Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

हिजोआजका कार्यक्रम

खादा-माला, मायाको चिनो र आएजतिलाई अतिथि आसन

कार्यक्रममा समयमा नआउने अनि ढिलो आएर अरुका कुरा नसुन्दै आफू बोल्ने र अर्को कार्यक्रम छ भन्दै भागी हाल्ने जस्ता प्रवृत्तिको अन्त्य नभएसम्म कार्यक्रम कार्यक्रममै सीमित रहन्छ, हुनेवाला केही छैन ।
माधव अधिकारी
१५ पुष २०८१, सोमवार

पतञ्जली योग समिति नेपालका केन्द्रीय सहप्रभारी एवम् उत्प्रेरणात्मक वक्ता ललित शंकर योगीले उत्प्रेरणात्मक कार्यक्रममा बडो गज्जवले जीवनोपयोगी उर्जाशील प्रस्तुति गरे ।  त्यो कार्यक्रमको जम्मा समय थियो दुई घण्टाको । उनले भने, ‘यो दुई घण्टाको कार्यक्रममा यदि अतिथि आसन, खादा, माला, मायाको चिनो र भाषण गराइयो भने हामी मुल उद्देश्यमा पुग्न सक्दैनौं ।’

उनका भनाइअनुसार वा परम्परागत किसिमले त्यो कार्यक्रम गरिएको भए त्यहाँ कार्यक्रममा आएका दुई जना सांसदलाइ आसन ग्रहण गराउनैपथ्र्यो । त्यसपछि पतञ्जलीका प्रदेश, जिल्ला, महानगरका अध्यक्ष बोलाउनैपर्यो । त्यसपछि बिभिन्न क्षेत्रबाट आएका ब्यक्तिको नाम लिनैपर्यो । अनि सहयोगी वा दाताहरू भन्नैपर्यो अनि भाग नपुग्ने आफूलाई ठूलो मान्छे भन्नेको नाम लिनैपर्यो । । नाम लिन बिर्सियो भने कालो मुख लगाउने नै भए । अनि खादा, माला, भाषण र मायाको चिनो भनेर दिइने विदेशी पाप्रोको काम न काजको सामान  दिनुले सबै बर्बाद हुन्छ । 

यस्ता कार्यक्रम गरिदा छिटो छरितो गरिनु पर्नेमा उनले जोड दिए । उपहार दिदा पनि नेपाली उत्पादन, नेपालीपन झल्कने दिनु उपयुक्त हुने र सबै भन्दा राम्रो भनेको राम्रो पुस्तक, डायरी जस्ता सामानहरु दिनु उपयुक्त हुने सुझाए । पतञ्जली योग समिति मोरङ र महानगर समितिको संयुक्त आयोजनामा विराटनगरमा पुस १२देखि १४ सम्म आयोजित तीनदिने  योग तथा उत्प्रेरणात्मक कार्यक्रममा ललीत शंकर योगीको सुझाव मननीय थियो ।

अहिले गरिदै आएका बिभिन्न कार्यक्रमहरूमा असमानता भएको समेत उनले  चर्चा गरे । जस्तोकि  प्रमुख अतिथिलाई सबैभन्दा ठूलो माला, ठूलो मायाको चिनो बिशेष अतिथिलाई अलि सानो दिइन्छ । अनि अतिथिलाई सानो अझै भनौ तिहारमा कुकुरलाई लगाउने जस्तो माला लगाइन्छ भन्दै उनले ब्यंग्य गर्दै भने मान्छेमान्छेमा किन बिभेद गरिएको छ । मान्छे सबै समान होइन र ? मञ्चमा राखेर मान्छेको त्यसैगरी असमान व्यवहार गरिदै आएको देखिन्छ । 

हिजोआज काम भन्दा पनि ज्यादा देखावटी र यस्ता अनावश्यक तामझाम बढ्न थालेको भने पक्कै हो । निर्वाचनपछि गरिने कार्यक्रमहरू पनि तामझाम र खर्चालु र भद्दा हुने गरेका छन् ।  जेसीज, लाइन्स  जस्ता संस्थाहरूमा त झन यस्ता गति विधिहरू थप तामझामका साथ गरिएको पाइन्छ । खर्चालु कार्यक्रमले गर्दा  आर्थिक अवस्था कमजोर भएका  राम्रो मान्छेहरु अगाडि बढ्न नसक्ने देखिन्छ ।

सबैलाई भाग पुर्याएर गरिने अतिथि आसन, सबैले बोल्नैपर्ने अनि बोल्दा कार्यक्रममा उपस्थित भएका मान्छेलाई पट्यार लाग्दा पनि थाहा नपाउने, लामो समय बोल्ने, बिषय वस्तु भन्दा बाहिर गएर बोल्ने, जुनसुकै कार्यक्रम होस् राजनीति घुसाइ हाल्ने । कार्यक्रममा समयमा नआउने अनि ढिलो आएर अरुका कुरा नसुन्दै आफू बोल्ने र अर्को कार्यक्रम छ भन्दै भागी हाल्ने जस्ता प्रवृत्तिको अन्त्य नभएसम्म कार्यक्रम कार्यक्रममै सीमित रहन्छ, हुनेवाला केही छैन ।

नेपालमा गरिने धेरै कार्यक्रमहरूमा मुख्य अतिथिमा राजनीति क्षेत्रका व्यक्तिहरू बोलाइन्छ अनि उनीहरू प्रायः ढिलो आउने गर्नाले समय बर्बाद हुन्छ ।  आयोजकले कार्यक्रम तय गर्दा समयमा आउनका लागि आग्रह गर्नु पर्दछ । त्यसैले होला कतिपय कार्यक्रममा सहभागीहरू ढिलो आउने गरेको पनि पाइन्छ । छिटो गएर के गर्नु ? प्रमुख अतिथि नै ढिलो आउँछन् । हामी छिटो गएर के गर्नु भन्ने भनाइहरू पनि सुनिन्छन् ।

समयलाइ नचिन्नु हाम्रो देशमा मुख्य समस्या भएको छ । समयलाई नेपाली समय भन्दै हेप्नु । पैसालाई नेपाली हो चल्छ भन्दै जतन नगर्नु । सरसफाइमा नेपाल हो यहाँ कस्ले के गर्छ भन्दै मुखमा सुर्तीजन्य पदार्थ ओइ¥याएर बाटोमा खोल फ्याक्नु र  प्याच्च–प्याच्च भित्ता अनि सडकमा थुक्नु । मदिराजन्य पदार्थ जहाँ जतिबेर जहिले पनि बिक्री, सेवन गर्न र हल्ला पनि गर्न छुट दिनु जस्ता कार्यले हिजो बिहार बिग्रियो भनेर उदाहरण दिनेहरू आज बिहार सुिध्रयो तर नेपाल हिजोको बिहार भन्दा खत्तम त  हुँदै गएको छ कि, किन नभन्ने ? 

साधारणसभा, अधिवेशन, निर्वाचन, सभा–सम्मेलन, बैठकलगायतका विभिन्न कार्यक्रमहरू गर्दा  छरितो किसिमले गर्नुपर्नेमा अति भद्दा र पट्यारलाग्दो किसिमले हुने गरेका गुनासाहरू प्रशस्तै सुनिन र देखिनु स्वाभाविक भएको छ । यसरी भद्दा किसिमले कार्यक्रम गर्नाले समयको बर्बाद हुनुको साथै विषयबवस्तु  भन्दा पनि कार्यक्रमको मुल उद्देश्य ओझेलमा पर्ने निश्चित हुन्छ । त्यसैले अब कार्यक्रमको मूल उद्देश्यतिर जान सोचविचार गर्नुपर्ने देखिन्छ ।

View : 268

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved