Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी सरकार र मानेभञ्ज्याङ संघर्ष समितिबीच सहमति

उद्‌घोष संवाददाता
२ मंसिर २०८३, बुधवार

विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउन कोशी प्रदेश सरकार र संघर्ष समितिबीच मंगलबार पाँचबुँदे सहमति भएको छ । सहमति भएसँगै संघर्ष समितिले सुरु गरेको आमरण अनसन पनि टुंगिएको छ ।

अस्पताल बनाउने भन्दै सरकारले नै जग्गा माग गरेपछि स्थानीयले १६७ रोपनी जग्गा उपलब्ध गराएका थिए । 

उक्त जग्गा त्यतिबेला सामाजिक विकास मन्त्रालयको स्वामित्वमा हस्तान्तरण गरिएको थियो । तर प्रदेश सरकारले अस्पताल निर्माण सुरु नगरेको भन्दै सोमबार साँझदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उनीहरूले आमरण अनसन सुरु गरेका थिए ।

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली र प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणका लागि गठित संघर्ष समितिका संयोजक माधवप्रसाद ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमतिमा जग्गा निरीक्षणदेखि आगामी बजेटमा निर्माणका लागि स्रोत सुनिश्चित गर्नेसम्मका विषय उल्लेख गरिएको छ ।

प्रदेश सरकारसँगको सहमतिअनुसार जग्गा भएको स्थानमा प्राविधिक टोलीसहित अस्पताल निर्माणका लागि उपलब्ध गराइएको जग्गाको निरीक्षण प्रक्रिया तत्काल अघि बढाउने, सामाजिक विकास मन्त्रालयको नाममा रहेको १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा सार्न आवश्यक प्रक्रिया अघि बढाउने, अस्पताल निर्माणका लागि वातावरणीय परीक्षण गर्न २०८३ मंसिरभित्र आवश्यक स्रोत व्यवस्थापन गरी चालु आर्थिक वर्षभित्र प्रतिवेदन तयार गरिने भएको छ ।

यी विषय कार्यान्वयनको प्रक्रिया अघि बढेपछि आगामी बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने सहमति भएको जनाइएको छ ।

सम्झौतापत्रमा स्वास्थ्य मन्त्री पराजुली, संघर्ष समितिका संयोजक ढुंगाना र प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. कीर्तिपाल सुवेदीसहित जग्गादाताका प्रतिनिधिहरूले पनि हस्ताक्षर गरेका छन् ।

मानेभञ्ज्याङमा प्रादेशिक अस्पताल निर्माणका लागि विस्तृत आयोजना अध्ययन प्रतिवेदन समेत तयार भइसकेको छ । आर्थिक वर्ष २०७६÷७७ देखि अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको थियो । 

२०७६ जेठ २८ मा मानेभञ्ज्याङ गाउँपालिकाका तत्कालीन अध्यक्ष मोतीराज राईको अध्यक्षतामा बसेको बैठकले ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र पश्चिम उदयपुरका नागरिकलाई लक्षित गरी भौगोलिक रूपमा पायक पर्ने स्थानमा प्रादेशिक अस्पताल स्थापना गर्न प्रदेश सरकारलाई सुझाव दिएको थियो । अस्पताल निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

View : 58

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved