Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

धरानमा विमानस्थल निर्माणका लागि पुनः अध्ययन सुरु

उद्घोष सम्वाददाता
२१ मंसिर २०८०, बिहिवार

सुनसरी,२१ मंसिर : धरानमा विमानस्थल निर्माणका लागि पुनः स्थलगत अध्ययन सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली र नगरप्रमुख हर्क साम्पाङ सहित बिहीबार बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो ।

बुधबार धरान आइपुगेको टोलीले उपमहानगरपालिकामा छलफल गरेपश्चात बिहीबार स्थलगत अध्ययन सुरु गरेको हो । यसअघि टोलीले बुधवार मेयर साम्पाङलाई २०७४ सालको अध्ययन प्रतिवेदनको समेत जानकारी गराएको थियो ।

उक्त प्रतिवेदनअनुसार निःशुल्क जग्गा उपलब्ध गराउन नसक्दा बन्न नसकेको एयरपोर्ट अब बनाउँदा पुरानै निःशुल्क जग्गा चाहिने हिसाब सहित सरकारको हवाइ नीतिभित्र पर्नुपर्ने कुरामा टोलीले ध्यानाकर्षण गराएको थियो ।

प्राधिकरणले २०७२ सालमा ४२ सिटे जहाजको लागि सबै अध्ययन पूरा गरी डिजाइन समेत सार्वजनिक गरेको थियो । ४२ सिटे जहाजका लागि ९३ बिघा जग्गा निःशुल्क उपलब्ध गराउनुपर्ने प्रक्रिया प्राधिकरणले अघि बढाएको थियो ।

जग्गा अपुग हुने र अन्य जग्गा थप नहुँदा र दुवै परिमाणको जग्गा प्राधिकरणको स्वामित्वमा उपलब्ध गराउन नसक्दा एयरपोर्ट बन्न सकेको थिएन । एयरपोर्ट बनाउन १७ सिटे जहाजको लागि ७ बिघा, ४२ सिटेको लागि ४६ बिघा र ७२ सिटेको लागि ९३ बिघा जग्गा आवश्यक हुन्छ ।

प्राधिकरणकले नेपालमा अहिले साना जहाज नभएकाले न्यूनतम ७२ सिटे जहाजको सम्भावना भएका ठाउँमा मात्र एयरपोर्ट बनाउने नीति लिएको छ । मेयर साम्पाङ सहित पुगेको अध्ययन टोलीलाई आक्रोशित स्थानीय बासिन्दाले घेराउ गरेका थिए । उनीहरूले एयरपोर्ट बन्छ भन्दै जनतालाई झुक्क्याउने मात्र होइन, नबन्ने भए घर नक्सा पासका लागि सिफारिस गर्न माग गर्दै घेराउ गरे ।

त्यसबाहेक धरानमा एयरपोर्ट नेपालको पछिल्लो हवाइ नीति अनुकूल हुनुपर्नेमा पनि प्राधिकरणको टोलीले मेयर साम्पाङलाई ध्यानाकर्षण गराएको टोली संयोजक तथा प्राधिकरण प्रबन्धक नलविक्रम थापाले बताए ।

थापाका अनुसार हवाइ नीति, २०६३ को बुँदा ५ को ७.१ मा निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दूरी हिमाली र पहाडी क्षेत्रमा साधरणतया २० नटिकल माइल र तराइ तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ ।

टोलीका वरिष्ठ कानुन अधिकृत विमल खनालका अनुसार एक नटिकल माइलमा १ दशमलव ८५ किलोमिटर हुन्छ । ४० नटिकल माइल भनेको ७४ किलोमिटर दूरी हो । विराटनगर विमानस्थलबाट धरान ४० किलोमिटर दुरीको मात्र फरक रहेको छ ।

View : 205

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved