Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मन्त्रीका आकांक्षीको लर्कोले कांग्रेसको सत्तारोहणमा ढिलाइ

‘२९ जना सांसद भएको कांग्रेसभित्र २०–२२ जना नै मन्त्रीका आकांक्षी देखिएका छन्’, कांग्रेस कोशीका एक सांसदले भने ‘फेरि सबै सांसद आ–आफ्नो गुटका नेताको शक्ति लगाएर लविङमा भएका कारण नाम टुंगो लगाउन केन्द्रलाई सकस भएको छ ।’
उद्घोष सम्वाददाता
६ साउन २०८१, आइतवार

विराटनगर । सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो नलाग्दा कोशी सरकारमा नेपाली कांग्रेसको सहभागितामा ढिलाइ भएको छ । २९ सदस्यीय कांग्रेस संसदीय दलका बहुसंख्यक सदस्यले मन्त्री बन्ने आकांक्षा देखाएको तर पार्टी नेतृत्वले अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय नदिएका कारण सरकारमा सहभागी हुन ढिलाइ भएको कांग्रेस नेताहरूले बताएका छन् ।

‘कोशी सरकारमा हामी सहभागी बन्ने निश्चित छ तर हाम्रो आफ्नै कारणले सरकारमा जान ढिलो भइरहेको छ’,  नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने ‘त्यही आन्तरिक कुरा मिलाउन छलफल चलिरहेको छ । छलफल टुंगिने बित्तिकै कांग्रेस कोशी सरकारमा सहभागी हुनेछ ।’

मन्त्री बन्न चाहनेहरूको सूची लामो भएर नाम टुंग्याउन नसकेका कारण सरकार प्रवेशमा ढिलाइ भएको हो भन्ने उद्घोषको प्रश्नमा पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता थापाले  भने ‘होइन, होइन । अरु प्रदेशमा केही समस्या भएका कारण यहाँ पनि सरकारमा जान ढिलाइ भएको हो । यहाँको बारेमा त्यस्तो धेरै समस्या छैन ।’

नेता थापाले सार्वजनिक रुपमा कोशीमा समस्या रहेको कुरा अस्वीकार गरे पनि कांग्रेसका अन्य धेरै नेताहरूले मुख्य समस्या नै कोशीमा धेरै जना आकांक्षीहरू हुनुलाई मानेका छन् । मन्त्री बन्न दौडधुप गरिरहेका धेरै कांग्रेस सांसदहरू यतिबेला काठमाडौंमै छन् । कतिपय नेताहरू फर्केका छन् । काठमाडौंबाट विराटनगर फर्किसकेका कांग्रेस नेताहरूका अनुसार ‘केही दिनमै कसलाई मन्त्री बनाउने टुंगो दिने’ वचन केन्द्रले दिएको छ ।

‘२९ जना सांसद भएको कांग्रेसभित्र २०–२२ जना नै मन्त्रीका आकांक्षी देखिएका छन्’, कांग्रेस कोशीका एक सांसदले भने ‘फेरि सबै सांसद आ–आफ्नो गुटका नेताको शक्ति लगाएर लविङमा भएका कारण नाम टुंगो लगाउन केन्द्रलाई सकस भएको छ । अब तपाईहरू प्रदेश फर्किनुस्, छलफल गरेर नाम टुंग्याउँला भनेर केन्द्रले भनेपछि हामी विराटनगर फर्केका छौं ।’

ती सांसदका अनुसार सभापति शेरबहादुर देउवालाई सबैभन्दा ठूलो दबाब कृष्णप्रसाद सिटौला समूहबाट छ । केन्द्रीय सदस्य भीम पराजुली, प्रदेशका महामन्त्री भूपेन्द्र राई, प्रमुख सचेतक गोपाल तामाङ लगायतका नेताहरूले मन्त्री बन्ने दाबी छाडेका छैनन् । ‘सिटौला समूहबाट दाबी गर्ने सबैले मन्त्री पाउने सम्भावना छैन, दाबी कसैले छाडेको पनि छैन’, सोही समूहका एक सांसदले भने ‘त्यसैले टुंगो लाग्न नसकेको हो ।’

सिटौला समूहको तीव्र दबाब खेपिरहेका सभापति देउवालाई आफ्नै समूहका पनि धेरै जना आकांक्षी हुँदा मन्त्री बन्ने नाम टुंग्याउन सकस भइरहेको कांग्रेस नेताहरू बताउँछन् । अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, इस्राइल मन्सुरी लगायतका नेताहरू मन्त्री नबनी नछाड्ने दौडमा छन् ।

‘कोशीमा कांग्रेसले बढीमा पाँच मन्त्रालय पाउला, आकांक्षीहरू धेरै छन्, त्यही व्यवस्थापन गर्ने कुरा नमिल्दा ढिलो भइरहेको छ’ देउवा समूहकै एक सांसदले भने ‘तर पनि ढिलोमा यही साताभित्र नाम टुंगो लाग्छ भनेर नेताहरूले भनेका छन्, हेरौं ।’

संस्थापन समूहका दुई गुटबाहेक पनि कांग्रेसभित्र डा शेखर कोइराला पक्षलाई पनि समेट्नुपर्ने बाध्यता छ । आफ्नै गृह प्रदेश भएका कारण नेता कोइराला कोशीको मुख्यमन्त्री आफ्नै पक्षले पाउनुपर्ने अडानमा छँदैछन् । यद्यपि सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको सहमतिमा कोशी एमालेको भागमा पर्ने बुँदामा हस्ताक्षर गरिसकेका छन् । ‘एउटा सहमति भइसकेको छ, त्यसको मसी नसुक्दै अहिले हामी अर्को कुरा गर्ने पक्षमा छैनौं’, कांग्रेस उपसभापतिसमेत रहेका कोइराला पक्षका नेता धनराज गुरुङले उद्घोषसँग भने ‘त्यसो गर्न पनि हुँदैन ।’

सहमतिअनुसार कोशी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व एमालेले गर्ने , वागमती, गण्डकी र सुदुरपश्चिममा  काग्रेसले र  मधेशमा मधेशवादी दलले नै सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ । यद्यपि देउवा र ओलीबीचको सहमति अझै सार्वजनिक भइसकेको छैन ।

तत्कालै मुख्यमन्त्री दाबी नगर्ने मुडमा रहे पनि कोइराला पक्षले कोशी मन्त्रिपरिषद्मा राम्रै भाग खोज्ने सो समूहका सांसदहरू बताउँछन् । ‘अहिलेसम्म मन्त्री नभएका गोविन्द गिरी र मानबहादुर लिम्बू दाबेदारीको शीर्षमा हुनुहुन्छ’, कोइराला समूहका एक सांसदले भने ‘तर, यसअघि मन्त्री भएकाहरू दोहोरिनै नहुने भन्ने केही छैन । अरु पनि दाबेदार छन् । आफ्नै प्रदेश भएकाले हाम्रो उपस्थिति सम्मानजनक हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं ।’

कोइराला समूहकै अर्का एक सांसदले भने पहिले जस्तै आफ्नो समूहलाई वेवास्ता गरिरहे कोशीमा भएको यसअघिको विद्रोह फेरि दोहोरिने चेतावनी दिए । ‘पहिला पनि शेखर समूहलाई भित्तामै पुर्याउन खोज्दा विद्रोह भएर केदार कार्की मुख्यमन्त्री बनेका हुन्’, ती सांसदले भने ‘अहिले पनि कोशीमा संविधानको धारा १६८ को उपधारा ५ कै सरकार छ । धेरै पेल्न खोजिए पुरानै नियति दोहोरिने खतरा छ । पार्टी नेतृत्वले त्यो खतराबारे सजग बस्नुपर्छ ।’

यसरी कांग्रेसभित्र आकांक्षीको लर्को लागेर नाम टुंग्याउन सकस परिरहँदा यसले कोशीको माओवादीलाई भने केही राहत मिलिरहेको छ । जसरी हुन्छ केही दिन भए पनि बढी समय सरकारमा बस्ने लोभ देखाइरहेको माओवादीका लागि कांग्रेसभित्रको यो सकस सरकारमा बसिरहने नयाँ बहाना बनेको छ । कांग्रेस नेताहरू भने यो अवस्था धेरै लामो समय नजाने बताउँछन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छाडेर जानु नभनेको भन्दै माओवादी मन्त्रीहरू प्रदेश सरकारमा अझै बसिरहेका छन् । यसअघि गत वर्ष केन्द्रमा गठबन्धन फेरिनासाथ कोशी सरकार छाडेको माओवादीले यसपटक भने सत्तालिप्सा देखाउँदै सरकार नछाडेको भनेर एमाले मात्रै होइन माओवादीकै कतिपय नेताहरूले सार्वजनिक रुपमै आलोचना गरिरहेका छन् ।

View : 168

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved