Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पुस्तकालयको विस्तार, प्रवर्द्धन र संरक्षण

एकराज भट्टराई
१३ चैत २०८१, बुधवार

कक्षाको ज्ञान सीमित हुन्छ । पुस्तकालयबाट प्राप्त हुने ज्ञानको दायरा फराकिलो हुन्छ । त्यसैले अध्ययनशील प्रतिभाहरू पुस्तकालयप्रति बढी आकर्षित हुन्छन् । अहिले संसार नै डिजिटल प्रविधिमा प्रवेश गरेको छ । विश्वको कुनै पनि कुनामा बसेर मानवीय सभ्यतालाई, स्वभाव, यात्रा र प्रगतिलाई अनि अवस्था र परिवर्तनलाई अध्ययन गर्न सकिन्छ । पुस्तकालयको सही प्रयोग वा उपप्रयोग पनि आज तिनै व्यक्तिले गर्न सक्छन्, जो आधुनिक प्रविधिमा उत्रने क्षमता राख्छन् । यस कारण ज्ञान लिनका लागि अब प्रवचन, कक्षा र तपस्याको आवश्यकता अनुभव गर्न छाडिएको छ ।

ग्रहहरूको अवस्था, प्राणीको उत्पत्ति, भूगोल, परिवर्तन, इतिहास मानव सभ्यताको विकास सत्कर्म, असत् कर्म, प्रविधि, उन्नति, युद्ध, शान्ति, प्राचीन सभ्यता, आधुनिक सभ्यता, धर्म संस्कृति, कला-साहित्य इत्यादि सम्पूर्ण कुराको ज्ञान पुस्तकालयबाट प्राप्त गर्न सकिन्छ । यस कारण पुस्तकालयलाई ज्ञानको मात्र होइन मार्ग निर्देश गर्ने साधनका रुपमा पनि जानिन्छ ।

सुमेरियन सभ्यतामा स्थापना भएको निप्पुर पुस्तकालयलाई संसारको सबैभन्दा पुरानो पुस्तकालय मानिएको छ । हालको इराकमा यो पुस्तकालय स्थापना भएको थियो । लगभग इ.पूर्व २५०० मा स्थापना भएको यस पुस्तकालयमा माटोका ट्याबलेटहरूमा लेखिएका ‘क्युनिफर्म’ लिपिहर संग्रहित थिए  । हाल यो पुस्तकालय भग्नावशेषको रुपमा हेर्न पाइन्छ ।

ज्ञान वा चेतनाको अभिवृद्धिका लागि अनि मानवीय सभ्यताको इतिहासलाई बुझ्नका लागि पुस्तकालयको महत्व छ भन्ने कुरालाई बुझ्ने क्रम बढेर गयो । क्रमशः विभिन्न सभ्यतामा पुस्तकालयहरूको स्थापना हुन थाल्यो । ई.पूर्व तेस्रो शताब्दीमा मिश्रमा अलेक्जन्ड्रिया नामक पुस्तकालयको स्थापना भयो । त्यसपछि युनान अथवा एथेन्सको पुस्तकालय अनि रोमन साम्राज्यका सार्वजनिक पुस्तकालय क्रमशः स्थापना भएका हुन् । नालन्दा विश्वविद्यालयको पुस्तकालय पाँचौं शताब्दीमा स्थापना भयो । यी सबै पुस्ताकालयहरूले ज्ञानको संरक्षण गर्नमा र प्रशारण गर्नमा महत्वपूर्ण योगदान पुर्याएका थिए । 

शिक्षाको विकाससँगै विश्वमा धेरै राम्रा पुस्तकालयहरू स्थापना भएका छन् । जो सार्वजनिक भइकन पनि प्रतिष्ठित छन् १४ औं शताब्दीमा भ्यटिकन पुस्तकालय स्थापना भयो । सन् १७९० मा संयुक्तराज्य अमेरिकामा कांग्रेस पुस्तकालय अनि त्यसै गरी १८३६मा भारतीय राष्ट्रिय पुस्तकालय र सन् १९०९ मा रुसको स्टेट लाइब्रेरी स्थापना भएको पाइन्छ । सन् १९०९ मा नेशनल लाइब्रेरी अफ चाइनाको स्थापना भयो । जापानको नेशनल लाइब्रेरी सन् १९४८ मा र १९७३ मा युनाइटेड किङ्डमको बृटिस लाइब्रेरी महत्वपूर्ण मानिन्छन् । यस्ता सबै पुस्तकालयहरूमा करोडौंको संख्यामा पुस्तक, पाण्डुलिपि र अन्य सामग्रीहरू सुरक्षित रहेका छन् ।

विश्वमा सबैभन्दा बढी सार्वजनिक पुस्तकालय भएको देश अमेरिका हो । चीन र रुस पनि धेरै सार्वजनिक पुस्तकालय भएका देशमा पर्छन् । स्मरणीय कुरा के छ भने रोमन सम्राट अगेस्टसले पनि पुस्तकालय स्थापनाका लागि योगदान दिएका थिए । सातौंदेखि १३ औं शताब्दीसम्म इस्लामिक सभ्यताको पर्याप्त विकास भयो । यो समयलाई इस्लामिक स्वर्णयुग वा ज्ञानको युगका रुपमा पनि जानिन्छ, यो समयमा अल रसिदले बलुल हिक्मा (हाउस अफ विसडम) स्थापना गरेका थिए । मध्ययुगमा आएपछि युरोपेली अथवा ग्रिसेली, रोमेली ग्रन्थहरूको सुरक्षाका लागि चर्च र विश्वाविद्यालय पनि खोल्न थालियो ।

कतिपय मानिस पुस्ताकलयमा अध्ययन गर्छन् । त्यसको प्रयोग गर्ने प्रतिशत फरक फरक हुन्छ । उद्देश्य, पेसा, व्यवसाय जस्ता कुराबाट पनि पुस्तकालयलाई उपयोग गर्नेको संख्या बुझ्न सकिन्छ । तथापि विकसित देशहरूमा पुस्तकालय प्रयोग गर्ने जनसंख्या उच्च छ । अविकसित देशहरूमा ज्यादै न्यून रहे पनि विकासशील देशहरूमा यसको संख्या बढ्दै गएको छ । तथापि आज विश्वको तथ्याङ्कबाट हेर्ने हो भने पुस्तकालयलाई उपयोग गर्ने जनसंख्या २५ देखि ४० प्रतिशतसम्म मात्र छ ।

एउटा रमाइलो पक्ष के छ भने तत्कालीन प्रतिभाहरू वा दार्शनिक र वैज्ञानिकहरूले अलेकजान्ड्रिया पुस्तकालयमा अध्ययन गरेका थिए । त्यसैगरी ब्रिटिस लाइब्रेरीलाई चाल्र्स डार्बिन, कार्लमाक्र्स, गान्धी जस्ता दार्शनिकहरूले मुख्य अध्ययनस्थल बनाएका थिए । अमेरिकी राष्ट्रपतिहरू र अमेरिकी कवि साहित्यकार अनि दार्शनिकहरूले कांग्रेस लाइब्रेरीलाई अध्यनका लागि उपयोग गर्थे । चौथो शताब्दीमा युनानी पुस्तकालयमा प्लेटो, अरस्तु जस्ता विद्वान्हरूले अध्ययन गरेको इतिहास छ । हाम्रो देशमा भने कवि साहित्यकार र विद्यावारिधि गर्ने प्रतिभाहरूले पुस्तकालयको बढीभन्दा बढी उपयोग गरेका छन् तर राजनीतिक नेताहरूले भने विद्यार्थी हुँदाका बखतबाहेक सम्भवतः पुस्तकालयमा प्रवेश गरेका छैनन् । 

अमेरिकामा सार्वजानिक पुस्तकालयको सञ्जाल विस्तृत छ । जहाँ एक लाख बीस हजार भन्दा बढी पुस्तकालयहरू छन् । जसमा डिजिटल सेवाको उपलब्धतालाई पाठकले प्राप्त गर्न सक्छन् । नयाँनयाँ पुस्तकालयको स्थापना र डिजिटल सामग्रीको बृद्धि गर्नमा चीन निकै अगाडि छ । त्यसैगरी जापानले पुस्तकालय सञ्चालनका लागि उन्नत प्रविधिलाई अपनाउँदै आएको छ । परम्परागत सामग्रीको संकलन संयोजनमा पनि जापानले ध्यान पुर्याएको छ । ऐतिहासिक पुस्तकालयको संरक्षण गर्न र आधुनिकीकरण गर्नमा इङ्गलेन्ड अग्रसर देखिएको छ । नालन्दा र विक्रमशीला हुँदै अगाडि बढेको भारत सार्वजनिक र शौकिक पुस्तकालयको विस्तारमा ध्यान दिएर ग्रामीण क्षेत्रलाई सुधार गर्ने लक्ष्यमा हिंडेको छ ।

अविकसित र अल्पविकसित देशहरूमा पुस्तकालयको महत्व बढ्न सकेको छैन । तथापि डिजिटल प्लेटफर्महरू, मोवाइल-लाइब्रेरी वा चलायमान पुस्तकालयहरू भने लोकप्रिय हुँदै गएका छन् । अविकसित र अल्पविकसित देशहरू आधुनिक प्रविधिबाट धेरै टाढा छन् । तथापि पुस्तकालयमार्फत साक्षरता अभियान, भनौं शैक्षिक विकास र अनुसन्धानका अवसरहरूको विस्तार भने त्यस्ता देशहरुमा पनि हु“द गएको पाइन्छ ।

विचारणीय कुरा के छ भने नेपालका मिडिया हाउसले आफ्नै प्रयोगका लागि पुस्तकालयको स्थापना गरेका छन् वा छैनन् त्यस कुराको चर्चा भने त्यति भएको पाइँदैन । तर पनि समाज, भूगोल, इतिहास, मानव सभ्यता, घटना, परिवेश, परिवर्तन, विकास, धर्म संस्कृति वा ज्ञान विज्ञानका विविध विषयलाई बुझेर मात्र पत्रकारले कलम समाउन सक्ने हुँदा उनीहरुका लागि निजी पुस्तकालयको आवश्यकता रहन्छ नै । पुनश्चः भाषा प्रयोगका लागि उनीहरुले बढी विज्ञ हुनुपर्ने प्रश्न पनि छदैछ । यस अर्थमा पनि मिडिया हाउसहरूले समय–सापेक्ष आफ्नो छुट्टै पुस्तकालय सञ्चालन गर्नुपर्ने अवस्था चाहिँ छ  ।

नेपालमा सार्वजनिक पुस्तकालय क्षेत्रमा लगानी थोरै छ । पुस्तकालय भवनहरू साना छन् । त्यहाँ अध्ययन कक्षहरूको अभाव छ । विषयगत रुपमा हुनुपर्ने महत्वपूर्ण पुस्तक वा सामग्रीको कमी छ । अनुसन्धानकर्ताले वा पाठकले खोजेका पुस्तकहरू त्यहाँ प्राप्त हुँदैनन् । विश्व धेरै अगाडि गइसकेको छ । विश्वको अवस्थालाई बुझ्न वा ज्ञान लिनका लागि विश्वको कुनै पनि कुनामा प्राप्त नयाँनयाँ पुस्तकहरूको संकलन नेपालका सार्वजानिक पुस्तकालयले गर्न सकेका छैनन् ।

डिजिटल प्रणालीको अभाव हुनु, पुस्तकालय व्यवस्थापन पक्ष कमजोर हुनु जस्ता कुराले पनि त्यस्ता समस्याहरू भएका हुन् । नेपालमा केही पुराना र नयाँ पुस्तकालयहरू छन् जो विभिन्न समस्याहरूलाई झेल्दै आफ्नो अस्तित्व बचाइरहेका छन् । जस्तो केशर पुस्तकालय, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, राष्ट्रिय अभिलेखालय, मदन पुरस्कार पुस्तकालय, प्रज्ञा पुस्तकालय, नेपाल भाषा पुस्तकालय, पाटन पुस्तकालय, विष्णुमाया पुस्तकालय, प्रेस काउन्सिलको पुस्तकालय, देवकोटा पुस्तकालय, नेपाल भारत सांस्कृतिक केन्द्र पुस्तकालय, त्रिवि पुस्तकालय, नेपाल कानुन पुस्तकालय, रत्न पुस्तकालय, मुस्लिम पुस्तकालय, डिल्लिराम रेग्मी पुस्तकालय आदि, यी सबै पुस्तकालयहरू अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि यिनीहरूले आर्थिक समस्यालाई झेल्दै जेनतेन आफ्नो अस्तित्वलाई बँचाइरहेका छन् ।

कतिपय पुस्तकालयबाट महत्वपूर्ण पुस्तकहरू हराउने वा चोरी हुने समस्या पनि छ । सुरक्षा प्रणालीको कमजोरी, डिजिटाइजेसनको अभाव, निजी संग्रहका लागि दुर्लभ पुस्तक चोर्ने वा गायब गर्ने प्रवृत्ति र पुस्तक फिर्ता नगर्ने पाठकहरूका कारणले पुस्तकालयलाई सुरक्षा गर्न नसकिने अवस्था पनि छ । पुस्तकालयलाई बचाउन सरकारी वा गैरसरकारी क्षेत्रबाट पर्याप्त सहयोग प्राप्त हुनुपर्ने अवस्था छ ।

डिजिटल पुस्तकालयको विकास गरेर सुरक्षा प्रविधिमा ध्यान दिनुपर्ने भएको छ । साक्षरता अभियानका लागि हाम्रो जस्तो देशले पुस्तकालयको प्रयोग गर्ने र प्रबर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने अवस्था छ । पुस्तकालय शैक्षिक र बौद्धिक उन्नतिको आधार हुनाले यसको विस्तार, संरक्षण र प्रबर्द्धनका लागि सबैको ध्यान जान जरुरी छ । 

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved