विराटनगर, २६ मंसिर : मोरङको कटहरी गाउँपालिका अन्तर्गतका विद्यालयहरुले प्रयोग गर्दै आएका हस्तलिखित पत्रहरु अबदेखि नचल्ने भएका छन् । विद्यालयहरुले अनिवार्य रुपमा कम्प्युटरमा प्रिन्ट गरिएको पत्र पठाउनु पर्ने हुन्छ ।
कटहरीमा रहेका १९ वटा सामुदायिक विद्यालय मध्ये ९ वटामा कम्प्युटरको प्रयोग हुँंदै आएको छ । बाँकी १० विद्यालयलाई पालिकाले ९ लाख ९० हजार रुपैंयाँको लगानीमा कम्प्युटर र प्रिन्टर मंगलबार एक समारोहका बीच हस्तान्तरण गरेको छ । विद्यालयहरुले पालिकामा यसअघि हातले लेखेका पत्रमार्फत आवश्यकता अनुसार बिभिन्न माग राख्दै आएका थिए ।
सबै विद्यालयका प्रशासनमा कम्प्युटर र प्रिन्टर भएकाले अवदेखि हातले खेलेका चिट्ठीपत्र नचल्ने पालिका अध्यक्ष देवराज चौधरीले बताए । हातले लेखेका चिट्ठी, पत्र पठाउने काम बन्द भएको बताउँदै चौधरीले समय अनुकूल विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने क्रम जारी रहेको जानकारी दिए । कम्युटर चलाउन शिक्षकहरुलाई प्रशिक्षण पनि दिने पालिकाको योजना छ ।
कटहरीका शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेलका अनुसार कटहरीका सबै विद्यालयबाट २८ जना शिक्षकलाई एक महिने कम्प्युटर तालिम सञ्चालनको तयारी छ । तालिम प्राप्त गरेपछि विद्यालयले पत्रहरु इमेलमार्फत पठाउने छन् । विद्यालयको प्रशासनलाई प्रविधिमैत्री बनाउने उद्देश्य राखेर तालिम सञ्चालन गरी शिक्षकहरुको स्तरबृद्धि गर्ने योजना पनि रहेको प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले बताए ।
पालिकाभित्रका तीन माध्यमिक विद्यालयहरु जनता मावि, जनप्रिय मावि र प्रजातन्त्र माविमा भनें कम्प्युटर प्रयोगशालासमेत छन् । यी विद्यालयमा स्थानीय विषय अनुसार विद्यार्थीले कम्युटर विषयको अभ्यास गर्छन् ।
बाँकी निम्न माध्यमिक र प्राथमिक तहका विद्यालयमा कम्युटर प्रयोगशाला छैनन् । ऐच्छिक विषयमा कम्युटर भएकाले कटहरीले कृषिमा ध्यान केन्द्रित गरेको छ ।
ब्यावसायिक कृषिमा लागेका कटहरीका किसानका कारण विराटनगरको ठूलो मागको केही भागलाई पूरा गर्दै आएको छ । आगामी शैक्षिकसत्रबाट स्थानीय विषय कटहरीमा कृषि राखेर तरकारी खेतीलाई प्राथमिकता दिने पालिकाको योजना छ । कटहरीमा उत्पादित तरकारीले विराटनगरको मागको एक तिहाई हिस्सा पूरा गर्ने योजना रहेको बताइएको छ ।
कटहरीका रोजगार शाखा प्रमुख रामकुमार राजवंशीका अनुसार उद्योगहरुले माग गरे अनुसारको जनशक्ति स्थानीयस्तरमा पूरा छैन । गत वर्ष कटहरीमा सञ्चालित रोजगार मेलामा सुचिकृत गरिएका मजदुरले उद्योगहरुमा काम पाएनन् भने पाएकाले पनि सुविधाको कारण बताएर छाडेका छन् ।
कटहरीमा उद्योग र कृषि मात्रै प्रमुख रहेकाले पालिकाले कृषि उत्पादनमा विद्यालयतहदेखिनै विषय राखेर पढाउने तयारी गरेको छ ।
View : 128
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved