वैशाख ९ गते नेपाली कम्युनिष्ट आन्दोलनका लागि केवल एउटा औपचारिक स्थापना दिवस मात्र होइन, बरु यो गहिरो ऐतिहासिक चेतना बोकेको दिन हो। यो विगतको गौरव सम्झने, वर्तमानको यथार्थ मूल्याङ्कन गर्ने र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने अवसर पनि हो ।
यसले आन्दोलनलाई आत्मसमीक्षा गर्न, कमजोरी पहिचान गर्न र सुधारको दिशामा अगाडि बढ्न प्रेरणा दिन्छ ।
२००६ साल वैशाख ९ गते (सन् १९४९ अप्रिल २२) कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो। उहाँसँगै नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठजस्ता अग्रजहरूले यस ऐतिहासिक अभियानको सूत्रपात गर्नुभयो ।
त्यो समय नेपालको सामाजिक, आर्थिक र राजनीतिक अवस्था अत्यन्तै जटिल थियो ।
देश सामन्ती संरचनामा जकडिएको थियो, जहाँ सीमित वर्गले राज्यसत्ता र स्रोतसाधनमा नियन्त्रण राखेका थिए भने बहुसंख्यक जनता गरिबी, अशिक्षा र शोषणको चक्रमा पिल्सिएका थिए ।
यस्तो पृष्ठभूमिमा कम्युनिष्ट पार्टीको स्थापना हुनु केवल एउटा राजनीतिक संगठनको जन्म मात्र थिएन, यो त सामाजिक न्याय, समानता र मुक्तिका लागि वैचारिक आन्दोलनको प्रस्थानबिन्दु थियो ।
श्रमजीवी वर्ग, किसान, मजदुर र उत्पीडित समुदायलाई संगठित गर्दै अन्याय र शोषणविरुद्ध संघर्ष गर्ने लक्ष्यका साथ यो आन्दोलन अघि बढेको थियो। त्यसैले यसको आधार केवल राजनीति नभई जनताको जीवनसँग प्रगाढ रूपमा जोडिएको थियो ।
तर, विगत ७६ वर्षको यात्रालाई हेर्दा नेपाली कम्युनिष्ट आन्दोलन सधैँ सरल रेखामा अघि बढेको देखिँदैन। यो यात्रा संघर्ष, विभाजन, एकता, पुनर्गठन र पुनः विभाजनको आरोह-अवरोहले भरिएको छ ।
कहिले आन्दोलनले अभूतपूर्व उचाइ हासिल गरेको छ भने कहिले आन्तरिक द्वन्द्व, वैचारिक अस्पष्टता र नेतृत्वगत कमजोरीका कारण रक्षात्मक बनेको छ ।
यसले के प्रष्ट पार्छ भने कुनै पनि आन्दोलनलाई निरन्तर सुदृढ राख्न आत्मसमीक्षा र सुधार अपरिहार्य हुन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई विभिन्न वैचारिक धाराले दिशाबोध गराएका छन्। पुष्पलालको क्रान्तिकारी सोचले आन्दोलनको प्रारम्भिक आधार तयार गर्यो ।
मनमोहन अधिकारीले जनमुखी शासनको अभ्यासमार्फत कम्युनिष्ट विचारलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नुभयो। त्यसैगरी, मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' (जबज) को अवधारणा प्रस्तुत गर्दै आन्दोलनलाई नयाँ मोड दिनुभयो ।
यी सबै धाराहरूले फरक-फरक कालखण्डमा आन्दोलनलाई मार्गदर्शन गरेका छन् ।
विशेषगरी जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धाको मार्गमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ ।
यसले बहुदलीय प्रणालीभित्रै रहेर समाजवादको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने नवीन सन्देश दियो। यस अवधारणाले एकातिर उग्र-वामपन्थी सोचलाई सन्तुलित गर्यो भने अर्कोतिर लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्दै नयाँ राजनीतिक बहसको थालनी गर्यो ।
तर, आज एउटा गम्भीर प्रश्न उब्जिएको छ– के जबजको वास्तविक मर्मलाई सही रूपमा बुझिएको छ ? के यसलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गरिएको छ? वा यो केवल भाषण र नारामा मात्र सीमित छ ? जब विचार र व्यवहारबीचको खाडल बढ्दै जान्छ, तब आन्दोलनको वैचारिक धरातल कमजोर हुन्छ । आज यही समस्या टड्कारो रूपमा देखिएको छ ।
पछिल्ला वर्षहरूमा नेपाली कम्युनिष्ट आन्दोलनले अनेकौँ चुनौतीहरूको सामना गरिरहेको छ। चुनावी परिणाममा आएको गिरावट, जनतासँगको बढ्दो दूरी, संगठनभित्रको कमजोर अनुशासन र नेतृत्वप्रतिको ह्रासोन्मुख विश्वास जस्ता समस्याले आन्दोलनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
जनताको भरोसा गुम्दै जाँदा कुनै पनि राजनीतिक शक्ति दीर्घकालीन रूपमा टिक्न सक्दैन ।
सबैभन्दा ठूलो चुनौती जनतासँगको टुट्दो सम्बन्ध हो। जुन वर्गको प्रतिनिधित्व गर्न कम्युनिष्ट आन्दोलनको जन्म भएको थियो, आज त्यही वर्गसँग यसको सम्बन्ध निकै फितलो देखिन्छ। मजदुर, किसान र श्रमजीवी वर्गका मुद्दाहरू ओझेलमा पर्नु र जनताका दैनिक समस्यासँग राजनीति जोडिन नसक्नुले आन्दोलनलाई जनस्तरबाट टाढा धकेल्दै छ ।
यसका साथै संगठनभित्र मौलाएको गुटगत राजनीति, व्यक्तिगत स्वार्थ र शक्ति संघर्षले पनि आन्दोलनलाई जर्जर बनाएको छ । विचारभन्दा व्यक्ति केन्द्रित राजनीति हावी हुँदा वैचारिक एकता खण्डित हुन्छ, जसले संगठनलाई दिशाहीन बनाउने खतरा रहन्छ ।
यदि सिद्धान्तभन्दा सत्ता र व्यक्तिलाई प्राथमिकता दिइयो भने आन्दोलनको मूल उद्देश्य नै समाप्त हुन सक्छ ।
यस्तो अवस्थामा गम्भीर आत्मसमीक्षा अपरिहार्य छ। आन्दोलन कहाँ चुक्यो? नीति निर्माणमा कमजोरी भयो कि कार्यान्वयनमा ? नेतृत्वले सही दिशा दिन सकेन कि कार्यकर्ताले जनताको भावना बुझ्न सकेनन् ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु आजको आवश्यकता हो। बिना आत्मालोचना सुधार सम्भव छैन ।
राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन भन्ने कुरा पुनः स्मरण गर्न जरुरी छ । राजनीति त जनताको जीवनस्तर सुधार गर्ने महान् साधन हो । यदि सत्ता प्राप्ति मात्रै अन्तिम लक्ष्य बन्यो भने विचार निष्प्रभावी हुन्छ र नैतिकता हराउँछ । यही कारणले आज आन्दोलनले आफ्नो नैतिक आधार गुमाउँदै गएको आभास हुन्छ ।
अबको परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता छ । संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्छ र वैचारिक स्पष्टता कायम गर्नुपर्छ। जबज जस्ता अवधारणालाई केवल ऐतिहासिक दस्तावेजका रूपमा मात्र होइन, वर्तमान सन्दर्भमा प्रयोग गर्न सकिने जीवन्त मार्गदर्शनका रूपमा व्याख्या गरिनुपर्छ ।
नेतृत्वले विगतका कमजोरीहरू स्वीकार गर्दै सुधारको ढोका खोल्नुपर्छ । आत्मालोचना गर्ने संस्कारको विकास हुनुपर्छ। कार्यकर्ताले पनि आफ्नो आचरणमा परिवर्तन ल्याउँदै जनताको घरदैलोमा पुग्नुपर्छ। जनताको विश्वास पुनः आर्जन नगरेसम्म कुनै पनि आन्दोलन सफल हुन सक्दैन ।
संगठनलाई जनमुखी बनाउन नीति निर्माणदेखि कार्यान्वयनसम्म जनताको सहभागिता सुनिश्चित गरिनुपर्छ। निर्णय प्रक्रिया पारदर्शी र जवाफदेही हुनुपर्छ ।
गुटगत स्वार्थ त्यागेर वैचारिक एकतालाई मजबुत बनाउनुपर्छ। यसले मात्र संगठनलाई शक्ति प्रदान गर्दछ ।
कम्युनिष्ट आन्दोलनको वास्तविक सामथ्र्य यसको विचार र जनसम्बन्धमा निहित हुन्छ। पछिल्ला निर्वाचनका परिणामहरूले प्रष्ट संकेत गरेका छन् कि जनता अब केवल इतिहासको व्याज खाएर बस्नेहरूलाई साथ दिँदैनन्; उनीहरू वर्तमानको कार्यसम्पादन र ठोस परिणामको आधारमा मूल्याङ्कन गर्छन्। नाराले होइन, व्यवहार र उपलब्धिले मात्रै जनताको मन जित्न सकिन्छ ।
कम्युनिष्ट आन्दोलनको भविष्य यसको पुनर्जागरणमा निर्भर छ। पुनर्जागरण भनेको संगठनात्मक हेरफेर मात्र होइन, यो वैचारिक पुनर्निर्माण पनि हो । समयको पदचापअनुसार विचारलाई परिमार्जन गर्दै व्यवहारमा उतार्न नसके आन्दोलन इतिहासको पानामा मात्र सीमित हुने खतरा रहन्छ ।
अन्ततः वैशाख ९ गते केवल उत्सव मनाउने दिन मात्र होइन, यो एउटा गम्भीर चेतावनी पनि हो। हामीले संस्थापकहरूले देखेका सपना कति पूरा गर्यौँ ?
उनीहरूको उद्देश्यअनुसार समाज परिवर्तन भयो कि भएन? यदि भएको छैन भने त्यसका बाधक तत्व के हुन् ?
अबको बाटो स्पष्ट छ: आत्मालोचना, सुधार, पारदर्शिता, जनमुखी राजनीति र वैचारिक स्पष्टता । यी आधारस्तम्भ बिना कुनै पनि आन्दोलन दिगो हुन सक्दैन ।
त्यसैले वैशाख ९ लाई केवल सम्झनाको दिन मात्र नबनाई, नयाँ संकल्पका साथ अघि बढ्ने प्रस्थानबिन्दु बनाउनु आवश्यक छ ।
View : 160
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved