Biratnagar, Morang, Nepal
१४ माघ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

इजरायल-हमास युद्धविराम : इतिहास, वर्तमान र शान्तिको सम्भावना

ट्रम्पले शपथग्रहण लगत्तै गरेका घोषणाबाट अमेरिकाको विदेश र आर्थिक नीतिमा परिवर्तनका साथै अवैध आप्रवासीको अमेरिका बसाइ कष्टकर हुने सम्भावना देखिएको छ ।
प्रभाषचन्द्र झा
१३ माघ २०८१, आइतवार

एआई निर्मित तस्वीर ।

Advertisement

चार वर्षको अन्तरालपछि गत सोमवार डोनाल्ड ट्रम्पको अमेरिकाको राष्ट्रपति भवनमा पुनरागमन भएको छ । अर्कोतर्फ जोन बाइडेनको विदाइ हुनुअगावै एकदिन पहिले इजरायल र प्यालेष्टिनको हमास लडाकुबीच युद्धविरामपछि पहिलो चरणमा युद्धबन्दीको सकुशल रिहाइ भयो । विश्वकै सञ्चारमाध्यममा यी दुई खवरले निक्कै चर्चा बटुल्यो ।

ट्रम्पले शपथग्रहण लगत्तै गरेका घोषणाबाट अमेरिकाको विदेश र आर्थिक नीतिमा परिवर्तनका साथै अवैध आप्रवासीको अमेरिका बसाइ कष्टकर हुने सम्भावना देखिएको छ । अर्कोतर्फ, इजरायल र हमास लडाकुबीच युद्धविरामको खवरले मध्यपूर्वको देशमा राहतको अनुभूति भएको छ । इजरायल र हमासबीचको युद्धले धेरै विनास गरेका छन् । पन्ध्र महिनाको लामो युद्धमा पचास हजारभन्दा बढी व्यक्तिको ज्यान गयो । १९ लाख प्यालेष्टानी नागरिकलाई शरणागत रुपमा छिमेकी मुलुकहरुमा शरण लिनु पर्यो ।

इजरायलद्वारा बम प्रहारको कारण प्यालेष्टाइनको गाजा र पश्चिमी किनाराको क्षेत्रका ९० प्रतिशत भवन भग्नावशेषको रुपमा परिणत भयो । बडो दुःखदायी अवस्था छ ।  प्यालेष्टानी नागरिकलाई पुनः व्यवस्थित हुनमा थोरैमा पनि एक दसक लाग्नेछ । युद्धले महाविनास निम्त्याउने हेक्का नराख्दा ठूलो विपक्तिसँग लड्नु पर्छ । प्यालेष्टाइनको गाँजा र पश्चिम किनाराको दूर्गति हेरेपछि कस्तो महाविनास भयो भनेर सहजै सम्झन सकिन्छ ।  

अर्कोतर्फ, युक्रेन र रुसबीचको युद्ध झन विनासतर्फ उन्मुख भइरहेको अवस्था छ । अनाहकमा हजारौंको ज्यान गुमाउनुपर्छ । त्यो युद्धको पीडाबाट मुक्ति पाउनका लागि बर्षौबर्ष लाग्छ । हमासलाई आर्थिक एवम् सैन्य सहयोग इरानका साथै अन्य मुसलमान राष्ट्रले गर्यो । तर, युद्ध हमासले नै लड्नु पर्यो । लेबनानको हिजबुल्लाह समूह र यमनको हूती विद्रोहीका लडाकुले इजरायलमाथि आक्रमण गरे पनि उल्टै, ती समूहकै धेरै जनधनको क्षति भयो । 

हमासले माटोमुनि लामो र बलियो सुरुङ बनाएर सुरक्षित भएको सम्झेर पूर्णतयारीका साथ इजरायलमाथि आक्रमण गरेको थियो । तर, इजरायलको जवाफी कारवाहीमा हमासको सुरुङपनि तहसनहस भयो । २०२३ को ७ अक्टुबरको दिन हमासका लडाकुले इजरायलको सीमामा प्रवेश गरी युद्धको शुभारम्भ गरेको थिए । उनीहरु इजरायलमा अन्धाधुन्ध गोली प्रहार गरी दस नेपाली विद्यार्थीसहित १५ सय जनाको ज्यान लिएको थिए ।  

इजरायलको भूमिबाट विदेशीसहित २५१ जनालाई अपहरण गरी बन्धक बनाएर राखेको थियो । त्यो बन्धकको सूचीमा एक नेपाली विद्यार्थी विपीन जोशी पनि छन् । पहिलो चरणमा जोशी रिहा नभएपछि उनको आमावुवासहित सम्पूर्ण नेपाली नागरिक निराश छन् । अब, दोस्रो सूचीमा विपीनको रिहाइका लागि सरकारलाई ठोस पहल गर्नुपर्छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अलि थानीले मध्यस्थकर्ताको भूमिका निर्वाह गरी दुवै पक्षबीच तीन चरणको सम्झौंता गराउन सफल रहे । युद्धविराम गराउनमा इजरायलको छिमेकी मुलुक मिश्रले पनि सकारात्मक भूमिका निर्वाह गरेको थियो ।

गत आइतवार पहिलो चरणअन्तर्गत, इजरायलले अधिनस्थ पश्चिम किनारास्थित एक कारागारबाट ९० जना प्यालेष्टानीलाई मुक्त गरेको बदलामा हमासले एक व्रिटिस र दुई इजरायली महिला गरी तीन महिलालाई रिहा गरेको हो । संयुक्त राष्ट्रसङ्घअनुसार, गत, आइतवार ६३० भन्दा बढी खाद्यान्न बोकेका ट्रकहरु गाजामा प्रवेश गरेका छन् । त्यसमध्ये, सवैभन्दा बढी प्रभावित उत्तरी गाजामा ३०० ट्रक पठाइएको छ । दैनिक रुपमा ६०० ट्रक खाद्यान्न बोकेका मालवाहक गाडी प्रवेश गर्ने सो सहमतिपत्रमा उल्लेख गरिएको छ । यसका साथै, ३० वटा ट्रकमा स्वास्थ्यसम्बन्धी सेवाहरु सञ्चालनका लागि र आवश्यक इन्धनपनि लगिएको छ ।

इजरायलले पहिलो चरणअन्तर्गत ६ सातामा १८९० प्यालेष्टिनीलाई मुक्त गर्नेछ । हमासले एक बन्धक रिहा गर्दा त्यसको बदलामा इजरायलले ३० प्यालेष्टिनी बन्धकलाई छोडने सहमति भएको छ । हमासद्वारा बन्धक बनाइएका २५१ जना मध्येबाट  यसअघि पनि केही व्यक्ति मुक्त भएका छन् । अहिलेको उसको कब्जामा मात्र ९४ जना रहेको  बताइएको छ । अर्कोतर्फ, इजरायलले मात्र ६० जना जीवित रहेको दावी गरेको छ । पहिलो चरणमा हमासले ३३ इजरायली बन्धकलाई छोड्ने छन् । त्यसमा महिला, महिला सैनिक, बालवालिका, बृद्ध र विरामी एवम् घाइतेलाई प्राथमिकतामा राखिएको चर्चा छ ।

इजरायली सरकारको प्रवक्ता डेविड मेन्सरले ती ३३ बन्दीमध्ये अधिकांस जीवित रहेको बताएका छन् । दोस्रोचरण अन्तर्गत, युद्ध स्थायी रुपमा अन्त्य हुने विश्वास गरिएको छ । सो चरणमा हमासको मातहतमा रहेका बन्दीका साथै एक हजारभन्दा बढी बन्दीलाई इजरायलले रिहा गर्ने छन् ।  त्यसपछि, गाजाबाट इजरायली सेनाको पूर्णरुपमा फिर्ता हुनेछ ।  यसअघि, पनि युद्धविराम भएको थियो । विगतको अनुभवको आधारमा अलिकति पनि इजरायलले खतरा देख्यो भने युद्धविराम भङ्ग हुने सम्भावना छ । अहिले पनि, इजरायलले गाजामा धरपकड जारी नै राखेको छ । इजरायल र प्यालेष्टिनबीचको सङ्घर्षमा लाखौं मानिस मारिएको र लाखौ परिवार बेघरवार  भएका छन् । 

युद्धको कारण
विश्वका विभिन्न मुलुकमा यहुदीहरु छरिएका थिए । उनीहरुले ईशापूर्व हजार बर्ष पहिलेदेखि भुमध्यसागर र जोर्डन नदीको बीचको भूभागमा आफ्ना पूर्वजको भूमि हो भनेर बीसौं शताब्दीमा चारैतिर मारमा पर्न थालेपछि सो भूभागमा आएर बस्न थाले । सो क्षेत्रमा मुसलमान, यहुदी र इसाईको पवित्रस्थल जेरुसेलम पर्छ । सो क्षेत्र अटोमन साम्राज्यको नियन्त्रणमा थियो । सन् १२९९ सालमा स्थापना भएका अटोमन साम्राज्यको अन्त्य ६२३ बर्षपछि सन् १९२३ मा भयो । 

प्रथम विश्वयुद्धमा अटोमन साम्राज्य पराजय भएपछि बेलायतको नियन्त्रणमा पुगेको थियो । बेलायतले सो साम्राज्यको अधिनस्थ राज्यहरुलाई स्वतन्त्र गर्यो । प्यालेष्टाइनको सो क्षेत्र पनि एक किसिमले स्वतन्त्र भयो ।  सोही क्षेत्रमा यहूदीहरु शरणार्थीको रुपमा त्यहाँ आएर बसेका थिए । द्वितीय विश्वयुद्धमा हिटलरले जर्मनीमा यहूदीहरुको व्यापकस्तरमा नरसंहार गरेका थिए । त्यसपछि, यहुदी सुरक्षित वासको लागि प्यालेष्टाइनको सो भूमितर्फ शरणागत रुपमा आउन थाले ।

हिटलरको क्रुरताको कारण यहूदीमाथि युरोपेली मुलुकको सकारात्मक सोचाई देखिन्थ्यो । यहूदीले छुट्टै देशको माग गर्न थालेपछि संयुक्त राष्ट्रसङ्घले बिट्रेनको कब्जामा रहेको भूभागलाई प्यालेष्टाइन र यहुदीको बीचमा बाड्ने  निर्णय गर्यो । १९४७ मा संयुक्त राष्ट्रसङ्घमा सो भूमिमा यहूदी र अरबंका लागि अलग–अलग देश निर्माणका लागि मतदान भयो । 

त्यसपछि, सो विवादको समाधानका लागि संयुक्तराष्ट्र सङ्घले पहल गर्यो । संयुक्त राष्ट्रसङ्घले ४४ प्रतिशत इजरायल र ४८ प्रतिशत प्यालेष्टाइनको लागि र जेरुसेलमको पवित्रस्थलको ८ प्रतिशत क्षेत्र राष्ट्रसङ्घले आफ्नो नियन्त्रणमा राख्यो । उक्त, क्षेत्र यहूदी, मुसलमान र इसाईको धार्मिक आस्थासँग जोडिएको छ । तर, मुसलमान पक्षले सो निर्णय नमानेपछि विवाद कायमैं रह्यो । 

सन् १९४८मा समस्या सुल्झाउनमा असफल भएको भनेर बेलायती शासक सो क्षेत्र छोडेर बेलायत फर्किए । अन्ततः यहूदीले आफ्नो भूभागमा १४ मई १९४८मा इजरायल नामक देशको स्थापना भएको घोषणा गर्यो । लगत्तै, छिमेकी मुलुक मिश्र, जोर्डन, सीरिया र इराकले एकैसाथ इजरायलमाथि आक्रमण गर्यो । यो पहिलो अरब–इजरायल युद्ध थियो । यसलाई यहूदीको स्वतन्त्रताको लडाइ पनि भनिन्छ । सो युद्धमा इजरायलको जित भयो । 

यहूदी धर्मालम्बीको इजरायलको वरिपरी इस्लाम राष्ट्र पर्छ । यो कुरा अरब मुलुकको लागि असह्य भयो । अन्ततः इजरायलविरुद्ध पुनः युद्ध भयो । साढे सात लाख  प्यालेष्टानी भागेर अन्य छिमेकी मुलुकमा शरण लिएका थिए । सन् १९६७ मा पनि अरब–इजरायलबीच ६ दिनसम्म युद्ध चल्यो । अरब देशको सैनिक गठबन्धनमाथि इजरायलको जित भयो । सो युद्धमा पनि पाँच लाख प्यालेष्टानीलाई विस्थापित हुनुपर्यो ।

त्यसपछि, सन् १९७३ मा पुनः अरब–इजरायल युद्ध भयो ।  ६ वर्षपछि मिश्र र इजरायलबीच शान्ति सम्झौता भयो । इजराइलसँग सम्झौंता गर्ने अरबको पहिलो राष्ट्र मिश्र बन्यो । त्यसपछि, जोर्डनले पनि सम्झौंता गर्यो । यहूदीको विश्वास के छ भने इजरायलको स्थापना भएको भूमि ईश्वरले आफ्ना पूर्वजलाई प्रदान गरेका हुन् । ईश्वरले आफ्नो पहिलो पूर्वज अब्राहम र उनको सन्तानलाई सो भूमि प्रदान गर्ने बचन दिएको थिए ।

प्राचीनकालमा सो भूभागमा असिरियो (आजको इराक, ईरान, तुर्की र सिरियामा बस्ने कबिलाको मानिस),बेबीलोन, पर्सिया, मकदुनिया र रोमनहरुबीच  आक्रमण भइरहन्थ्यो । रोमन साम्राज्यले सो भूभागलाई प्यालेष्टाइन नाम दिएको थियो । ईसाको सात दसकपछि यहूदीलाई सो क्षेत्रबाट धपाइएको विभिन्न इतिहासमा उल्लेख गरिएको छ । इस्लामको उदयपछि सातौं शताब्दीमा प्यालेष्टाइनको भूमि अरबको नियन्त्रणमा आएको थियो । त्यसपछि, सन् १५१६ मा सो टर्कीको अधिनमा पुग्यो । 

प्यालेष्टाइनको सन्दर्भमा संयुक्तराष्ट्रको विशेष समितिले सन् १९४७ मा जनरल असेम्बली रिपोर्ट पेश गरेको थियो । अरब राष्ट्रमा वेस्टर्न गैली (समारिया र ज्यूडियाको पहाडी भूभाग) सामेल गरेको थियो । समितिले जेरुसेलम र मिश्रको सीमासँग जोडिएको इस्दुदको तटीय मैदानलाई बाहिर राखिएको थियो । तर, सो क्षेत्रको विभाजनपछि १९४९मा तानिएको सीमा रेखा आर्मीस्टाइस रेखाको रुपमा परिभाषित गर्यो ।  प्यालेस्टाइनको दुई क्षेत्र पश्चिमी किनारा (जसमा पूर्वी जेरुशेलम सामेल छ ) र गाजापट्टी । यो दुइटै क्षेत्र एक अर्काको ४५ किलोमिटरको दूरीमा पर्छ । पश्चिमी किनाराको क्षेत्रफल ५,९७० वर्ग किलोमिटर र गाजा ३६५ वर्गकिलोमिटरमा फैलिएको छ । गाजापट्टीको आवादी २० लाख छ । पश्चिमी किनारा जेरुसेलम र जोर्डनको  पूर्वी क्षेत्रमा पर्छ । 

प्यालेष्टाइन र इजराइलबीच विवादको मुख्य कारण 
एक स्वतन्त्र प्यालेष्टाइन राष्ट्रको निर्माणमा ढिलाई, पश्चिमी किनारामा यहूदी वस्तीको निर्माण र प्यालेष्टाइन क्षेत्रको वरपर सुरक्षा घेराले शान्ति प्रक्रियामा बाधा पुर्याउँदै आएको छ । सन् २००० मा अमेरिकाको क्याम्प डेविडमा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको उपस्थितिमा दुवै पक्षबीच सम्झौता  गराउन गम्भीर प्रयास भएको थियो । तर, नयाँनयाँ कुरा थपिएपछि शान्ति प्रक्रियाले पूर्णता पाउन सकेन । त्यो बेलामा इजराइलका प्रधानमन्त्री एहुद बाराक र प्यालेष्टाइनी नेता यासिर अराफात थिए । जेरूसेलमको सिमाना, जमीन, यहूदी बस्ती र प्यालेष्टाइनी शरणार्थीको विषयमा सहमति जुट्न नसकेपछि पटक–पटक युद्ध भएको हो ।  

प्यालेष्टाइनले ४ जून १९६७ मा ६ दिनसम्म अरब इजरायलको युद्ध शुरु हुनुअगावै निर्धारित गरिएका सिमानालाई मान्यता दिनुपर्ने, अर्थात इजरायलले कब्जा गरेको भूमि छोड्नुपर्ने उनीहरुको माग रहदै आएको छ । इजरायलले कब्जा गरेको भूमिमा पाँच लाख यहूदीलाई बसाइएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार त्यो बस्ती अवैध हो । यदि, इजरायल र प्यालेस्टाइनको हमासबीच पुनः युद्ध भड्कियो भने मध्यपूर्वका देशमा अशान्तको वातावरण वर्षौसम्म कायम रहने खतरा देखिन्छ ।

View : 267

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved