शनिबारदेखि नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगरका दुई महत्वपूर्ण क्रिकेट रंगशालामा शनिबारदेखि नरेश श्रेष्ठ स्मृति वाइवाई अण्डर १९ पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
कोशी प्रदेशमा हालसम्म हुन नसकेको उमेर समुहको क्रिकेट प्रतियोगिताका खेलहरू विराटनगर–१९ स्थित बैजनाथपुर रंगशाला र विराटनगर–६ स्थित मेरिलिबोन क्रिकेट मैदानमा हुँदैछन् ।
कोशी प्रदेशको खस्किएको क्रिकेटलाई भविष्यका लागि बलियो पार्न यो प्रतियोगिताले महत्वपूर्ण जग बनाउने अपेक्षासहित कोशी प्रदेशको टोलीले उद्घाटन खेल मधेस प्रदेशसँग खेल्दैछ ।
कोशी प्रदेशको कप्तानी सौजन घिमिरेले गर्दैछन् । जिल्लागत छनौट चरण पश्चात कात्तिक २ देखि ६ गतेसम्म भएको बन्द प्रशिक्षणबाट घिमिरेको कप्तानीमा यु–१९ खेल्ने कुल १८ खेलाडीहरूको अन्तिम नामावली प्रकाशन गरिएको हो ।
छनौट भएका खेलाडीसहित शुक्रबार कोशी प्रादेशिक क्रिकेट संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको छ । संघका अनुसार झापाका सौजनको कप्तानीमा मोरङका प्रतीक पोखरेलले कोशी प्रदेशको टिमको उपकप्तान सम्हाल्दैछन् ।
कोशीको टिममा दीपु भुजेल, सोनु अन्सारी, रोशन शाह, कृतिक कामत, प्रेम कामत, फेइसल रहमान, रोविन मण्डल, आसिक राना मगर, आइन्स्टाइन रिजाल, आयुष कार्की, भुपाल दंगाल र विपिन महतो अटाएका छन् ।
चार वैकल्पिकमा हार्दिक गोथिया, आश्विन कामत, खगेन्द्र खत्री र संगम बुढाथोकी रहेका छन् । कोशीको टिमको मुख्य प्रशिक्षक लाक्पा लामा र टिम व्यवस्थापक एल्बीन बस्नेत छन् ।
यो प्रतियोगितालाई यसै वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमै अटाइएको छ ।
अण्डर–१९ पुरुष क्रिकेट प्रतियोगिताका विजेता प्रदेशले नगद २ लाखसहित ट्रफी उचाल्ने छ । त्यस्तै रनर अपले १ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय प्रतिनिधि प्रबल गौतमले जानकारी दिए । उनले यो प्रतियोगिता क्यानको क्यालेन्डरमा परिसकेकोले आगामी दिनमा राष्ट्रिय रूपमै अघि बढ्ने बताए ।
प्रतियोगिताका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी प्लेयर अफ दि सिरिज घोषित हुनेछन् । उनले ३५ हजार रुपैयाँ पाउने जनाइएको छ । त्यस्तै उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले २०–२० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलमा प्लेयर अफ द म्याचलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने कोशी प्रादेशिक क्रिकेट संघका सचिव टिकाराम पुरीले जानकारी दिए ।
प्रतियोगितामा ७ वटै प्रदेशका टिमको सहभागिता रहने जनाइएको छ । सिंगल राउण्ड रोविन फम्र्याटमा हुने ५० ओभरको खेलमा सबै टोलीले सबै टोलीसँग खेल्नेछन् । उत्कृष्ट हुने अन्तिम दुई टोलीले फाइनल खेल्ने जनाइएको छ ।
यो प्रतियोगिता सम्पन्न गर्न खेलाडीको जिल्लागत छनौटदेखिकै हिसाब जोड्दा अनुमानित एक करोड ९० लाख ९६ हजार रुपैयाँ खर्च हुने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए ।
पत्रकार सम्मेलनमा क्यानले प्रतियोगिताको स्वामित्व लिनुअघि झण्डै २० वर्षदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएको वाइवाई चाउचाउका सुरेन्द्र खनाल, प्रतियोगिता निर्देशक मो.साद बाबु लगायतको उपस्थिति रहेको थियो ।
View : 75
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved