आगजनीबाट ध्वस्त पारिएको होटल परिसरमा गत बुधबार विश्वकर्मा पूजा गरेपछि कर्मचारीहरूलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गर्दै होटल सञ्चालक भोलेश्वर दुलाल । तस्वीर : होटल नेपालीरिका
विराटनगर । जेनजी प्रदर्शनका नामका सरकारी सम्पत्ति मात्रै निसानामा परेनन्, स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोच अघि बढाउँदै दशकौं देखिको मेहनतबाट खडा गरिएका उद्योग धन्दामा समेत भदौ २४ मा सडकमा देखिएका प्रदर्शनकारीले छाडेनन् ।
जेनजी प्रदर्शनकारीका नाममा उद्योगी भोलेश्वर दुलालले मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा सञ्चालन गरिरहेको नेपालीरिका होटल हल्लाकै भरमा तोडफोड र आगजनी हुँदा अधिकांश भाग जलेर ध्वस्त बनेको छ ।
चेन होटलका रुपमा उद्यमी दुलालले स्थापना गरेको नेपालीरिकाको व्यवसायिक ख्याती विस्तार हुँदै गएको थियो । तर, जेनजी प्रदर्शनका क्रममा उक्त होटलमा तोडफोड, आगजनी र लुटपाट गरिएको हो ।
दुलाल ६ महिनाको हुँदा नै उनले बुवाको अनुहार देख्न पाएनन् । शिशु अवस्थामा बुवा गुमाएपछि आमाको भरणपोषणमा हुर्किएका दुलालले आफ्नो ३२ बर्षको अथक मेहनत र परिश्रमले विराटचोकमा यो होटल निर्माण गरेका थिए ।
उनलाई विदेशिएका आफ्ना छोरा आकाश दुलालले ‘विदेशमै लगानी गरौं र विदेशमै व्यवसाय गरौं’ भन्दै आग्रह गरिरहन्थे । तर, भोलेश्वर भने छोरा आकाशलाई ‘जे गर्ने हो यही देशमा गर्ने हो, यही ठाउँमा गर्नुपर्छ’ भनिरहन्थे ।
बुवाले पसिना खर्चिएर उभ्याएको नेपारिकामा भदौ २४ का प्रदर्शनकारीको नाममा दनदनी बलेपछि आकाशले सामाजिक सञ्जालमा भावुक हुँदै लेखे– ‘मेरो बुवाको ३२ वर्षको अथक मेहनत, परिश्रम, लगाव र रगतको थोपा थोपाले सिञ्चित थियो नेपालीरिका होटल । जसलाई बुवाले सुन्दरहरैंचाको धरोहरको रूपमा यसलाई निर्माण गर्नुभयो, हरेकपल्ट म बुवालाई विदेशमा लगानी गर्ने र विदेशमै व्यवसाय गर्नुपर्छ भन्ने गर्थें । जहाँ हामी सुरक्षित व्यवसाय गर्न सक्छौं भन्थें । तर, हरेकपल्ट बुवाले ‘जे गर्ने हो यही देशमा गर्ने हो, यही ठाउँमा गर्नुपर्छ’ भनिरहनु भयो र बुवाले म जेन–जी युवा पुस्तालाई यो हस्तान्तरण गरेर यसलाई चलाउने र अगाडि बढाउने जिम्मा दिनुभयो ।’
व्यवसायिक कामकै लागि अमेरिकामा रहेका आकाशले विकासको क्रममा रहेको सुन्दरहरैंचाकै शानका रुपमा होटल केवल एउटा भौतिक संरचनाको रुपमा मात्रै नभई सवैको गौरव अडेको संरचना भएपनि त्यसलाई आन्दोलनका नाममा हेर्दाहेर्दै जलाएर खरानी पारिएको गुनासो गरे ।
चेन होटलका रुपमा सञ्चालित नेपालीरिकाले एक हजार जनालाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिंदै आएको थियो । कमाएको नाफाबाट सरकारलाई पारदर्शी रुपमा कर तिरिरह्यो ।
कमाएको हिस्साबाटै समाजका लागि समेत लगानी गरेर सुन्दरहरैंचाको विकासमा जुटेका बुवा भोलेश्वरको विश्वासलाई अब आफूले खरानी उठाएरै फेरि उठाउने उनले प्रतिवद्धता जनाएका छन् ।
‘यहाँको इँटा, माटो, ढुंगा, सामानहरू मात्र जलेन । एउटा उद्योगीको विश्वास, व्यवसायीको निष्ठा, समाजको विकास, प्रत्येक कर्मचारीको भरोसा र मेरो जो म आफूलाई जेनजी भन्छु, सपना सबै जलिरह्यो’ आकाशको गुनासो थियो, ‘जेनजीको आन्दोलन भ्रष्टाचारविरुद्ध र अहिलेका यावत समस्याका विरुद्ध थियो, न कि कसैको परिश्रम र प्रगतिको मेहनत र इमान्दारिताको विरुद्धमा थियो । तर, त्यहाँ सकारात्मक विचार दृढ सोच, मेहनत, परिश्रममा तपाईंहरूले परेड खेलिरहनु भयो । देश र समाजलाई दिनुपर्छ, आफू मात्र बनेर हुँदैन भन्ने पवित्र विचारमा तपाईंहरूले आगोको ज्वालामुखी विस्फोटन गराउनु भो । सबैजना हेरिरहनु भयो ।’
‘नेता बसेको हल्ला चलाइयो’
आगजनीबाट नेपालीरिका होटलका ६० वटा बढी कोठा, भिल्ला, सेमिनार हल, फ्रन्ट डेस्क लगायत पूर्ण रुपमा जलेका छन् ।
जेनजी आन्दोलन चर्किएपछि केही स्थानीय व्यक्तिले नै नेपालीरिकामा कांग्रेस–एमालेका स्थानीय नेताहरू लुकेर बसेको हल्ला चलाएका थिए ।
आन्दोलनको नाममा सरकारी सम्पत्ति तोडफोडमा उद्दत रहेका व्यक्तिहरूले त्यही हल्लाको भरमा होटलमा प्रवेश गरेर अन्धाधुन्ध आगजनी गरेका थिए ।
होहल्ला र तोडफोड गर्दै प्रवेश गरेको समूहले होटलमा बसेका पाहुनालाई समेत दुव्यर्वहार गरी उनीहरुका सरसामान लुटपाट गरेको सञ्चालक भोलेश्वर दुलालले बताए ।
‘आन्दोलनकारीका नाममा अराजक समूहको आगजनीबाट होटल क्षतबिक्षत बनेको छ, विराटचोकको विकास नहोस् भन्नेहरूले षडयन्त्रपूर्वक यो घटना गराएका छन्’ दुलालले भने, ‘अहिले पनि वास्तविक क्षतिको विवरण आइसकेको छैन, तर कम्तिमा पनि ३५ करोड बढीको क्षति भएको अनुमान गर्न सकिन्छ ।’
नेपालीरिकाले हाल विराटचोक र दमकमा होटल सञ्चालन गर्दै आएको छ । दुई बर्षभित्र कोशी प्रदेशकै नयाँ गन्तव्यमा तीनवटा होटल सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा आगजनीले आपूmहरूलाई मर्माहत बनाएको बताए ।
उनले यस्तो विषम अवस्थामा पनि होटलमा कार्यरत कुनैपनि कर्मचारीले जागिर भने गुमाउनु नपर्ने घोषणा गरेका छन् ।
होटलमा ठूलो क्षति पुगेपनि कार्यरत सवै कर्मचारीहरूको रोजगारी सुरक्षित रहने र यस बर्षको दशैं बोनससमेत पाउने बताएका हुन् ।
होटलका कर्मचारीले पाहुनाहरूलाई सुरक्षित रुपमा बाहिर निकाल्न कर्मचारीहरूले ठूलो सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् ।
लुटिएका सामान फिर्ता गर्न आग्रह
यसैबीच, होटलमा तोडफोड र आगजनीकै क्रममा लुटपाटसमेत भएको पाइएको छ ।
होटलका प्रबन्ध निर्देशक आकाश दुलालले अवाञ्छित समूहले लुटपाट गरेको र उनीहरूको भिडियो र फोटो सार्वजनिक गर्ने क्रम जारी राखेका छन् ।
आन्दोलनका क्रममा होटलमा भएका लुटपाटमा संलग्न जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउने काम भइरहेको बताए ।
लुटपाटमा संलग्न व्यक्तिहरूलाई लुटिएका सामग्री चाँडो होटललाई नै फिर्ता गर्न आग्रह गरिएको उनले बताए ।
लुटिएका सामान फिर्ता नगर्नेहरूको पहिचान भइरहेकोले होटलको तर्फबाट प्रहरीमा समेत उजुरी दिइसकेको उनले जानकारी दिए ।
View : 413
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved