विराटनगर, २३ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिहीबार प्रदेश सभाका आठ जना सभा सदस्यहरूको प्रश्नहरूको सामना गरे । प्रश्नकर्ताहरूमध्ये एमालेबाट मन्त्रीसमेत भइसकेका प्रदेशसभा सदस्य बुद्विकुमार राजभण्डारीले सरकार गठन हुँदादेखि अहिलेको अवस्थासम्म आइपुग्दाको प्रसंग मिलाएर मुख्यमन्त्री कार्कीलाई प्रश्न गरे ।
राजभण्डारीले एमालेसँगको सहकार्यको बारेमा मुख्यमन्त्री कार्कीलाई प्रश्न राखेका थिए । उनले एमालेकै कारण कोशी प्रदेशको मुख्यमन्त्री बने पनि अहिले त्यसलाई बिर्सिएर मुख्यमन्त्री कार्की अघि बढेको बताएका थिए ।
विगतमा प्रदेश सभामा रहँदा एमालेप्रति गरेको कटाक्षदेखि एमालेकै सहयोगमा मुख्यमन्त्री बन्दाको अवस्थासम्मको घटना किन बिर्सिएको भन्दै राजभण्डारीले प्रश्न गरे । उनले मुख्यमन्त्री बन्दा टेकेको लौरो मुख्यमन्त्री बनिसकेपछि बिर्सिएको भन्दै कार्कीलाई व्यंग गरेका थिए ।
जवाफमा मुख्यमन्त्री कार्कीले पनि अहिलेसम्म एमालेसँगको सहकार्य कायमै रहेको जिकिर गरे । उनले बरु मन्त्री बन्न तयार भई दौरासुरुवाल सिलाएर आउन राजभण्डारीलाई आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले एमाले अहिले पनि सरकारमै रहेको दाबी गरे । एमाले आफै सत्तापक्षबाट प्रतिपक्षमा गएर बसेको पनि बताए ।
‘एमालेले अहिलेले पनि सरकारलाई समर्थन गरिरहेको छ, सरकार छोडेको छैन, एमाले आफै सत्तापक्षबाट प्रतिपक्षमा गएर बसेको जगजाहेर छ’ मुख्यमन्त्री कार्कीले जवाफमा भने, ‘खोलो तर्दा लौरो बिर्सेको छैन, सुरक्षित राखेको छ । तर लौरो भाँचिनु भएन, आत्तिएर आवेगमा नछुटिएको भए हुने थियो । मैले एमालेको मन्त्रीज्यूलाई निकालेको पनि होइन ।’
उनले एमालेसँगको सहकार्य नछाडेको स्पष्ट पारे । एमालेले भनेजस्तो केन्द्रको मुख ताक्ने अवस्था पनि नरहेको जिकिर गरे । केन्द्रमै मुख ताकेर अघि बढेको भए कोशीमा एमालेसँगको सम्बन्ध छाडेर गठबन्धनको मात्रै मन्त्रिमण्डल बनाउने अवस्था आफैले रोकेको बताए ।
आफूले अघिल्लो पटक एमालेकै मुख्यमन्त्रीले अघि सारेको एजेण्डालाई निरन्तरता दिनका लागि सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउन गठबन्धनमा रहेका दलहरूलाई पनि सरकारमा सहभागी गराएको प्रष्टीकरण दिए ।
‘गठबन्धन दललाई पनि लिएर आउँदा एमालेलाई त्यसमा छुवाछुत हुन्छ जस्तो मलाई लागेको थिएन, अहिले पनि छुवाछुतको भावना नराखीकन उतापट्टि (विपक्षी) को कुर्सीबाट यतापट्टि (सत्तापक्ष) आउन जहिले पनि खुल्ला छ’ मुख्यमन्त्री कार्कीले भने, ‘एमालेले नै हस्ताक्षर गरेर म मुख्यमन्त्री बनेको हो, त्यसकारण वहाँले मागेको मतमा जम्मै मत परेपछि मैले एमालेलाई छाडेको भन्न मिल्दैन, सम्मान गर्न म जहिले पनि तयार छु, माननीयज्यूहरू कतिको तयार हुनुहुन्छ ? दौरा सुरुवाल कतिको लगाउनुभएको छ ? दौरासुरुवाल सिलाएर आउन म आग्रह गर्दछु ।’
संविधानको धारा १६८ को उपधारा (५) अनुसार असोज २७ गते मुख्यमन्क्री नियुत्त भएका कार्कीले एमालेको आग्रहविपरीत कोशी प्रदेश सरकारमा सत्ता गठबन्धन दलसम्वद्ध नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्क्री नियुत्त गरिसकेका छन् ।
मुख्यमन्त्री कार्कीले सरकारमा माओवादी र नेकपा एसलाई सहभागी गराएपछि एमालेबाट सरकारमा रहेका विना बिभागीय मन्त्री राम रानाले राजीनामा दिइसकेका छन् ।
तर मुख्यमन्त्री कार्कीले भने दलहरूको एकताले नै कोशी प्रदेशको सम्मृद्धिको बाटो पहिल्याउने भन्दै आफू एमालेको एजेण्डामा हिंड्न पनि तयार रहेको बताएका हुन् । आफूले खोला तरेर लौरो बिर्सिएजस्तो एमालेलाई नबिर्सिएको उनले बताए ।
प्रश्नोक्तरका त्रममा मुख्यमन्त्री कार्कीले संघ सरकारले प्रदेशको अधिकार कब्जा गरेको दाबी गर्दै प्रदेशको अधिकार नआए सिंहदरबारमै धर्नामा बस्ने घोषणा गरेका छन् । उनले अधिकार नआए मुख्यमन्त्रीकै हैसियतमा धर्ना बस्ने बताए ।
संघीय सरकारले संविधानबमोजिमको अधिकार प्रदेशलाई नदिए आन्दोलनमा उत्रिने भन्दै बिहीबारमात्रै मधेस प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएकै दिन कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पनि अधिकार प्राप्तिका लागि धर्नामा बस्ने घोषणा गरे ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोम्बु शेर्पाले संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीअनुसारको कानून बनाउन संघ सरकारले प्रभावकारी काम गर्न नसकेको विषयमा मुख्यमन्त्री कार्कीको धारणा माग गरेका थिए ।
‘संघले तदारुकता नदेखाउँदा प्रदेश र स्थानीय तहमा धेरै समस्या भइरहेको छ, यसको समाधानका लागि तपाईको योजना के छ ? भन्ने शेर्पाको प्रश्नमा मुख्यमन्त्री कार्कीले भने, ‘संघीय सरकारले अधिकार कब्जा गरेर राखेको छ, छिट्टै अधिकार आएन भने वा वहाँहरूले तदारुकता देखाउनुभएन भने म आफै सिंहदरबारमा गएर मुख्यमन्त्रीको हिसाबले सिंहदरबारमै धर्ना दिन्छु ।’
मुख्यमन्त्री कार्कीले संघ सरकार प्रदेशलाई अधिकार हस्तान्तरण भन्दा सरकारहरू फेरबदल गर्ने र जोगाउने, प्रदेशलाई तुच्छ खालका गाली गर्ने, प्रदेशलाई गन्दै नगन्ने र प्रदेशसभामा सदस्यहरूको मर्यादा घटाउने काममा केन्द्रीत भएको आरोप लगाएका छन् ।
‘अहिले पनि संविधानअनुसारका अधिकार प्रत्यायोजन गर्ने र कानुन बनाउन ढिलाइ गरिरहनुभएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘कहिले प्रदेशका माननीयहरूलाई ओज घट्ने गरी मर्यादाक्रम बनाउने र कहिले प्रदेशलाई होच्याएर व्यवहार गर्ने काम भइरहेका छन् ।’
प्रदेश सरकारहरूले एकल अधिकार सूचीमा परेका विषयहरूमा संघीय सरकारले भन्दा धेरै कानुनहरू बनाएर कार्यान्वयन गरिरहेको उनले दाबी गरे । साथै संघीयता कार्यान्वयनका लागि संघ सरकारले प्रदेश र स्थानीय सरकारको अधिकार दिन नचाहेको आरोप लगाए । मुख्यमन्त्री कार्कीले प्रदेशको अधिकार छिट्टै प्रदेशमै ल्याउने अभियानमा लाग्ने घोषणा गर्दै त्यसका लागि प्रदेशसभाले समेत अनुमति दिनुपर्ने बताए ।
View : 174
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved