विराटनगर । शिक्षाकर्मी तथा विराटनगरको एभरेष्ट स्कुल तथा कलेजका टिकाराम पुरीले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवार बन्न तयार रहेको बताएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा विराटनगरको नेतृत्व गर्ने आकांक्षासहित पुरीले महानगरको विकास र समृद्धिका लागि आफू नेतृत्वमा आउन चाहेको बताएका हुन् ।
हिमालय मातृभूमि फाउण्डेशनका अध्यक्षसमेत रहेका पुरीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धिको अभियानका आवाज उठाउँदै आएका छन् । विराटनगरलाई आधुनिक, व्यवस्थित र समृद्ध शहरका रूपमा विकास गर्ने योजना र सामर्थ्य आफूमा रहेको उनको दाबी छ ।
‘विराटनगरलाई आधुनिक शहरका रूपमा विकास गर्न मन छ । यसको मुहार फेर्ने भिजन मसँग छ,’ पुरीले भने, ‘दृढ इच्छाशक्ति र दीर्घकालीन सोचका साथ काम गर्ने हो भने विराटनगरलाई सुन्दर र समृद्ध महानगर बनाउन असम्भव छैन ।’
कुनै समय नेपालको दोस्रो ठूलो शहरका रूपमा परिचित विराटनगर अहिले विकासको प्रतिस्पर्धामा अपेक्षित रूपमा अघि बढ्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । पुरानै शैली र तौरतरिकाबाट महानगर सञ्चालन गर्दा अपेक्षित परिणाम आउन नसकेको पुरीको भनाइ छ ।
‘लक्ष्यअनुसार अघि बढ्न सक्नुपर्छ । उपलब्ध स्रोतको पहिचान र प्रभावकारी परिचालन गर्न सक्नुपर्छ । त्यसो गर्ने हो भने विकासका लागि असम्भव केही छैन,’ पुरीले भने ।
विराटनगरको गौरवशाली इतिहास भए पनि त्यसअनुसारको विकास हुन नसकेको उल्लेख गर्दै उनले विगतमा महानगरको नेतृत्व सम्हालेकाहरूले शहरको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न नसकेको टिप्पणी गरे । अब पनि परिवर्तनका लागि पहल नगर्ने हो भने कहिले गर्ने भन्ने प्रश्न गर्दै उनले महानगरवासीले पनि विकास र नेतृत्वको आवश्यकतालाई बुझ्न थालेको बताए ।
पुरीले महानगरको विकासका लागि पाँचवर्षे कार्यकाललाई छुट्टाछुट्टै चरणमा विभाजन गरेर काम गर्नुपर्ने धारणा राखेका छन् । पहिलो वर्षदेखि नै स्पष्ट योजना बनाएर दोस्रो, तेस्रो हुँदै पाँचौँ वर्षसम्मको लक्ष्य निर्धारण गरी कार्यान्वयन गर्न सके विराटनगरको स्वरूप परिवर्तन गर्न सकिने उनको दाबी छ ।
‘यहाँ चुनाव जितेपछि जिम्मेवारी पूरा भयो भन्ने प्रवृत्ति देखियो । चुनाव जित्नु मात्रै ठूलो कुरा होइन, जनताले अनुभूति गर्ने गरी काम गर्न सक्नुपर्छ,’ उनले भने ।
मेयरमा उम्मेदवारी दिने इच्छा व्यक्त गरे पनि कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्ने विषयमा पुरीले स्पष्ट धारणा भने सार्वजनिक गरेका छैनन् ।
यस विषयमा राखिएको जिज्ञासामा उनले अहिलेसम्म कुनै दलसँग छलफल नभएको बताए । ‘अहिले कसैसँग कुरा भएको छैन । समय आउँदै जाँदा बाँकी कुरा भनौँला,’ उनले भने । हुन त पुरीले गत प्रतिनिधिसभा निर्वाचनअघि आफैंले पनि राष्ट्रिय गौरव पार्टी दर्ता गरेका थिए । उनको चुनावचिन्ह पाँचमुखे रुद्राक्ष रहेको थियो ।
उक्त पार्टीको अध्यक्षमा पुरी नै छन् । तर उनले पार्टीको नामबाट राजनीतिक गतिविधि भने गरेका छैनन् ।
अहिले पुरीले महानगरको मेयरको उम्मेदवारीको सम्भावनालाई लिएर विराटनगरको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी हुन थालेको छ ।
उनी पुरानै राजनीतिक आबद्धता रहेको नेकपा एमालेबाट उम्मेदवार बन्ने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जोडिने, कुनै दल वा गठबन्धनको साझा उम्मेदवार बन्ने अथवा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्छन् ? भन्ने चर्चा हुन थालेको छ ।
तर पुरीले भने राजनीतिक दलभन्दा पनि विराटनगरको विकासलाई प्राथमिकतामा राखेको संकेत गरेका छन् ।
‘कसैसँग कुनै कुरा भएको छैन । विराटनगरको मुहार फेर्न उम्मेदवारी दिने मन छ,’ उनले स्पष्ट पारे ।
नेकपा एमालेनिकट रहेर कोशी प्रदेश कमिटी सदस्यसमेत बनेका पुरी पार्टी रुपान्तरणको मुद्दा उठाउँदै जेनजी आन्दोलनपछि एमालेबाट बाहिरिएका थिए । पार्टीले अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्षसहित आफू अलग भएको उनले त्यतिबेला बताएका थिए ।
वि.सं. २०२३ वैशाख १ गते संखुवासभाको खाँदबारी नगरपालिका–७, साविक माल्टा खिप्रिङमा जन्मिएका पुरी विराटनगर महानगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।
एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि २०४२ सालमा विराटनगर आएका पुरीले अध्ययनसँगै शिक्षण पेसा सुरु गरेका थिए । केही समय शिक्षण पेसामा आबद्ध भएपछि उनले एभरेष्ट सेकेण्डरी स्कुल सञ्चालनमा ल्याए ।
हाल एभरेष्ट सेकेण्डरी स्कुल देशकै स्थापित निजी शैक्षिक संस्थामध्ये एकका रूपमा परिचित छ । विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा पुरीको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।
विद्यालय सञ्चालनसँगै उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को संगठनात्मक नेतृत्वमा पनि सक्रिय रहिसकेका छन् । २०५४ सालमा प्याब्सन मोरङको सदस्य बनेका पुरीले त्यसपछि दुई कार्यकाल सचिव र दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले ।
संगठनको केन्द्रीय तहमा पुगेपछि दुई कार्यकाल उपाध्यक्ष, एक कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरे । अध्यक्षमा निर्वाचित हुनुअघि उनले विभिन्न निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका थिए ।
अन्ततः प्याब्सनको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका पुरी उपत्यकाबाहिरबाट केन्द्रीय नेतृत्वमा पुग्ने पहिलो व्यक्ति बनेका थिए ।
उनको नेतृत्वकालमा निजी विद्यालयमैत्री कानुन निर्माणका लागि नीतिगत पैरवी, संगठनको संस्थागत व्यवस्थापन र पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।
विशेषगरी कोरोना महामारीका बेला निजी विद्यालयले भोगेका समस्या समाधानका लागि उनले खेलेको भूमिका र काठमाडौंको तीनकुनेमा तीनतले भवन खरिद गरी प्याब्सनको संस्थागत संरचना व्यवस्थित बनाएको कामलाई संगठनभित्र महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।
शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गरेका पुरीले पछिल्लो समय कृषि र औद्योगिक क्षेत्रमा पनि आफ्नो सक्रियता विस्तार गर्दै आएका छन् । उनले शैक्षिक संस्थासँगै कृषि फार्मसमेत सञ्चालन गरिरहेका छन् ।
उमेर पुगेका कुनै पनि नेपाली बेरोजगार बस्न नपर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनको धारणा छ । युवालाई उत्पादनसँग जोड्नुपर्ने र सबैले काम गर्ने अवसर पाउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिँदै आएका छन् ।
यसका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । रोजगारी सिर्जना र उत्पादन वृद्धि राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउने पुरी यस क्षेत्रमा सम्भावना प्रशस्त रहेको दाबी गर्छन् ।
यसैबीच, मोरङमै विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योग सञ्चालनको तयारीसमेत उनले अघि बढाएका छन् । यसका लागि एक चिनियाँ कम्पनीसँग समझदारीपत्र (एमओयू) भइसकेको जानकारी उनले दिएका छन् ।
शिक्षा, संगठन व्यवस्थापन, कृषि र उद्योग क्षेत्रमा आफ्नो अनुभवलाई अब महानगरको नेतृत्वसँग जोड्ने चाहना पुरीले व्यक्त गरेका छन् । यद्यपि, उम्मेदवारीको औपचारिक घोषणा, राजनीतिक दलको छनोट र चुनावी रणनीतिबारे भने उनले अहिले नै निर्णय सार्वजनिक गरेका छैनन् ।
विराटनगरको विकासलाई मुख्य एजेन्डा बनाउँदै मेयरको आकांक्षा व्यक्त गरेका पुरीको सम्भावित उम्मेदवारीले आगामी स्थानीय निर्वाचनको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासोसमेत बढ्न थालेको छ ।
View : 90
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved