रोङ (इलाम) । स्थानीय सरकारले गर्ने मुख्य कामहरू के–के होलान् ? यो प्रश्नको उत्तर हाजिरीजवाफ शैलीमा नआउन सक्छ । तर, मुलुकका ७५३ वटै स्थानीय सरकारको प्राथमिकताहरू केलाउने हो भने भन्न सकिन्छ, बाटोघाटो, अस्पताल, पुलपुलेसाहरूको निर्माणमा तिनको रूचि उच्च छ । स्थानीय आवश्यकताले पनि उनीहरूलाई पूर्वाधार निर्माणमै केन्द्रित हुन बाध्य पार्छ ।
यति हुँदाहुँदै पनि कोशी प्रदेशमै एउटा यस्तो स्थानीय सरकार पनि छ, जसले यी सबै कामलाई प्राथमिकता दिंदादिंदै पनि किसान लक्षित कार्यक्रम र योजना बनाएर काम गरिरहेको छ ।
इलामको रोङ गाउँपालिकाले पछिल्लो समय किसानलाई सहयोग पुग्ने गरी उनीहरूकै उत्पादनलाई ‘ब्राण्डिङ’ गरिदिने, सहकारीमार्फत बजार पुर्याइदिने र त्यसबाट प्राप्त आम्दानी किसानकै पोल्टामा पुग्ने प्रबन्ध गरिदिएको छ ।
दुई वर्षयता रोङले गुन्द्रुक उत्पादन गरेर ब्राण्डिङ गरेर बजार पठाइरहेको छ । अघिल्लो वर्षदेखि गुन्द्रुकसँगै सिस्नो पनि ब्राण्डिङ गरिरहेको पालिकाले यसपटकदेखि करेलाको पनि ब्राण्डिङ गरेर बजार पठाउन थालेको छ ।
‘अहिले सहकारीहरूमार्फत वार्षिक १२ सयदेखि १५ सय केजीसम्म गुन्द्रुक बिक्री भइरहेको छ’, गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) ले उद्घोषसँग भने ‘वार्षिक रूपमा १५ सय देखि २ हजार केजी सिस्नो पनि बजार पुग्न थालिसकेको छ । अहिले तिते करेला र चिया पनि पालिकामार्फत नै ब्राण्डिङ भएर बजार पुग्न थालेको छ ।’
अध्यक्ष स्याङ्बोका अनुसार झापासँग सिमाना जोडिएको दक्षिण इलामको रोङ गाउँपालिका हरेक वर्ष कुनै न कुनै स्थानीय उत्पादनलाई गाउँबासीको आम्दानीको स्रोत बनाउने अभियानमा लागेको छ । सोही अनुसार गुन्द्रुक, चिया, सिस्नो र करेला बजार पुग्न थालेका हुन् ।
गाउँपालिकाका अनुसार नेपालमा मात्रै नभई विदेशमा पनि गुन्द्रुकको बजार अपार छ । त्यही अपार बजारमा आफ्नो उत्पादन पठाउने र त्यसबाट हुने आम्दानी किसानलाई फिर्ता दिने गरी गुन्द्रुक उत्पादन सुरू भएको थियो । यसको प्रतिफल राम्रो देखिएको स्थानीय किसानको अनुभव छ ।
जनता र स्थानीय सरकारबीच सहकार्य स्थापना गरेर उत्पादनमा जोडिने लक्ष्यसहित सुरू भएको गुन्द्रुक उत्पादन अभियानल दुई वर्ष पार गर्दा गाउँका किसान उत्साहित देखिन्छन् ।
कहिले भाउ नपाएर सस्तोमा साग बेच्ने अनि कहिले नबिकेर चौपायालाई खोले पकाएर खुवाउने किसानको बाध्यता पनि धेरै मात्रामा अन्त्य भएको छ ।
‘अहिले त हामी दिनभरी साग टिपेर कतिबेला गाउँपालिकाको गाडी लिन आउँछ भनेर पर्खेर बस्छौं’, रोङ गाउँपालिका–६ का भीम प्रधानले भने, ‘अहिले साग खेर जाला भन्ने चिन्ता छैन ।’ उनले वार्षिक रूपमा एक हजार केजीभन्दा बढी साग गाउँपालिकालाई बेचिसकेका छन् । यसो गर्ने किसानको संख्या पालिकामा धेरै छ ।
स्थानीयबासीका अनुसार रोङ गाउँ हरियो सागसब्जी उत्पादनको उर्वर थलो हो । तर भौगोलिक विकटता र यातायातको सहज अवस्था नहुँदा कृषि उत्पादन सजिलै बजार पुग्न सक्दैन । यसको असर हिउँद–बर्खा दुबै याममा देखिने गरेको छ । गुन्द्रुक उत्पादन अभियानले यो सकस हटाइदिएको प्रधानले सुनाए ।
मल बीउ र बजार सबै पालिकाले दिने भएपछि साग उत्पादक किसानहरूले फाइदा अनुभव गरेको उनीहरूको भनाइ छ ।
गाउँपालिकाका अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रूपैयाँ अनुदान पनि पाउने व्यवस्था पालिकाले गरेको छ । त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रूपैयाँ अनुदानको व्यवस्था छ । त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिका, स्वीस सरकार र सहकारीको त्रिपक्षीय लगानीबाट गुन्द्रूकको काम चलिरहदा सिस्नोमा पनि त्यस्तै काम भइरहेको छ । गुन्द्रुक बनाउने फ्याक्ट्रीमै सिस्नोको पनि काम हुने भएका कारण खर्च जोगिएको पालिकाको भनाइ छ । गुन्द्रुकपछि सिस्नो ब्राण्डिङ गरेको रोङले जंगलैजंगलले ढाकिएको र भीरपाखा प्रशस्त भएको आफ्नो भूगोलको उपयोग गर्न सिस्नोमा चासो देखाएको हो ।
‘यहाँ सिस्नो जताततै पाइन्छ । जसरी गुन्द्रुक उत्पादन गर्न साग रोप्ने, गोड्ने, हेरचाह गर्ने, टिप्ने जस्ता काम गर्नुपर्छ, सिस्नोका हकमा त्यो सबै झन्झट हुँदैन’, अध्यक्ष स्याङ्बोले भने ‘गुन्द्रुक उत्पादनका लागि उद्योग स्थापना गर्नुपरेको थियो । सिस्नोलाई प्रशोधन गर्न त्यही उद्योगले काम दिन्छ । अन्य संरचना जोड्नु पर्दैन ।’
अहिले गाउँपालिकाभरिका किसानलाई सहकारीमा संगठित गरिएको छ र त्यही सहकारीमार्फत सिस्नो संकलन हुन्छ । प्रशोधन गरेर बजार पठाउने गरिएको छ । त्यसबाट भएको आम्दानी सहकारीमार्फत गाउँबासीलाई प्रदान हुने गरेको छ ।
रोङका बहुसंख्यक किसानले हरेक वर्ष आफ्नो खेतबारीमा उम्रिने सिस्नो खेताला लगाएर फाड्न लगाउने गरेका थिए । अहिले भने त्यही सिस्नो उनीहरूको आम्दानीको स्रोत बनेको छ ।
‘जंगलमा, पाखा, जताततै सिस्नो पाइन्छ । बाली लगाउँदा फाड्ने चलन छ’, यो काममा अगुवाई गरिरहेको देवानछाप कृषि सहकारीका अध्यक्ष बमबहादुर राईले भने, ‘एक वर्ष अघिदेखि त्यो सबै सिस्नो संकलन गर्ने, प्रशोधन गरेर विभिन्न स्वरूपमा प्याकेजिङ गर्ने र बजार पठाउने काम भइरहेको छ ।’
यस्तो योजनाले रैथाने उत्पादनको प्रवद्र्धन हुने र अर्गानिक उत्पादनले उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै लामो समयदेखि लगभग अपहेलित अवस्थामा रहेका वनस्पति स्थानीयवासीको आय आर्जनको स्रोत बन्ने अपेक्षा गाउँपालिकाको छ ।
सिस्नो गुणकारी वनस्पति भएकाले नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा सजिलै खपत भइरहेको पालिकाको भनाइ छ । रोङले गुन्द्रुक, चिया, सिस्नोपछि महत्व दिएको उत्पादन हो करेला । बेसार, मह, र अम्लिसोलाई समेत ब्रान्डिङ गरिरहेको रोङले करेला पनि प्याकेजिङ गरेर बजार पठाउन थालिसकेको छ ।
अध्यक्ष स्याङबोका अनुसार करेलालाई केही समय सुकाएर सुख्खा बनाइन्छ । त्यसैलाई प्याकेजिङ गरेर बजारमा पठाइन्छ ।
गाउँपालिकाले यो वर्ष २ सय किलो करेलाको सुकुटी तयार पारेर बजार पठाएको जानकारी दिंदै उनले भने ‘गाउँपालिकाले करेलालाई प्रशोधन गरी सुकुटी बनाउने उद्योग पनि निर्माण गरिरहेको छ । एक सिजनमा हामी ५० हजार किलोसम्म काँचो करेला प्रशोधन गर्न सक्ने क्षमताको उद्योग हामी बनाउँदैछौं ।’
कृषि वस्तुलाई ब्राण्डिङ गर्ने योजना पालिकाले अघि सार्दा नपत्याउनेहरू पनि अहिले बढेको आम्दानीले लोभिएका छन् ।
‘सागपात, सिस्नो, करेला हाम्रोमा प्रशस्तै उत्पादन हुन्छ’, रोङ–६ कै अर्का किसान मणिकुमार चौरासेले भने ‘कहा बेचौं भन्ने चिन्ता अहिले हुँदैन । पहिले हामीले पत्याएका थिएनौं । अहिले राम्रो भइरहेको छ ।’
पालिका अध्यक्ष स्याङबो स्थानीय सरकार कार्यालयमा भन्दा जनताको घरदैलोमा भेटिनुपर्ने मान्यताले यी योजना बनेको हो । ‘हामी तरूलदेखि इस्कुससम्म, महदेखि दूधसम्म कसरी ठूलो बजार र सुरक्षित बजारमा पठाउन सकिन्छ भन्ने अध्ययनमा छौं । किसान खुसी भए पालिकाको सफलता नै त्यही हो ।’
View : 89
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved