Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबिच बन्यो गठबन्धन

बाबुराम भण्डारी
८ माघ २०८०, सोमवार

Advertisement

विराटनगर । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति भएको छ । कोशी प्रदेशमा राप्रपाले अन्यतर्फ उम्मेदवार बनाएका उद्धव पौडेललाई एमाले समर्थन गरेको छ । राप्रपाले महिलातर्फ एमालेकी रुकमिणी कोइरालालाई मतदान गर्ने गरी दुई पार्टीबिच सोमबार सहमति भएको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले कोशी प्रदेशमा एक सदस्य भए पनि जित्ने रणनीति बनाएको हो । राप्रपाले पनि कोशी प्रदेशबाट एक सदस्य जिताउने रणनीति स्वरूप एमालेसँगको सम्बन्धलाई कायमै राखेको छ । 

सोमबार भएको सहमति पत्रमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा र राप्रपाका कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले हस्ताक्षर गरेका हुन् । 

‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा कोशी प्रदेशमा नेकपा (एमाले) की उम्मेदवार महिलातर्फ रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई मतदान गर्ने दुवै पार्टीका बिच सहमति भएको छ’ सहमति पत्रमा भनिएको छ, ‘उक्त सहमतिको पक्षमा दुवै उम्मेदवारहरुलाई मतदान गरी विजयी गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौँ ।’

एमाले र राप्रपाको गठबन्धन बनेपछि सत्ता गठबन्धनसँगको प्रतिस्पर्धा पनि रोचक बन्ने भएको छ । गठबन्धनभन्दा मतभारमा पछि रहेका एमाले र राप्रपाबिच सहमति भएसँगै कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको सरगर्मी बढेको हो । कोशीमा सत्ता गठबन्धनमा रहेका दलहरूको कुल मतभार ५ हजार ४७४ रहेको दाबी छ । एमाले र राप्रपाको मतभार जोड्दा ४ हजार ६६१ रहेको छ ।

सत्ता गठबन्धनतर्फ अन्य समूहमा नेपाली काँग्रेसले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ ।

View : 292

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved