Biratnagar, Morang, Nepal
७ मंसिर २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सृष्टि सहकारीको साधारणसभाबाट १०.७५ प्रतिशत बोनस पारित

उद्‌घोष संवाददाता
६ मंसिर २०८३, आइतवार

विराटनगर । विराटनगर–२ मुनालपथस्थित सृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई गत आर्थिक बर्षको मुनाफाबाट १० दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ ।

संस्थाको आइतबार आयोजित ३०औँ वार्षिक साधारणसभाले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आफ्नै भवनको सभाहलमा सम्पन्न साधारणसभाले संचालक समितिका अध्यक्ष निवास पोखरेलले प्रस्तुत गरेको वर्तमान वित्तीय प्रतिवेदन तथा भावी कार्यक्रम र बजेटसमेत पारित गरेको छ ।

आर्थिक वर्ष २०८२-०८३ मा २८ करोड ५४ लाख २२ हजार ३७७ रुपैयाँ बराबरको कारोबार गरेको सहकारीले १ करोड ७० लाख ५६ हजार ३४४ रुपैयाँ आम्दानी गरेको छ । 

शेयर पुँजी २ करोड ५० लाख १५ हजार १०० रुपैयाँ पुगेको अध्यक्ष पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, बचततर्फ १० करोड ८६ लाख ८६ हजार ५३ रुपैयाँ संकलन गरेको संस्थाले सदस्यहरूलाई ११ करोड २८ लाख ४२ हजार ३८८ रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।

संस्थामा हाल महिला ७११ र पुरुष ६८० गरी कुल १ हजार ३९१ जना शेयर सदस्य रहेका छन् । अघिल्लो आर्थिक बर्षमा सहकारीमा दुई हजार तीन बढी शेयर सदस्य रहेकोमा निस्कृय शेयर सदस्यहरूलाई आवश्यक प्रक्रियासहित हटाउँदै लगेको जनाइएको छ ।

संस्थाले आर्थिक वर्ष २०८३-०८४ मा ३१ करोड ६ लाख ३९ हजार १४० रुपैयाँ ५१ पैसा र आर्थिक वर्ष २०८४÷०८५ का लागि ३३ करोड ७४ लाख २६ हजार ४५६ रुपैयाँ ९ पैसा बराबरको कारोबार गर्ने लक्ष्य राखेर वित्तीय कारोबार अघि बढाउने जनाएको छ ।

साधारणसभामा पछिल्लो समय केही सहकारीमा देखिएका आर्थिक अनियमितता र विकृतिका कारण राम्रो काम गरिरहेका सहकारी पनि चपेटामा परेको भन्दै चिन्ता व्यक्त गरिएको थियो । सहकारी क्षेत्रको विश्वसनीयता कायम गर्न नियमन, पारदर्शिता र सुशासनमा जोड दिनुपर्ने आवाज उठेको थियो । 

सहकारीका उपाध्यक्ष डम्बरबहादुर कार्कीले सहकारी क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्या देखिएको उल्लेख गर्दै संस्थालाई सही मार्गमा डो¥याउन र विधिसम्मत सञ्चालन गर्न सबै सदस्य जिम्मेवार बन्नुपर्ने बताए । 

सहकारीका लेखा समितिका संयोजक अच्युत भट्टराईका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा संस्थाले १० करोड ८६ लाख ८६ हजार रुपैयाँ बचत संकलन र ११ करोड २८ लाख रुपैयाँभन्दा बढी ऋण परिचालन गरेको जानकारी दिए ।

सहकारी संस्थाका ज्येष्ठ शेयर सदस्य बद्रीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामाको संचालन सचिव लिलानाथ गौतमले गरेका थिए । 

साधारणसभाका अवसरमा लामो समयदेखि कार्यरत रहेर उमेरका कारण विदा भएका सहकारीको बचत संकलन गर्दै आएका फिल्ड कर्मचारी झसनाथ दाहाललाई औषधोपचार खर्चबापत ३० हजार रुपैयाँ नगदसहित बिदाइ गरिएको थियो । 

त्यसैगरी, असल बचतकर्ता शेयर सदस्यहरू शुशिला अधिकारी र चन्द्रप्रसाद अधिकारी तथा असल ऋणी शेयर सदस्यहरू लिला बहादुर लिम्बु र लाछो मुडियारीलाई सम्मानित गरिएको थियो । 

२०८३ सालको प्सल टु परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उतीर्ण हुने शेयर सदस्य निर्मला भण्डारी सापकोटाका छोरा प्रनिश सापकोटालाई समेत नगद र प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो ।

View : 29

७ मंसिर २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved