नहोस् भनेर तत्कालै नगर्ने गरेको उनले दाबी गरे । 

इटहरी कार्यालय महिनामा पाँच पटक ट्रायल गराउने गर्दछ । त्यसमा हलुकादेखि ठुला सवारी साधनको पनि ट्रायल गराइन्छ । एक पटकमा डेढदेखि दुई सयसम्मले ट्रायल दिन्छन् । बायोमेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ । एक दिन रि–ट्रायल गर्ने प्रबन्ध समेत गरिएको कार्यालयले जनाएको छ ।

View : 1985

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved