Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

विवादै विवादको घेरामा पोखरेल, श्रीमती र स्वकीयको मुद्दाले नैतिक संकट

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

विराटनगर । आफ्नी पत्नी र स्वकीय सचिव नै रकम हिनामिना र ठगीको गम्भीर विवादमा मुछिएपछि मोरङ क्षेत्र नं.२ का एमाले सांसद ऋषिकेश पोखरेल रक्षात्मक अवस्थामा पुगेका छन् । 

आफ्ना सबैभन्दा निकट रहेका दुई पात्र आर्थिक अनियमितताको विवादमा जोडिएपछि सांसद पोखरेल तीव्र नैतिक दबाबमा पनि परेका छन् । 

‘ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ’, पोखरेल निकट मोरङकै एक सञ्चारकर्मीले शुक्रबार आफ्नो फेसबुक स्टाटसमा लेखेका यी पंक्ति सम्भवतः पोखरेलतिरै लक्षित थियो । उनको लेखाइ जता लक्षित भएपनि पोखरेल यतिबेला ओरालो लागेको त्यस्तो ‘मृग’ सावित भएका छन्, जसलाई एकपछि अर्को काण्डले निरन्तर लखेटिरहेको छ । 

पत्नी अञ्जला कोइराला सहकारीको रकम हिनामिना प्रकरणमा नाम जोडिएर फरार रहेका बेला स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि पनि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । 

अदालतको यो परमादेश भएको सार्वजनिक भएपछि सांसद पोखरेलले स्वकीय सचिव पोखरेललाई पदबाट निकालेका छन् । स्वकीय सचिवलाई ठगीको आरोप लागेपछि स्वकीय सचिवबाट निकालिदिएका पोखरेल पत्नी अञ्जलाका पक्षमा भने दृढ भएर उभिदै आएका छन् । 

मोरङ एमालेका एक नेता एक पछि अर्को विवादमा पोखरेल फस्दा उनी अप्ठ्यारोमा परेको स्वीकार्छन् । तर, स्वकीय सचिवको बाहेक पत्नी अञ्जला जोडिएको सहकारी प्रकरणमा भने उनी नमुछिने ती नेताको दाबी छ । 

‘उहाँको नाम नै जोडिएको होइन, स्वकीय सचिवको नाम जोडिएको हो’, एमाले मोरङ जिल्ला कमिटीका ती नेताले भने, ‘स्वकीय सचिव पहिल्यैदेखि यस्ता काण्डहरू गर्दै आएका मानिस हुन् । त्यस्ता मान्छेलाई उहाँले किन संरक्षण गरेको होला भन्ने लाग्थ्यो । अहिले आएर आरोप गम्भीर रुपमा लागेको छ । यसको छानबिनपछि थाहा होला ।’

पुस ११ मा प्रमाणीकरण भएको आदेश उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले एमाले जिल्ला सदस्यसमेत रहेका अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो । ठगी प्रकरणमा जोडिएका पोखरेल एमाले मोरङ २ का हर्ताकर्ता कार्यकर्ता मानिन्छन् । 

स्वकीय सचिव पोखरेलले सप्तरीका बौआलाल चौधरीकी छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर ३८ लाख ८० हजार रुपैयाँ लिएको अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । 

‘पोखरेलले मसँग भेटी मेरो छोरी दीक्षा चौधरीलाई उच्च शिक्षा एमबीबीएस पढाउन, मेरो पहुँच माथिसम्म पावर छ, म तपाईको छोरीलाई एमबीबीएस डाक्टरी पढाउन नाम निकाल्न र होस्टलमा राख्नसमेत वातावरण बनाइदिन्छु भनी आश्वासन दिई तपाईको छोरी डाक्टर बनिहाल्छ तपाईले सो वापत मैले भनेजति रुपैयाँ दिनुपर्छ तर तपाईले केही गर्नुपर्दैन भनी विश्वासमा पारी पटकपटक गरी जम्मा ३८ लाख ८० हजार मैले दिएको हो’, बौआलालले अदालतमा दायर गरेको निवेदनमा भनिएको छ ।

बौआलालले छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता मागेका थिए । पैसा फिर्ता माग्न थालेपछि पोखरेलले धम्की दिन थालेको आरोप बौआलालको छ । 

हिसाब चुक्ता गरिदिन्छु भन्ने आश्वासन दिंदै आफूलाई बोलाएर २०७४ असार २५ मा कपाली लिखतमा जोरजुलुम गरेर लिदै नलिएको ५० लाखको ऋणी बनाएको आरोपसमेत बौआलालले लगाएका छन् । 

आफूले तिरेको ३८ लाख ५० हजारको साटो उल्टै ५० लाखको ऋणी बनाएको भन्दै उजुरी लिएर रंगेली प्रहरी पुगेका बौआलालको उजुरी जिल्लामा गर्नु भन्दै प्रहरीले फर्कादिएको उनले अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ । 

त्यसपछि जिल्ला प्रहरी, सरकारी वकिल कार्यालय पुग्दा पनि आफ्नो कुरा कतै सुनुवाई नभएपछि बौआलालले २०७९ साउन १८ मा रजिष्ट्री गरेर जाहेरी पठाएका थिए । 

हुलाकबाट आएको पत्र बुझेको प्रहरीले फेरि पनि पोखरेलमाथि अनुसन्धान गर्न आनाकानी गरेको भन्दै उनी पोखरेलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश माग गरिपाउँ भनेर उच्च अदालत विराटनगर पुगेका थिए । 

प्रहरी र सरकारी वकिलले उजुरी नआएको दाबी गरे पनि अदालतले हुलाकबाट प्रमाण झिकाउँदै घटनाको अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो । 

बौआलाल चौधरीको जाहेरी दर्ता गरी कानुनअनुसार काम गर्न भन्दै प्रहरीलाई उच्च अदालतले आदेशमा भनेको छ, ‘अतः निवेदक बौआलाल चौधरीले हुलाकमार्फत पठाएको जाहेरी दरखास्त मिति २०७९ साउन १९ गते जिल्ला प्रहरी कार्यालय, मोरङ विराटनगरले बुझिलिएको भन्ने पोष्ट मेन (बुक) किताबको सक्कल किताबबाट देखिन आएकोले कानुनको प्रकृया पुर्याई जाहेरी दर्ता गरी कानुनबमोजिम प्रकृया अगाडि बढाउनु भनी विपक्षी जिल्ला प्रहरी कार्यालय, मोरङ विराटनगरका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’ 

आफ्ना स्वकीय सचिव ठगीमा मुछिएपछि उनलाई निकालेका सांसद पोखरेल आफै पनि गएको साउन पहिलो सातातिर गम्भीर विवादमा मुछिएका थिए । त्यसबेला उनी विवादमा तानिने कारण बनेको थियो उद्योगहरूको विद्युत शुल्क बक्यौता विवाद ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार उद्योगीहरूसँगको मिलेमतोमा पोखरेलले बक्यौता छुट दिन आफू नेतृत्वको संसदीय समितिको दुरुपयोग गरिरहेको आरोप त्यसबेला लागेको थियो । 

डेडिकेटेड र ट्रंकलाइन महसुलको त्यो विवादले अहिले पनि बेलाबेला सरकार र प्राधिकरण नेतृत्वबीच खटपट भइरहन्छ । सरकार उद्योगीका पक्षमा दृढ भएर उभिएपछि यो प्रकरण तत्कालका लागि सेलायो ।

पोखरेलको नाम यो मामिलामा धेरै बद्नाम हुन पाएन ।

तर, त्यसपछिका दुई वटा घटनाले भने सभापति पोखरेललाई रक्षात्मक बनाइदिएको हो । सभापति पोखरेल पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनीहरू फरार थिए । रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवास भने धरौटीमा छुटेका छन् । पोखरेल पत्नी अञ्जलाभने अझै ‘फरार’ नै छन् ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । 

मंसिर २७ मा कोइराला र खवाससहित २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । पुस २ मा अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी (म्याद पुर्जी) जारी गरेको थियो । 

सभापति पत्नी अञ्जला त्यसयता आफूले पढाउने महेन्द्र विराट रात्री विद्यालयबाट बिदा लिएर फरार भएकी हुन् ।  उनी दुई साता भन्दा लामो समयदेखि विद्यालयमा अनुपस्थित छिन् । 

सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो असुल गर्न माग गरेको छ । 

आफू निकटका व्यक्तिहरू एकपछि अर्को आर्थिक विवादमा मुछिएपछि टाउको दुखाई खेपिरहेका पोखरेल आफ्नी पत्नी भने निर्दोष रहेको दाबी गरिरहेका छन् । 

‘सहकारी प्रकरणमा जे जति दोषी हो अध्यक्ष शम्भु रौनियार नै दोषी हुन् भन्नेमा उहाँ र पार्टी पंक्ति विश्वस्त छ’, पोखरेल निकट एक नेताले भने ‘तर, स्वकीय सचिवको केसमा भने केही भन्ने अवस्था रहेन ।’ त्यसो त स्वकीय सचिव पोखरेललाई सांसद पोखरेलको बलियो संरक्षण रहेको बताउने एमाले नेताहरू पनि प्रशस्तै छन् ।

‘आफ्नो स्वकीय सचिवको धन्दाबारे उनी बेखबर रहेको भन्ने कुरा नै हावादारी हो’, मोरङकै एक एमाले नेता भन्छन् ‘जोड चलुञ्जेल संरक्षण गरेकै हुन्, अहिले अदालतले अनुसन्धान गर्नु भनेपछि पदबाट निकालेको जस्तो गरेका हुन् । प्रहरीलाई अनुसन्धान फितलो बनाउन दबाब दिने सम्भावना प्रशस्तै छ । परिणाम जे पनि हुन सक्छ ।’

View : 99

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved