Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

अमेरिका–इरान अस्थायी युद्धविराम

पाकिस्तानी अग्रसरताले विश्वलाई दियो राहत
उद्‌घोष संवाददाता
२५ चैत २०८२, बुधवार

विराटनगर । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ मा एउटा भयानक धम्कीसहितको स्टाटस लेखे, सिंगो विश्व त्रसित हुन पुग्यो। उनले लेखेका थिए— “आज राति एउटा पूरै सभ्यता नष्ट हुनेछ, जो कहिल्यै फर्केर आउन सक्नेछैन। म त्यसो गर्न चाहन्न, तर सम्भवतः त्यही हुनेछ।”

विश्वकै शक्तिशाली राष्ट्रपतिको यो अभिव्यक्ति इरानका लागि गम्भीर चेतावनी थियो। अमेरिकाले इरानमाथि परमाणु हतियार प्रयोग गर्न सक्ने खतरा सबैले औँल्याएका थिए। यदि ८ अप्रिल साँझ ८ बजे (अमेरिकी समय) सम्म इरानले होर्मुज जलडमरू पूर्ण रूपमा नखोले अमेरिकाले इरानका सबै पावर प्लान्ट, पुल र ऊर्जा पूर्वाधार ध्वस्त पार्ने धम्की दिएको थियो ।

यो धम्कीले विश्वलाई स्तब्ध बनायो । संयुक्त राष्ट्रसङ्घका महासचिव, पोप र अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले यसको तत्काल विरोध गरे ।

एम्नेष्टी इन्टरनेशनलले त यसलाई ‘मानव सभ्यतामाथिको अपराध’ भन्दै निन्दा गर्‍यो। करिब ९ करोड जनसङ्ख्या भएको इरानको प्राचीन सभ्यता, जसले हजारौँ वर्षदेखि इतिहास, कला, विज्ञान र संस्कृति बोकेको छ, एकै रातमा सकिने खतरा ट्रम्पको धम्कीले झनै बढाएको थियो ।

यद्यपि, समयसीमा सकिन केही घण्टा मात्र बाँकी छँदा ट्रम्प आफ्नो अडानबाट पछि हट्न बाध्य भए। उनले घोषणा गरे, “म इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमत छु।” यो निर्णय पाकिस्तानको मध्यस्थतापछि सम्भव भएको हो।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरको कुराकानीपछि ट्रम्प पछि हटेका हुन् । त्यसका लागि ट्रम्पको मुख्य सर्त इरानले होर्मुज जलडमरू तत्काल र सुरक्षित रूपमा खोल्नुपर्ने रहेको छ। ट्रम्पले आफ्नो पोस्टमा यसलाई ‘डबल-साइडेड सीजफायर’ (दोहोरो युद्धविराम) को संज्ञा दिएका छन् ।

ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले तुरुन्त प्रतिक्रिया दिँदै भने, “यदि इरानमाथि आक्रमण रोकियो भने हाम्रा सशस्त्र बलहरूले रक्षात्मक कारबाही पनि रोक्नेछन् ।”

अराघचीले पाकिस्तानको प्रयासको प्रशंसा गर्दै क्षेत्रीय युद्ध रोक्न उसको भूमिकाप्रति आभार प्रकट गरे। पाकिस्तानी प्रधानमन्त्री शरीफले यस समझदारीलाई बुद्धिमत्तापूर्ण कदम भन्दै विवादको स्थायी समाधानका लागि दुवै देशलाई शुक्रबार (१० अप्रिल २०२६) का दिन इस्लामावादमा वार्ताका लागि निमन्त्रणा दिएका छन् ।

यो अस्थायी युद्धविराम अमेरिका, इजरायल र इरानबीचको लामो शत्रुताको नयाँ अध्याय हो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि यी देशहरूबीचको सम्बन्ध बिग्रिएको थियो ।

सन् २०२३ को हमास आक्रमण र २०२४ को मिसाइल आदानप्रदानपछि तनाव उत्कर्षमा पुगेको थियो। सन् २०२६ को फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त ‘अपरेशन एपिक फ्युरी’ सुरु गरेपछि इरानले प्रतिकारस्वरूप होर्मुज जलडमरू बन्द गरिदिएको थियो। यसबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिएको थियो ।

अन्तिम घडीमा पाकिस्तानले निर्णायक भूमिका खेल्दै यो तनाव साम्य पार्न सफल भएको छ। इरानसँग साझा सीमा र अमेरिकासँग रणनीतिक साझेदारी भएको पाकिस्तानको यो कूटनीतिक प्रयास सफल उदाहरण बनेको छ ।

यद्यपि परमाणु कार्यक्रम, मिसाइल सीमा र इजरायलको अडान जस्ता चुनौतीहरू अझै कायमै छन् । तर यो घटनाक्रमले युद्धले कसैको हित नगर्ने र कूटनीतिबाट मात्र शान्ति सम्भव हुने कुरा स्पष्ट पारेको छ। अब विश्वको नजर इस्लामावाद वार्ता र त्यसले दिने नतिजातर्फ केन्द्रित भएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

View : 223

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved