Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

हिडपाली साइँलो : निष्ठाको पर्याय र आधुनिक मोतीराम

श्यामकुमार अधिकारीको परिचय ‘हिडपाली साइँलो’ मा रूपान्तरण हुनुको पछाडि उहाँले स्थापना गरेको संस्था ‘हिडपा साहित्यिक परिवार’ को मुख्य भूमिका छ।
१९ चैत २०८२, बिहिवार

Advertisement

– ब्युटी श्रेष्ठ

नेपाली साहित्य र समाजसेवाको आकाशमा केही यस्ता नक्षत्रहरू छन्, जो आफ्नै प्रकाशले धिपधिपाइरहेका हुन्छन्। तिनीहरू प्रचारका भोका हुँदैनन्, बरु कामको गहिराइमा विश्वास गर्छन्। यस्तै एक समर्पित व्यक्तित्वको नाम हो— श्यामकुमार अधिकारी, जसलाई संसारले ‘हिडपाली साइँलो’ को उपनामले चिन्दछ।

खोटाङको विकट गाउँबाट सुरु भएको उहाँको जीवन-यात्रा आज विराटनगरको साहित्यिक र सामाजिक आन्दोलनको एउटा बलियो खम्बा बनेको छ। ३५ वर्षभन्दा लामो समयदेखि उहाँलाई नजिकबाट चिन्नेहरू उहाँलाई ‘आधुनिक मोतीराम’ वा ‘निष्ठाको प्रतिमूर्ति’ भन्न रुचाउँछन्।

बाल्यकाल र शिक्षाको जग

वि.सं. २०१३ साल वैशाख १५ गते, खोटाङ जिल्लाको रावा डुम्रेकोट अन्तर्गत हिडपा गाउँमा एउटा बालकको जन्म भयो। पिता केशवप्रसाद र माता बच्छरादेवीको छैटौँ सन्तान तथा साहिँला छोराका रूपमा जन्मिएका श्यामकुमारको बाल्यकाल पहाडका उकाली-ओराली र ग्रामीण संघर्षमै बित्यो।

उहाँको प्रारम्भिक शिक्षा खोटाङकै कालिका विद्यालयमा भयो। तर, उच्च शिक्षाको तिर्खा मेट्न उहाँ तराई झर्नुभयो। विराटनगर आएपछि उहाँको संघर्ष झनै चुलियो।

दिनभरि काम गर्ने र रातको समयमा पढ्ने संकल्पका साथ उहाँले ‘जनता प्रौढ रात्री पाठशाला’ बाट एसएलसी उत्तीर्ण गर्नुभयो। त्यसपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट स्नातक तह पूरा गर्नुभएका अधिकारीको यो शैक्षिक यात्राले के पुष्टि गर्छ भने— इच्छाशक्ति भए अभावले मानिसलाई रोक्न सक्दैन।

'हिडपा साहित्यिक परिवार' र साहित्यिक क्रान्ति

श्यामकुमार अधिकारीको परिचय ‘हिडपाली साइँलो’ मा रूपान्तरण हुनुको पछाडि उहाँले स्थापना गरेको संस्था ‘हिडपा साहित्यिक परिवार’ को मुख्य भूमिका छ। २०३९ सालमा स्थापित सो संस्था विराटनगरको साहित्यिक इतिहासमा एउटा कोसेढुङ्गा साबित भयो।

यो संस्था केवल कविता वाचनमा सीमित रहेन। यसले विराटनगरका चोक-चोकमा राष्ट्रिय विभूतिहरूको प्रतिमा स्थापना गर्ने साहसिक कार्य गर्‍यो।

भानुभक्त आचार्य, मोतीराम भट्ट, भाषाशास्त्री महानन्द सापकोटा र कविशिरोमणि लेखनाथ पौड्यालका प्रतिमाहरू आज विराटनगरको शोभा बनेका छन् भने त्यसको जगमा हिडपाली साइँलोको पसिना छ। यी प्रतिमाका अगाडि जन्मजयन्ती मनाउने र साहित्यिक बहस छेड्ने परम्परा उहाँकै नेतृत्वले सुरु गरेको हो।

राष्ट्रकवि उपाधिको प्रस्तावक

नेपाली साहित्यका शिखर व्यक्तित्व माधवप्रसाद घिमिरेलाई आज हामी ‘राष्ट्रकवि’ भनेर गर्वका साथ पुकार्छौँ। तर, यो उपाधि दिलाउन पर्दा पछाडि बसेर कसले भूमिका खेल्यो? धेरैलाई थाहा नहुन सक्छ, यो हिडपाली साइँलो र उहाँको संस्था ‘हिडपा’ को देन हो।

घिमिरेलाई काठमाडौँमा रथारोहण गराउँदा पनि कुनै ठोस उपाधि नदिइएकोमा खिन्न हुनुभएका अधिकारीले ‘हिडपा’ मार्फत तीनवटा उपाधिहरू सुझाव स्वरूप सरकार र राजदरबारमा पठाउनुभयो।

सोही सुझावका आधारमा तत्कालीन सरकार र दरबारले ‘राष्ट्रकवि’ उपाधि अनुमोदन गर्‍यो। स्वयं घिमिरेले यस तथ्यलाई लिखित रूपमै स्वीकार गर्दै हिडपालीप्रति आभार व्यक्त गर्नुभएको छ।

प्रशासनभित्रको ‘ऋषि’ स्वभाव

श्यामकुमार अधिकारीले लामो समय सरकारी सेवामा, विशेष गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बिताउनुभयो।

निजामती सेवामा लाग्नेहरू प्रायः सुविधा र शक्तिको पछाडि कुद्छन्, तर अधिकारीको कार्यशैली बेग्लै थियो। उहाँले ‘भ्रष्टाचार शून्य’ र ‘पारदर्शी सेवा’ को एउटा यस्तो उदाहरण पेस गर्नुभयो, जुन आजका कर्मचारीहरूका लागि एउटा पाठशाला हुन सक्छ।

“मलाई सरकारले जनताको काम गर्न तलब दिएको छ, त्यसैले सेवा दिएबापत कसैको चिया खानु पनि अनैतिक हो” भन्ने उहाँको मान्यता थियो।

उहाँका समकालीनहरू भन्छन्— उहाँ कडा स्वरमा बोल्नुहुन्थ्यो, तर उहाँको हातबाट कहिल्यै कसैको काममा ढिलासुस्ती भएन। सेवाग्राहीको पैसाले चिया खानुको सट्टा आफैँले पैसा तिरेर सेवाग्राहीलाई चिया खुवाउने उहाँको उदारता आज पनि धेरैको मानसपटलमा ताजा छ।

सिर्जना, सम्पादन र नाट्य यात्रा

साहित्यका विभिन्न विधामा अधिकारीको दख्खल छ। उहाँ केवल एक संगठक मात्र हुनुहुन्न, एक कुशल सम्पादक र लेखक पनि हुनुहुन्छ।

२०३४ सालमा प्रमोद प्रधानसँग मिलेर ‘कनिका’ लघु-पत्रिका (हवाई पत्र) प्रकाशन गरेर उहाँले लघु-साहित्यको क्षेत्रमा क्रान्ति गर्नुभयो। उहाँले ‘चुचेढुङ्गो साप्ताहिक’, ‘खोक्सेली दैनिक’ र हिडपाका मुखपत्रहरू जस्तै ‘आकस्मिकता’, ‘पूर्णता’, र ‘करवीर’ को सम्पादन गर्नुभएको छ।

नाट्य विधामा पनि उहाँको योगदान अतुलनीय छ। उहाँले ११ वटा सामाजिक नाटकहरू लेख्नुभएको छ र ती सबैमा आफैँले अभिनय पनि गर्नुभएको छ।

२०६२ सालमा प्रकाशित उहाँको कविता संग्रहले उहाँको दार्शनिक र सामाजिक चेतलाई प्रस्ट्याउँछ।

दानवीर र परोपकारी मन

अधिकारीको अर्को पाटो भनेको उहाँको ‘दानवीर’ छवि हो। उहाँसँग अथाह सम्पत्ति भएर दान गर्नुभएको होइन, बरु आफ्नो गाँस काटेर र ऋण बोकेर पनि अरूलाई सहयोग गर्ने उहाँको स्वभाव छ।

उहाँले आफ्नै पैतृक सम्पत्ति र पारिश्रमिकबाट खोटाङको देउराली माविमा ‘गौरीनाथ’ र ‘दमयन्ता देवी’ शिक्षा पुरस्कार स्थापना गर्नुभएको छ।

त्यस्तै, महेन्द्र मोरङ क्याम्पसमा ‘नन्द–विन्द’ र ‘विराट–शान्ति’ शिक्षण शुल्क सहयोग कोष खडा गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षाको उज्यालो बाँड्दै आउनुभएको छ। आफू सामान्य जीवन व्यतीत गर्ने तर अरूका लागि अक्षयकोष खडा गर्ने उहाँको यो त्याग विरलै देख्न पाइन्छ।

राष्ट्रिय ऋण फर्छ्र्यौटको ‘पागलपन’

२०५४ सालको एउटा रोचक प्रसङ्ग छ। देश वैदेशिक ऋणको बोझले थिचिएको कुराले अधिकारीलाई निकै पिरोल्थ्यो। उहाँले एउटा अद्भुत प्रस्ताव अघि सार्नुभयो— ‘नेपाल राष्ट्र ऋण फछ्र्यौट कोष’। उहाँले आफ्नै व्यक्तिगत बचतबाट केही रकमको बैंक ड्राफ्टसहित सरकार र दरबारमा पठाउनुभयो।

सुरुमा धेरैले यसलाई ‘एउटा सानो मान्छेको ठूलो कुरा’ वा ‘पागलपन’ भनेर टिप्पणी गरे। तर, उहाँको यो राष्ट्रप्रेमको ज्वालालाई २७ जना प्रबुद्ध बुद्धिजीवीहरूले साथ दिए र उहाँलाई ‘विश्व नागरिक’ को उपमा दिए। दरबारबाट उहाँको थैली फिर्ता त आयो, तर उहाँले देशप्रतिको आफ्नो चिन्तालाई इतिहासमा सुनौलो अक्षरले लेखाइदिनुभयो।

सम्मान र पदकहरूको ओइरो

उहाँको ५३ वर्ष लामो सामाजिक र साहित्यिक यात्राले दर्जनौँ सम्मान र पदकहरू पाएको छ। २०४५ सालमा ‘दैवीप्रकोप पीडितोद्धार पदक’ देखि ‘युवा साहित्य रत्न’, ‘भानु पदक’, र ‘उत्कृष्ट वक्ता’ जस्ता मान-पदवीहरूले उहाँलाई विभूषित गरिएको छ।

साहित्यकार भवानीप्रसाद घिमिरेले उहाँलाई ‘पूर्वको मोतीराम’ भन्नु उहाँको सक्रियता र समर्पणको सबैभन्दा ठूलो कदर थियो।

 

अन्त्यमा,  हिडपाली साइँलोको उमेरले नेटो काट्दै गर्दा पनि उहाँको जोस-जाँगरमा कुनै कमी आएको छैन। हिजो साइकल चढेर विराटनगरका गल्ली चहार्ने उहाँ आज लौरोको सहारामा भेटिनुहुन्छ, तर उहाँको गन्तव्य अझै रोकिएको छैन।

हाल उहाँ खिड्सिने अधिकारी विन्ध्यवासिनी सेवा समाज, हिडपा साहित्यिक परिवार र अणुव्रत समितिको अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ।

श्यामकुमार अधिकारी ‘हिडपाली साइँलो’ केवल एक व्यक्ति हुनुहुन्न, उहाँ एउटा संस्था हो। उहाँको जीवनले सिकाउँछ कि पदले मानिस ठूलो हुँदैन, विचार र कर्मले हुन्छ।

खोटाङको हिडपा गाउँदेखि विराटनगरको साहित्यिक मञ्चसम्मको उहाँको यात्रा आगामी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ। निष्ठाको यो लौरो कहिल्यै नभाँचियोस्, सिर्जनाको यो मूल कहिल्यै नसुकोस्।


(यो लेख २०८१ असार १५ मा सीता–बालमुकुन्द पोखरेल प्रतिष्ठानद्वारा आयोजित सम्मान समारोहमा प्रस्तुत तथ्यहरूमा आधारित छ।)

View : 404

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved