Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

चियामा दोहोरियो भारतीय अवरोध

एक सातादेखि कांकडभिट्टा नाकाबाट चिया निर्यात ठप्प बनेको छ ।
उद्‌घोष संवाददाता
२५ वैशाख २०८३, शुक्रवार

विराटनगर । कोशी प्रदेशको चिया उद्योग नयाँ संकटको संघारमा पुगेको छ । नेपालकै सबैभन्दा धेरै चिया उत्पादन हुने र मेची भन्सारमार्फत सबैभन्दा धेरै चिया निर्यात हुने यही प्रदेश भारतीय नीतिगत कडाइका कारण प्रत्यक्ष प्रभावित बनेको हो । 

भारतले नेपाली चियामाथि नयाँ परीक्षण र निगरानी व्यवस्था लागू गरेपछि झापा, इलाम, पाँचथरदेखि धनुकटा तेह्रथुमसम्मका उद्योगी, किसान र निर्यातकर्ता अन्योलमा परेका छन् । 

भारतको टी–बोर्डले मे १ देखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गरेपछि नेपाली चिया निर्यात एक हप्तादेखि ठप्प भएको छ । 

चिया निर्यातमा अहिले प्रत्येक ट्रकको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरिएपछि मेची नाकाबाट भारततर्फ जाने चिया रोकिएको अवस्थामा रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । 

कोशी प्रदेशमा उत्पादित चियाको ठूलो हिस्सा भारतीय बजारमा निर्भर छ । 

विशेषगरी झापामा उत्पादित सीटीसी चिया र इलाम–पाँचथरतिर उत्पादन हुने अर्थोडक्स चिया भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेको थियो । 

तर नयाँ नियमले निर्यात लागत, समय र जोखिम एकैपटक बढाइदिएपछि व्यवसायीहरूले यसलाई ‘प्राविधिक अवरोधको आवरणमा गरिएको अघोषित नाकाबन्दी’ को संज्ञा दिएका छन् ।

नयाँ प्रावधानअनुसार अब नेपालबाट भारत प्रवेश गर्ने हरेक ट्रकमा राखिएका चियाको अलग अलग नमुना भारतमै परीक्षणका लागि पठाइनेछ । 

भारत सरकारले मान्यता दिएको प्रयोगशालाले १४ दिनभित्र रिपोर्ट दिने व्यवस्था गरिएको छ । त्यो अवधिसम्म चिया भारतीय बजारमा बिक्री गर्न पाइने छैन । न त तेस्रो मुलुकमा पुनः निर्यात गर्न पाइनेछ ।

यसअघि एउटा नमुना परीक्षणले २० वटा  वटा ट्रक वा ३ महिनासम्म  काम गर्ने व्यवस्था थियो । अहिले भने प्रत्येक ट्रकका लागि छुट्टै परीक्षण गर्नुपर्नेछ । 

त्यसका लागि करिब ११ हजार भारतीय रुपैयाँभन्दा बढी शुल्क लाग्ने र रिपोर्ट आउन कम्तीमा एकदेखि दुई साता कुर्नुपर्ने व्यवस्था भएको छ । 

‘यो व्यवस्थाले चिया निर्यातमा झन्झट र जोखिम दुवै बढाएको छ,’ झापाका उद्योगीसमेत रहेका अध्यक्ष पराजुलीले भने ‘यसले चियाको अन्तर्राष्ट्रिय बजार गुम्ने र अनिश्चयमा पर्ने खतरा बढाएको छ ।’ 

चिया उद्योगीहरूका अनुसार यो प्रक्रिया व्यवहारिक छैन । मेची भन्सार पार गरेर भारतको पानीट्यांकी क्षेत्रमा हप्तौंसम्म ट्रक रोकेर राख्नुपर्ने अवस्था सिर्जना हुँदा चियाको गुणस्तरमै असर पर्ने चिन्ता उनीहरूको छ । 

भारतले अहिलेसम्म औपचारिक रूपमा निर्यात बन्द गरेको छैन । तर अहिलेको व्यवस्था हेर्दा व्यवसायीलाई चिया पठाउनै नसक्ने अवस्था बनाइएको छ । नयाँ नियम लागू भएपछि धेरैले गाडी नै लोड गर्न छाडेका छन् ।

भारतीय पक्षले परीक्षणमा असफल भएको चियालाई बजार प्रवेश नदिने मात्र होइन, नष्ट गर्नेसम्मको व्यवस्था राखेको छ । यदि पहिलो परीक्षणमा चिया फेल भयो भने आयातकर्ताले ४८ घण्टाभित्र पुनः परीक्षणको निवेदन दिनुपर्नेछ । पुनः परीक्षणका लागि प्रति नमुना १५ हजार भारतीय रुपैयाँभन्दा बढी खर्च लाग्ने व्यवस्था गरिएको छ ।

व्यवसायीहरूका अनुसार यस्तो महंगो र अनिश्चित प्रक्रियाले भारतीय व्यापारीहरूलाई समेत नेपाली चिया खरिद गर्न निरुत्साहित बनाएको छ । 

कोशी प्रदेशका चिया किसानहरू भने यसको दीर्घकालीन असरबारे चिन्तित छन् । 

झापा, इलाम र पाँचथरका धेरै किसानको आम्दानी प्रत्यक्ष रूपमा चियासँग जोडिएको छ । निर्यात रोकिदा उद्योगले किसानबाट हरियो पत्ती खरिद घटाउन सक्ने डर बढेको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भने यो विषय गम्भीर कूटनीतिक मुद्दा बनेको जनाएको छ । बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार सरोकारवालासँग छलफल गरेर विस्तृत प्रतिवेदन मन्त्रालयमा पठाइसकिएको छ ।

नेपाली चियामाथि भारतले अवरोध खडा गरेको यो पहिलो घटना भने होइन । 

विगत केही वर्षदेखि विभिन्न बहानामा भारतीय पक्षले गैरभन्सार अवरोध सिर्जना गर्दै आएको उद्योगीहरूको गुनासो छ । व्यवसायीहरूका अनुसार यसको मूल कारण दार्जिलिङ क्षेत्रका चिया उत्पादकहरूको दबाब हो । 

नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्दै गएपछि भारतीय उद्योगीहरूले निरन्तर दबाब सिर्जना गर्दै आएका छन् ।

नेपालको चिया निर्यातको मुख्य आधार भारत नै हो । विशेषगरी अर्थोडक्स चियाको झन्डै ९० प्रतिशत र सीटीसी चियाको करिब आधा हिस्सा भारतीय बजारमै जाने गरेको छ । नेपालमा चिया उत्पादनको केन्द्र नै कोशी प्रदेश हो । 

झापा जिल्लामा मात्रै १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती हुन्छ । त्यहाँबाट वार्षिक करिब दुई करोड किलोभन्दा बढी चिया उत्पादन हुने गरेको तथ्यांक छ । इलाममा सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा अर्थोडक्स चिया खेती फैलिएको छ । 

पाँचथर, धनकुटा, तेह्रथुम र ताप्लेजुङले पनि पछिल्ला वर्षहरूमा अर्थोडक्स चियामा पहिचान बनाइरहेका छन् ।

देशभर २० हजार ५ सय हेक्टर क्षेत्रफलमा  फैलिएको चिया खेतीबाट वार्षिक २ करोड ६० लाख किलोभन्दा बढी तयारी चिया उत्पादन हुन्छ । 

यस क्षेत्रमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष संलग्न छन् भने करिब ६० हजारले रोजगारी पाइरहेका छन् । 

‘वार्षिक रुपमा साढे अर्बभन्दा बढी विदेशी रकम भित्र्याउने चिया उद्योगलाई भारतको यो कदमले ठूलो प्रहार गर्नेछ । 

नेपालले नाकामा सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार अनिवार्य गरेपछि रिभेन्ज लिइएको हो कि,’ अध्यक्ष पराजुलीले भने ‘सरकारले तत्कालै कुटनीतिक पहलमार्फत यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved