Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

निजी मिडियामा बालेनको बक्रदृष्टि

बालेनको नेतृत्वमा रहेको सरकारले निजी सञ्चार क्षेत्रलाई ‘अनावश्यक खर्च’ को रूपमा चित्रण गर्दै सरकारी माध्यममा मात्र विज्ञापन दिने नीति ल्याएको यो पहिलो पटक भने होइन । यसअघि काठमाडौं महानगरपालिकामा उनी मेयर छँदा यस्तै नीति ल्याएका थिए ।
उद्‌घोष संवाददाता
२५ चैत २०८२, बुधवार

विराटनगर । आफूलाई खुला अर्थतन्त्रको पक्षपाती बताउने राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन र सार्वजनिक सूचनाबाट पूर्ण रूपमा बहिष्कृत गरेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत १८ गते जारी गरेको परिपत्रको कोशी प्रदेशमा पनि तीव्र विरोध भइरहेको छ ।

सञ्चारमाध्यमले मात्रै होइन, प्रदेश सरकार स्वयम्ले आम सञ्चार विधेयकमार्फत स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक रुपमा सरकारी विज्ञापन उपलब्ध गराउने नीति लिएको छ । 

संविधानतः परिभाषित जिम्मेवारी र कार्यक्षेत्र भएका प्रदेश र स्थानीय सरकारसमेतलाई बाध्य पार्ने गरी प्रधानमन्त्री बालेन शाहको निर्देशनमा निजी मिडियामा विज्ञापन रोकिएको छ ।

सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, पारदर्शिता ल्याउने र सरकारी स्वामित्वका सञ्चारमाध्यमको प्रवद्र्धन गर्ने नाममा गरिएको यो निर्णयले निजी क्षेत्रका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई आर्थिक रूपमा ठूलो धक्का दिने भन्दै विरोध सुरु भइसकेको छ ।

सरकारको यो कदमलाई प्रधानमन्त्री बालेनको निजी मिडियाप्रतिको बक्रदृष्टिका रुपमा अथ्र्याउन थालिएको छ । 

बालेनको नेतृत्वमा रहेको सरकारले निजी सञ्चार क्षेत्रलाई ‘अनावश्यक खर्च’ को रूपमा चित्रण गर्दै सरकारी माध्यममा मात्र विज्ञापन दिने नीति ल्याएको यो पहिलो पटक भने होइन । यसअघि काठमाडौं महानगरपालिकामा उनी मेयर छँदा यस्तै नीति ल्याएका थिए ।

उक्त परिपत्रमा प्रधानमन्त्री कार्यालयको प्रशासन शाखाले सचिवस्तरीय निर्णयानुसार संघीय मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेश र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

सार्वजनिक खरिद, विकास निर्माण, मौसम, बाढीपहिरो जस्ता सार्वजनिक सूचना अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र प्रकाशन र प्रसारण गर्नुपर्ने उल्लेख छ ।

भुक्तानी पनि सोझै सरकारी माध्यमको कोषमा जम्मा गर्नुपर्ने र दर–छुट सम्बन्धित सरकारी सञ्चारमाध्यमको स्वीकृत दर अनुसार मात्र हुने भनिएको छ । 

सरकारको यही निर्णयप्रति सर्वत्र आलोचना भइरहेको छ । 

कोशी प्रदेशका पूर्वमन्त्री रेवतीरमण भण्डारीले यसलाई संविधान र कानुन विपरीत भएको बताएका छन् । 

संविधानसभा सदस्य तथा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले भने, ‘नेपालको संविधान तथा कानुनले नै सरकारी विज्ञापन प्राप्त गर्ने अधिकार निजी वा सार्वजनिक वा सरकारी मिडिया सबैलाई छ भन्छ । त्यसैले यो निजी सञ्चार माध्यमको पनि अधिकारको विषय हो ।’

उनका अनुसार  सरकारले यस्ता विज्ञापन व्यवस्थापनका लागि सर्त तोक्न सक्छ, तर दिंदै दिन्न भन्न सक्दैन । 

यस अर्थमा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र दिने विषय कानुनसम्मत नभएको उनको भनाइ छ ।

प्रदेश मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिसमेत सरकारी निर्णय व्यवहारिक नभएको बताउँछन् । 

ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले सरकारी निर्णय ‘व्यावहारिक नभएको’ बताउँछन् । 

फेसबुक, टिकटक र इन्टरनेटको युगमा गोरखापत्रमा विज्ञापन दिएर सूचना पुर्‍याउने कुरा अव्यावहारिक भएको बताउँदै उनले भने, ‘मान्छेले अचेल कहाँ गोरखापत्र हेर्छ र ? उनीहरू इन्टरनेटमा छन्, हामी सूचना लिएर त्यही जानुपर्छ । उही गोरखापत्र, रेडियो नेपालमा विज्ञापन दिएर हुन्छ ? सरकारले यो विषय समीक्षा गर्नुपर्छ ।’ 

स्थानीय तहका विकास निर्माण, सार्वजनिक खरिद र विपद् सम्बन्धी सूचनाको प्रभावकारिता स्थानीय सञ्चारमाध्यममा बढी हुने सरोकारवालाहरूको भनाइ छ । 

बाढीपहिरो, मौसम पूर्वानुमान जस्ता तत्काल सूचना स्थानीय एफएम, टेलिभिजन र पत्रिकामा प्रकाशित हुँदा मात्र नागरिकले तुरुन्त पाउँछन् । 

सरकारी माध्यममा मात्र सीमित गर्दा नागरिकको सूचनाको हक र छनोटको अधिकार खोसिने खतरा रहेको उनीहरूले औंल्याएका छन् । 

संविधानसभा सदस्य भण्डारीका अनुसार प्रदेश र स्थानीय सरकारलाई सूचना कहाँ दिने भनेर केन्द्र सरकारले निर्देशन दिन पाउने अधिकार नै छैन । 

भण्डारीले भने, ‘स्थानीय तहले आफ्नो सञ्चित कोषमा भएको पैसाले विज्ञापन दिने हो । 

सूचना पठाउने र त्यसबापत पैसा दिने हो भने त्यो पैसा कसलाई दिने, कति दिने, कसरी दिने, कुन माध्यमबाट दिने, कुन विधिबाट दिने भन्ने कुरा सम्बन्धित स्थानीय तह वा प्रदेश कानुनमा तोकिए अनुसार हुन्छ । 
प्रधानमन्त्री वा राष्ट्रपति कार्यालयको निर्देशन मान्न प्रदेश वा स्थानीय तह बाध्य छैन ।’ 

नेपाल पत्रकार महासंघले सरकारको यो निर्णयलाई ‘निजी सञ्चारमाध्यम र स्वतन्त्र पत्रकारिताको हितविरुद्ध’ ठहर गर्दै तत्काल फिर्ता लिन माग गरेको छ । 

महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी परिपत्रलाई ‘स्वतन्त्र पत्रकारितामाथिको प्रहार’ भनेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासँग भेटेर निर्णय खारेज गर्न माग गरे पनि सुनुवाइ नभएपछि दबाब अभियान थाल्ने निर्णय भएको बताए । 

महासंघले चैत २५ गतेदेखि पहिलो चरणको दबाब कार्यक्रम घोषणा गरेको छ । 

कार्यक्रम अनुसार २५ गते महासंघका पूर्वअध्यक्षहरू, २६ गते राष्ट्रिय दैनिक, साप्ताहिक र अनलाइनका सम्पादकहरू, २७ गते राजनीतिक दलका संसदीय दलका नेताहरूसँग भेटघाट र २८–२९ गते केन्द्रीय समिति बैठक हुनेछ । माग पूरा नभए थप कडा कार्यक्रम ल्याउने महासंघको चेतावनी छ ।

प्रदेश समिति र शाखाहरूले पनि समान कार्यक्रम सञ्चालन गर्ने छन् । 

निजी सञ्चारमाध्यमहरूले यो निर्णयलाई ‘आर्थिक नाकाबन्दी’ को संज्ञा दिएका छन् । 

वर्षौंदेखि सरकारी विज्ञापनबाट गुजारा चलाउँदै आएका साना तथा मध्यम स्तरका मिडियाको अस्तित्व नै संकटमा परेको तथा श्रमजीवी पत्रकारहरूको पारिश्रमिक र सुविधा प्रभावित हुने, रोजगारी गुम्ने र स्वतन्त्र पत्रकारिताको आवाज दबिने खतरा बढेको भन्दै महासंघले श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन सञ्चार गृहहरूसँग पनि अनुरोध गरेको छ । 

केन्द्रले प्रदेश र स्थानीय तहको कोषको खर्चमा हस्तक्षेप गर्न नपाउने कानुनी व्यवस्था रहेको निवर्तमान मन्त्री भण्डारी बताउँछन् । 

नागरिकले सूचना पाउने अधिकारलाई सरकारी माध्यममा मात्र सीमित गर्दा सूचनाको हकको प्रत्याभूति कसरी हुन्छ भन्ने प्रश्न उठेको उनको भनाइ छ । 

बालेन शाहको नेतृत्वमा रहेको सरकारले ‘मितव्ययिता’ को नाममा निजी क्षेत्रलाई पाखा लगाउने नीति ल्याए पनि यसले दीर्घकालीन रूपमा सरकारी माध्यमको गुणस्तर र प्रतिस्पर्धालाई समेत कमजोर बनाउने जोखिम रहेको महासंघको ठहर छ ।  

निजी मिडियाले गर्दा नै सूचना क्षेत्रमा विविधता, निगरानी र जवाफदेहिता कायम भएको उल्लेख गर्दै महासंघले त्यही विविधता गुम्ने र सूचना एकल स्वामित्वमा सीमित हुने खतरा देखिएको भनेको छ ।

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved