बंगलादेशमा लघुवित्तका जनक बने सरकार प्रमुख
विराटनगर । बंगलादेशमा मोहम्मद युनुस सरकार प्रमुख बनेलगत्तै सुनसरी–३ की प्रतिनिधिसभा सदस्य भगवती चौधरीले सामाजिक सञ्जालबाट उनलाई बधाई दिंदै कार्यकालको सफलताको शुभकामना प्रकट गरिन् । नेकपा एमालेकी सांसद चौधरीले युनुसलाई सार्वजनिक रुपमा यसरी बधाई दिनुका पछि राजनीतिक साइनोले भन्दा पनि लघुवित्तको पृष्ठभूमिले बढी काम गरेको थियो ।
सुनसरीको दुहबीमा रहेको फर्वाड माइक्रोफाइनान्स(लघुवित्त)की संस्थापक एवम् पूर्वअध्यक्ष चौधरी र उनीजस्ता अरु हजारौं लघुवित्तकर्मीहरूका लागि बंगलादेशी युनुस आदर्श पात्र हुन् । उनीहरूलाई बाटो देखाइरहने, आँट, भरोसा र हिम्मत प्रदान गरिरहने एक अगुवा पनि हुन् युनुस । यसरी सधैँ प्रेरित गरिरहने आदर्श पात्र युनुस बंगलादेशमा भएको विद्यार्थी आन्दोलनपछि सरकार प्रमुख बनेको घटनाले खुसी तुल्याएको चौधरी बताउँछिन् ।
‘उहाँ हाम्रा लागि आदर्श पात्र हो, लघुवित्तका माध्यमबाट उहाँसँग भेट गर्ने, गफ गर्ने मौका धेरै पटक मिलेको छ’, उद्घोषसँग कुरा गर्दै चौधरीले भनिन् ‘त्यसक्रममा उहाँले हामीलाई सधैँ प्रेरित गरेको सम्झना आइरहन्छ । उहाँले सामान्यस्तरबाट सुरु गरेको लघुवित्तलाई अहिले करोडौं जनतामाझमा पुर्याउनुभएको छ । हामीलाई पनि हिम्मत हार्न हुन्न, लागिरहँदा लक्ष्य हासिल हुन्छ भनेर सधैँ उत्साहित तुल्याउनुहुन्थ्यो ।’
पूर्वी नेपालमा फरवार्ड माइक्रोफाइनान्सलाई नेपाली लघुवित्तको पायोनियर संस्था मानिन्छ । अहिले यो संस्थामा तीन लाख जति सदस्य छन् । मोहम्मद युनुस बंगलादेशी लघुवित्तका पायोनियर मानिन्छन् । स्वदेशमा मात्रै होइन, युनुसको अन्तर्राष्ट्रिय पहिचान भनेकै ‘गरिबका बैंकर’ को हो । बंगलादेशी सत्ताको बागडोर यतिबेला तिनै गरिबका बैंकरको हातमा आइपुग्दा उनलाई नजिकबाट चिन्ने नेपालीहरू पनि खुसी र आशावादी बनेका हुन् ।
सांसद चौधरीका अनुसार सन् २०१२ मा बोलिभियामा लघुवित्त संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । युनुससँग उनको पहिलो र लामो भेट त्यहीँ भएको थियो । ‘उहाँसँग जतिबेला भेट भयो, उहाँको अभियानमा करोडौं सदस्य भइसकेका थिए, हामी हजारमै सीमित थियौं’, १२ वर्षअघि युनुससँग भएको भेटको सम्झना गर्दै भगवतीले सुनाइन् ‘त्यसबेला भेट हुँदा हामी लघुताभाषले पिरोलिएका थियौं । उहाँ लघुविक्तको संसारकै अग्लो व्यत्ति, हामी भर्खरै बामे सर्दै गरेकाहरू । तर, उहाँसँगको कुराकानीले हामीलाई उत्साह दियो । हिम्मत दियो । उहाँको अति सरल व्यक्तित्वबाट हामी प्रभावित भयौं ।’
युनुस बंगलादेशमा लघुवित्तको अवधारणा विकास गरेर सफल कार्यान्वयन गरेका पात्र हुन् । देशका निर्धन नागरिकलाई आर्थिक उन्नति गर्ने अवसर प्रदान गर्ने लक्ष्यसहित उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिक उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे । सोही कार्यका लागि उनलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो । नोबल शान्ति पुरस्कार पाएपछि उनले संसारभरबाट लोकप्रियता कमाए । स्वदेशमा यसै लोकप्रिय उनी त्यसपछि संसारभर नै सम्मानित बन्न थालेका थिए ।
यो दृश्य नेपाली लघुवित्तकर्मीहरूले आफ्नै आँखाले देखेका छन् । भगवती चौधरीका अनुभवमा एक पटक उनीहरू फ्रान्समा भएको लघुवित्तहरूको विश्व सम्मेलनमा भाग लिन पुगेका थिए । त्यसबेला फ्रान्स सरकार र त्यहाँका सरकार प्रमुखले युनुसलाई दिएको सम्मान विशिष्ट थियो ।
‘उहाँ बंगलादेशको कुनै उपल्लो सरकारी पदमा नहुँदा पनि संसारले उहाँलाई मानेको हामीले त्यहाँ प्रत्यक्ष अनुभव गर्यौं’ पेरिसको घटना सम्झदै चौधरीले सुनाइन् ‘उहाँले त्यहाँ पाएको सम्मान देखेर लागेको थियो, अन्तर्राष्ट्रिय सम्मान र पहिचान पाउन सरकार प्रमुख नै भइरहनु पर्दैन । आफ्नो क्षेत्रमा विशिष्ट काम गर्नुपर्ने रहेछ ।’ चौधरी आफै पनि केही समयअघि नेपालको मन्त्री भइसकेकी राजनीतिक व्यक्तित्व हुन् ।
चौधरीका अनुसार बंगलादेश र नेपालको माइक्रोफाइनान्सको कार्यशैली फरक छ । यसको मुख्य अवधारणा गरिबी निवारण हो, बंगादेशमा त्यही ढंगले यो चलेको छ ।
‘त्यहाँ एउटा मात्रै सरकारी ग्रामीण बैंक छ । नेपालमा चाहिँ माइक्रोफाइनान्सको ह्वारह्वार्ती बाँडियो, सञ्चालकहरूले लाभांश र नाफा खोज्न थाले’, उनले भनिन् ‘यसले गर्दा हामीकहाँ लघुवित्त व्यापारमुखी भयो । जनता पनि एउटाबाट ऋण लिने र अर्कोलाई तिर्न थाले । यसले नेपालको लघुवित्तप्रति नकारात्मक धारणा बन्यो । यसमा हामीले आत्मचिन्तन गर्न आवश्यक छ ।’
त्यसो त युनुस आफै पनि राजनीतिमा आएर बंगलादेशमा आफ्नो प्रभाव अरु स्थापित गर्ने योजनामा थिए । तानाशाही मात्रै नभएर पछिल्ला दशकमा शेख हसिनामा अहंकार र दम्भ यति उच्च भएको थियो कि, आफूभन्दा लोकप्रिय अरु कोही भए सहनै छाडेकी थिइन् । यही कारण युनुस पनि लामो समयदेखि हसिनाको तानाशाहीको निशानामा थिए ।
लाखौं जनतालाई ग्रामीण बैंकमार्फत १०० डलरभन्दा कम रकमको ऋण उपलब्ध गराएर गरिबी रेखाबाट निकालेपछि नोबेल शान्ति पुरस्कार पाएका युनुस दल खोलेर राजनीतिमा आउने तयारी गर्दै थिए । त्यहीबेला हसिनाले युनुस लक्षित गरेर काम गर्न थालिन् ।
शुरूमा उनले देशमा अवकाश पाउने उमेर ६० भए पनि युनुस ७३ वर्षसम्म ग्रामीण बैंकको प्रमुख रहेको भन्दै २०११ मा उनलाई प्रमुखबाट हटाइन् । युनुसले विश्व बैंकलाई भड्काएर २०१२ मा पद्मा नदीमाथिको लामो पुल बनाउने योजनामा लगानी नगर्न उक्साएको आरोप पनि हसिनाले लगाइन् ।
हसिना यत्तिमै सिमित भइनन् । देशका करोडौं गरिबलाई गरिबीको रेखाभन्दा माथि उकासेका युनुसलाई गरिबको रगत चुसेको आरोप लगाउँदै भ्रष्टाचारको मुद्दा चलाइन् । अदालतले कैद सजाय नै तोक्यो ।
यहीबीचमा हसिनाको तानाशाहीविरुद्ध बंगलादेशी विद्यार्थीले आन्दोलन छेडे । बंगलादेश सरकारले सन् २०१८ मा सरकारी जागिरमा भएको कोटा प्रणाली खारेज गरेको थियो । गत जुनमा उच्च अदालतले उक्त कोटा प्रणाली फेरि ब्यूँझाएपछि बंगलादेशका विद्यार्थी आन्दोलित बनेका थिए ।
कोटा प्रणालीअनुसार ३० प्रतिशत सिट सन् १९७१ को स्वतन्त्रता संग्राममा लडेकाहरूका सन्तानलाई छुट्टयाइएको थियो । त्यही स्वतन्त्रता संग्रामले पूर्वी पाकिस्तानलाई अहिलेको बंगलादेश बनाएको थियो । त्यो आन्दोलनको नेतृत्व हसिनाका पिता मुजीबुर रहमानले गरेका थिए ।
कोटा प्रणालीविरुद्ध विद्यार्थर्लीे थालेको शान्तिपूर्ण प्रदर्शन दबाउन हसिनाले प्रहरी परिचालन गरिन् । उनका दलका विद्यार्थी संगठन र युवाहरूले पनि विद्यार्थीमाथि हमला गरे । विगतमा धेरै आन्दोलन दमन गरेकी हसिनाले यसपालि विद्यार्थीको विरोध प्रदर्शनलाई हलुका रूपमा लिएकी थिइन् । त्यो नै उनको पतनको मुख्य कारण भइदियो ।
जब उनले आन्दोलनकारी विद्यार्थीलाई ‘रजाकार’ भनिन्, आन्दोलन भड्कियो । बंगलादेशमा रजाकार भनेको गद्दार हो । स्वतन्त्रता संग्राम बेला पाकिस्तानी सेनालाई सघाउने बंगलादेशीलाई गाली गर्न यो शब्द प्रयोग हुन्छ । यसरी उठेको विद्यार्थी आन्दोलनले अन्ततः हसिनालाई देश छाडेर हिंड्न बाध्य पार्यो । पहिलेझैं यस पटक पनि सेनाले आफ्नै नेतृत्वमा अन्तरिम सरकार बनाउने तयारी थाल्यो । आन्दोलनकारीले त्यसलाई अस्वीकार गर्दै मोहम्मद युनुसको नाम अघि सारे ।
यसरी जनान्दोलनको राप र तापका बीच युनुस सरकार प्रमुख बनेका छन् । सबैभन्दा पहिले देशमा शान्ति स्थापना गर्नु र प्रजातान्त्रिक व्यवस्था बहाल गर्ने दायित्व बोकेका युनुस यसमा सफल बन्ने अपेक्षा उनका शुभचिन्तकहरूको छ ।
‘सेनाले सरकार हातमा लिन लागेका बेला बंगलादेशी जनताले उहाँमाथि भरोसा गरेका छन्’, भगवती आशावादी छिन् ‘उहाँको नेतृत्वमा बंगलादेशीहरू एकताबद्ध हुन्छन् भन्ने आशा छ । उहाँ मानवतावादी व्यक्ति हो । धार्मिक संकीर्णता र अतिवादभन्दा माथि उठेको उहाँ जस्तो व्यक्तिको नेतृत्वमा बंगलादेश अघि बढ्नेछ भन्ने आशा छ । आफ्नो क्षेत्रमा सफल भए जस्तै राजकीय मामिलामा पनि सफल बन्नुहुनेछ भन्ने अपेक्षा छ ।’
बंगलादेश नेपालको पूर्वी सीमाबाट सबैभन्दा छोटो दूरीमा रहेको तेस्रो देश हो । भारतको पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडीबाट थोरै दक्षिण लागेपछि आउँछ भारतीय नाका फूलबारी, त्यही नाका पार गर्नासाथ टेक्न सकिन्छ बंगलादेशी भूमि ।
बंगलादेश पञ्चगढ जिल्लाको बंगलाबन्ध नाका कांकडभिट्टाबाट ३४ किलोमिटर दूरीमा मात्रै अवस्थित छ । केहीबेरको मोटर यात्राबाटै पुग्न सकिने दूरीमा भएकै कारण पनि बंगलादेश सबैभन्दा नजिकको छिमेकीमध्ये एक मानिन्छ ।
‘हाम्रो नजिकको छिमेकी भएकाले पनि त्यहाँको स्थिरता र शान्तिको कामना छ’, चौधरीले थपिन् ‘त्यसमाथि हामी लघुविक्तकर्मीहरूका लागि आदर्श व्यत्ति सरकार प्रमुख बन्नुभएका कारण पनि हामी हर्षित अनि आशावादी छौं ।’
View : 181
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved