Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

कुमतिको वर्तमान सुदर्शन चक्र र ओरालो यात्रा

दुर्गन्धित पारिएको संसदीय प्रणालीलाई जतिसुकै लिपपोत गरे पनि अबको ओरालो यात्रा र दुर्घटनाको खतरालाई कसैले रोक्न सक्दैन ।
मणि दाहाल
२५ माघ २०८१, शुक्रवार

राजकीय निकायको भ्रष्टीकरणले जनतालाई भ्रष्टीकरणको दलदलमा फसाएको छ ।  राजनीतिज्ञ जस्ता समाजका अग्रदस्ताहरु भ्रष्टीकरण र नैतिक शून्यताले दुर्गन्धित बनेका छन् । राजनीतिज्ञहरु अपराधका संरक्षक बनेर उनीहरुले राजनीतिक दलहरुलाई अपराध संरक्षण केन्द्रमा परिणत गराएका छन् । यसको कारक भनेको राज्य सत्ता, शासन प्रणाली र उसको चरित्र नै प्रमुख हो । 

आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको मूल सूचक भनेको राज्यसत्ता र शासन प्रणाली हो । राज्य सत्ताको चरित्र प्रगतिशील बनेर सोही मुताविकका बिधि विधानहरु निर्माण नगरेसम्म समाजको समग्र रुपान्तरण संभव छैन । वर्तमान शासन प्रणालीले सीमितलाई मात्र रुपान्तरित गराएर उनीहरुलाई जनताको दर्ज्यानी दिएको छ । तर असीमित जनताहरु आज पनि रैतीको दर्जा भन्दा माथि उठ्न सकेका छैनन् । राजकीय विधि विधानहरु रैतीवादकै मानसिकताबाट निर्मित छन् । 

संसदीय प्रणलीका शासकहरु रैतीवादी विधि विधानलाई यस अर्थमा परिवर्तन गर्न चाहँदैनन् कि उनीहरू लोकतन्त्रको खास्टोमा आजीवन मालिक बनेर संभ्रान्त वर्गको सेवक बनिरहन चाहन्छन् । लोकतान्त्रिक बिधिमा जनता मालिक र माननीय हुन्छन् । जनताका प्रतिनिधिहरु सेवक हुन्छन् । तर संसदीय प्रणालीका सरदारहरू सेवक बन्नै चाहँदैनन् ।  यसको मूल कारक पनि शासन प्रणाली नै हो । यो प्रणालीले लोकतन्त्रको संस्थागत बिकाश गरेर साँचो अर्थमा समग्र जनतालाई मालिक बनाउन कदापि चाहँदैन । करदाता र मतदाता मात्र बनाउँछ । जुन लोकतन्त्रको मर्म हुँदै होइन । 

शासन प्रणालीको असफलता र वर्तमान चुनौतीको बारेमा उल्लेख गरिरहँदा सवाल उठ्न सक्छ कि समाधान के हो त ? यसको समाधान भनेको लोकतन्त्र भित्रैबाट लोकतान्त्रिक समाधान हो । त्यो भनेको प्रत्यक्ष निर्वाचित अधिकार सम्पन्न कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फतको संसद, संसदको सबै भन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिबाट सिधै नियुक्ति, राजनीतिज्ञहरु सम्मिलित गैर संसदीय मन्त्रिमण्डल र दुई तहको सरकार ।

प्रत्यक्ष निर्वाचन मार्फतको अधिकार सम्पन्न तथा स्वतन्त्र तवरको स्थानीय सरकार मात्र समाधानको पाटो हो । यति नगर्ने हो भने र लोकतन्त्रको नाममा जनतालाई जहिलै पनि षडयन्त्रकै सुदर्शन चक्रब्यूहमा अल्मलाएको भरमा मात्र कुशासनको उपहारमुखी शासन सत्ता टिकाउला भन्ने दिवास्वप्ना कसैले नदेख्दा हुन्छ । दुर्गन्धित पारिएको संसदीय प्रणालीलाई जतिसुकै लिपपोत गरे पनि यसले मात्र अबको ओरालो यात्रा र दुर्घटनाको खतरालाई कसैले रोक्न सक्दैन । 

राजनीतिक अभ्यासको इतिहासमा वर्तमान संसदीय व्यबस्था पटकौसम्म असफल सावित भैसकेको छ । असफलताको ताज महलमा आजीवन सम्राट भैरहने दलीय शीर्षस्थहरुको चरम महत्वकांक्षाले संसद खसी देखाएर कुकुरको मासु बेच्ने थलो सावित भएको छ । कुशासनको पीडाले जनजीवनलाई तहस नहस बनाएको छ । आम निरासाबाट उत्पन्न अराजकताले सस्तो लोकप्रियतावादी फाँसीवादलाई निम्याउने खतरा उतिकै छ । ब्यक्तिगत महत्वकांक्षामा आधारित अन्तर दलीय गुटबन्दी तथा राम्रा भन्दा हाम्रा प्रियताको फोहोरी खेलले राजनीतिक दलहरुका बिधि विधान तथा नैतिक र राजनीतिक मूल्य मान्यतालाई खोपीको देवतामा परिणत गराएको छ । 

भिडदेखि भिडसम्म तथा चुनावदेखि चुनावसम्म अनि अपराधदेखि अपराधसम्म मात्र सीमित बनेको आजको राजनीतिक यात्राले पथभ्रष्टता, बेरोजगारी, कर्तब्य बिमूखता, नैतिक शून्यता र सैद्धान्तिक विचलन जस्ता अनेकौ समस्याहरुको थाकमा बन्धक बनाउँदै देशलाई असफल राष्ट्रतर्फ मुखरित गराउँदै छ । लोककल्याणकारिता लोकतन्त्रको मर्म हो । तर लोक कल्याणकारिताको   रामनामीमा सीमित टाठाबाठाले देशलाई लुटको स्वर्गमा परिणत गरेका छन् । देशको अर्थ नीति लुट परस्तहरुकै मुठ्ठीमा बन्धक बनेर राज्य संरक्षित माफियातन्त्रले जनतालाई उजाडता र निरासाको उपहार शिवाय केही दिन सकेको छैन । युवा पुस्तालाई विदेशले बोलाउँदै छ । 

हाम्रा सुनखानीमा जंगल पलाएर उर्वरशील खोरियाहरु वन्यजन्तु केन्द्र बनेका छन् ।  युरोप, अफ्रिका, अमेरिका र खाडी मुलुकहरु रोजगारका गन्तब्य बनेका छन् । १२ कक्षा पास गर्न नपाइ दैनिक रुपमा अजारौ हजार कलिला युवा युवतीहरु राहदानीको लागि लामबद्ध बनेका छन् । राज्य संरक्षित बित्तीय निकायहरु मिटर ब्याजे साहु भन्दा दुई कदम अगाडि बढेर मेहनती जनतालाई शोषण गरिरहेका छन् । पैतीस दिने सूचना र लिलामीका सूचनाले छापाहरु भरिने क्रम जारी छ । 

राज्यसत्ताको चरित्र जे छ शासन प्रणाली त्यही चरित्रको हुन्छ । अनि शासन प्रणालीको चरित्र भन्दा पृथक शासक हुन सक्दैनन् । त्यही शासकीय चरित्रको कारण आज अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रुपमा विदेशिनेहरुको बजार लाग्ने गरेको छ । दिगो रोजगारमूलक उत्पादनमूखी विकाश भन्दा भ्यू टावर, टावर, मठ, मन्दिर र चैत्य तथा गुम्बाको निर्माणमा शासकहरुको ध्यान केन्द्रित छ । जनप्रतिनिधिहरु अघोषित ठेकेदार बनेका छन् । राम्रा काम गर्ने सीमित जनप्रतिनिधिलाई चारै तर्फबाट घेराबन्दी गरेर उनीहरु माथि मुद्दैमुद्दाको थाक लगाइएको छ । कथित विकाशका नाममा प्रकृतिक सम्पदाहरु बिनास गरिएका छन् । 

यस्ता यावत सवालहरुको सन्दर्भका अनेकौ कारकहरु मध्ये राजनीतिक दल संवद्ध महाराज र तिनका आसेपासेहरु एउटा कारक होलान् । तर मूल कारक उनीहरु मात्र हैनन् । मूल कारक भनेको देशको राज्य सत्ता, शासन प्रणाली, शासकीय स्वरुप र उसको चरित्र हो । वर्तमान राज्य सत्ता सामन्तवादको चरण पार गर्दै दलाल नोकरशाही पुँजीवादी चरणमा प्रवेश गरेको छ । उसको चरित्र सामन्तवादको परिस्कृत रुपमा मात्र विकसित हुँदै आएकोले उसले प्रगतिशीलताको नकावमा मुठ्ठीभर पहुँचवाल वर्गको मात्र प्रतिनिधित्व गरेको छ । तमाम विधि विधानहरु संभ्रान्त वर्गको हितमा मात्र बनेका छन् । न्यायालय तथा संवैधानिक निकायहरु सोही वर्गको इसाराको बस्तुमा सीमित बनेका छन् ।

शासक र संसदले चाहेर पनि संभ्रान्त वर्गको प्रतिकुलता र श्रमजीवी तथा मेहनती जनताको अनुकुलताका बिधि विधानहरु निर्माण हुन सक्ने अवस्था छैन । संसद सोही वर्ग र सीमित माफियाका सरदारहरुको हित भन्दा एक इञ्च पनि बाहिर जान सक्ने अवस्था छैन । शासक सोही वर्गको इसारामा चलेन भने उसले सरकारबाट चौबिस घण्टामा हात धुनु पर्ने अवस्था छ । त्यही भएर नै आजसम्मका सबै सरकारहरूले आफ्नो पूरा आयु पार गर्न पाएका छैनन् । संसद सरकार बनाउने र भत्काउने खेलमा बन्धक भएको छ । यो असफलता हैन ? 

वर्तमान संविधान नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको अधुरो नासो मात्र हो । यसले जनताको बलिदानलाई आत्मसाथ गर्न सकेको छैन । संविधानले नै वर्गीय रुपमा मुक्ति चाहने मुक्तिगामी जनतालाई नश्लीयकरण गरेर वर्गीय आन्दोलनलाई तहस नहस बनाएको छ । राज्य संरक्षित वर्गीय विभेदकै कारण जातीय अतिवाद र लैपिक सङ्कीर्णवादले शिर ठाडो बनाएको छ । समावेशिताको नाममा तय गरिएको नश्लीय आरक्षण संभ्रान्त वर्गको खेल मैदान बनेको छ । निर्वाचन प्रणालीले अपवाद बाहेक लक्षित वर्ग निर्वाचित हुन सक्ने अवस्था सिर्जना गरेको छैन । 

बोरामा पैसा बोकेर दलको टिकट किन्नु पर्ने र ट्रकमा पैसा बोकेर निर्वाचनमा जानु पर्ने परिवेशले गर्दा वर्तमान निर्वाचन प्रणालीमा भ्रष्ट, तष्कर गुण्डा नायक, माफियाका सरदार र सभ्रान्त वर्गको इसाराका ब्यक्ति शिवाय अरुले निर्वाचित हुन सक्ने अवस्था छैन । राज्यका तमाम निकायहरु भ्रष्टाचारको अखडा बनेका छन् 

View : 409

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved