बैजनाथपुर क्रिकेट रङ्गशालामा खेल अभ्यास गर्दै कोशी प्रदेशका खेलाडीहरु । तस्वीर: बाबुराम/उद्घोष
विराटनगर । खेलविहीन भएर मुर्छाएको विराटनगरको बैजनाथफुर क्रिकेट रंगशालामा मंगलबारदेखि राष्ट्रिय त्रिकेट टी–२० च्याम्पियनसीपमार्फत खेल रौनक फर्किंदैछ । आगामी चैत ३ गतेसम्म सो रंगशालामा सात प्रदेश र तीन विभागीयसहित १० वटा क्रिकेट टोली ट्रफी उचाल्न भिड्दैछन् ।
सरकारले राष्ट्रिय गौरवको योजनामा समावेश गरेको बैजनाथपुर क्रिकेट रंगशाला (गिरिजाप्रसाद क्रिकेट रंगशाला) मा खेलका लागि तीन वटा ‘टर्फ विकेट’ पिच तयार पारिएको जनाइएको छ । मैदानमा आवश्यक तयारी अन्तिम चरणमा रहेको आयोजक मोरङ जिल्ला क्रिकेट संघले जनाएको छ ।
करिव ७५ लाख रुपैयाँ खर्च गरेर प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाइसकेको छ । सो प्रतियोगिताले कोशी प्रदेशको खस्किएको क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान गर्ने दाबी गरिएको छ ।
नेपाल क्रिकेट संघको राष्ट्रिय क्यालेण्डरमै समावेश गरेर सुरु भएको राष्ट्रियस्तरको प्रतियोगिताले आगामी दिनमा निरन्तरताको समेत अपेक्षा क्रिकेट क्षेत्रका सरोकारवालाहरूले राखेका छन् । त्यसको सुनिश्चितता प्रदान गरिने कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताएका छन् ।
प्रतियोगिता खेल्न विभिन्न टोलीबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्पर्धाहरूमा उत्कृष्ट खेल प्रदर्शन गरिसकेका खेलाडीहरू मैदानमा देखिने छन् । १० वटा टोलीले फाइनलसम्म २३ वटा खेल खेल्दैछन् ।
घरेलु दर्शकका सामु कोशी प्रदेशको टोलीलाई यसअघि सम्पन्न भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एउटा पनि खेल जित्न नसकेको जवाफ दिनेमा क्रिकेट खेल सम्वद्ध फदाधिकारीहरूले विश्वास व्यक्त गरेका छन् । त्रिकेट खेल सम्बद्ध क्षेत्रबाटै खेलाडी छनोटको प्रक्रिया अपारदर्शी भएको आरोप खेप्नुपरेको उक्त प्रतियोगितालाई बिर्सिएर कोशी प्रदेशका खेलाडीहरूले नयाँ उत्साह देखाउने जनाइएको छ ।
कोशी प्रदेशबाट अंकित सुवेदीको कप्तानीमा फिर्दोस अन्सारी (उपकप्तान), सोनु अन्सारी (विकेट किपर), मिनास थापा, सौगात भट्टराई, सुजन थपलिया, भुपाल दंगाल, समीर कार्की, दिपेश कंडेल, श्रवण यादव, ज्ञानेन्द्र श्रेष्ठ, भुपाल लुईंटेल, अभियास तिम्सिना र अनिल लामिछाने रहेको टोली घोषणा भइसकेको मुख्य प्रशिक्षक पुष्प थापाले जानकारी दिए । बन्द प्रशिक्षणमा सहभागी गराइएका ३४ जना खेलाडीहरूबाट उनीहरू छनौटमा परेका हुन् ।
उद्घाटन खेलमा कोशी प्रदेशले कर्णालीको सामना गर्दैछ । समुह ए मा कोशी प्रदेशसहित सशस्त्र प्रहरी, नेपाल आर्मी, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन् । समुह बी मा नेपाल पुलिस, बाग्मती, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश समावेश छन् ।
यो प्रतियोगितासँगै विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा खेल फर्किएको छ । सरकारले राष्ट्रिय गौरवको योजना घोषणा गरेसँगै साढे तीन अर्ब रुपैयाँ लगानी हुने जनाइएको छ ।
बैजनाथपुर क्रिकेट रंगशालामा २०७३ पुस ८ मा आयोजना भएको सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता पश्चात राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुन सकेको थिएन । त्यसपछि शिथिल जस्तै बनेको रंगशालालाई राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीले नयाँ जीवन दिलाएको छ ।
प्रतियोगिताका लागि पिचसँगै साइड स्क्रिन, पेभिलियन लगायतका संरचनाको मर्मत भइसकेको जनाइएको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मो.साद कुरैशीले बताए ।
View : 624
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved