विराटनगर । गठबन्धन फेरिएर केन्द्रदेखि प्रदेशसम्म विपक्षमा पुग्ने निश्चित भइसक्दा पनि कोशी प्रदेश सरकारमा टाँसिइरहने माओवादी मन्त्रीहरूको लोभप्रति पार्टीभित्रै तीव्र असन्तोष सुरु भएको छ । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री पदबाट मुक्त भइसकेका छन् । संघसहित सात वटै प्रदेशमा विपक्षमा पुग्ने निश्चित भइसक्दा पनि कोशीमा ‘मुख्यमन्त्रीले राजीनामा नै नमागेको’ भन्दै माओवादी मन्त्रीहरू सरकारमा बसिरहेका छन् ।
उल्टै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘सरकारमा बसिरहन भनेको, ‘प्रदेशमा सहमतिको सरकार बन्ने सम्भावना भएको’ भन्दै उनीहरु सरकारमा बसाइ लम्बिने लोभ गर्दै मुख मिठ्याइरहेका छन् ।
गएको वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित माओवादीका चार जना सहभागी छन् । अहिले भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बहादुर मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र बन्दना झाागर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा छन् । मन्त्रीहरूले सरकारमा बस्न देखाइरहेको यो लोभले पार्टीका नेता तथा सांसदहरुलाई असन्तुष्ट तुल्याएको हो ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका, प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईं संघ र अन्य प्रदेशमा जस्तै कोशीमा पनि माओवादी विपक्षमा बस्ने र विपक्षमा जान ढिला नगर्ने बताउँछन् ।
‘कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेलगत्तै हामीले कोशीमा सरकार छाड्नुपर्थ्यो’, चापागाईंले भने ‘अब हामी संघ र अन्य प्रदेशमा झैं कोशीमा पनि सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिकामा हुनेछौं ।’
आफ्नै दलका मन्त्रीहरूले भने जस्तो कोशीमा ‘सहमतिमा आधारित सर्वदलीय सरकार’ को कुनै सम्भावना नभएको बताउँदै कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउनकै लागि मुख्यमन्त्री कार्कीले ‘माओवादी कार्ड खेलिरहेको’ पनि चापागाइँको भनाइ छ ।
उनले भने ‘हिक्मतकुमार कार्कीले चाहादैमा प्रदेशमा सर्वदलीय वा सहमतिको सरकार बन्ने सम्भावना छैन, बन्दैन । उनले कांग्रेससाग मन्त्रालय र संवैधानिक भागवन्डामा आफू हाबी हुन माओवादी कार्ड खेलिरहेका छन् । हाम्रो पार्टी यो खेलमा प्रयोग हुन सक्दैन, हुँदैन ।’
त्यसो त यसपटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन काँध थापिदिएको संघीय संसद्को सबैभन्दा ठूलो दल कांग्रेस आफै पनि प्रदेशमा ‘सहमतिको सरकार’ का पक्षमा छैन । कोशी सरकारमा सहभागी हुने तयारीमा रहेको कााग्रेस नेताहरु प्रदेशमा सहमतिको सरकारको कुनै सम्भावना नभएको बताउँछन् । कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने ‘केन्द्रमा जे सहमति भयो, प्रदेशमा त्यही अनुसार हुने हो । अन्यथा हुने कुनै सम्भावना छैन ।’
माओवादी नेता चापागाईंकै भनाइ अनुसार ‘माओवादी कार्ड खेलेर अबको नयाँ सहयात्री काँग्रेस सामु बार्गेनिङ पावर बढाउन खोजिरहेका’ मुख्यमन्त्री कार्कीले आफै परिस्थिति बुझेर माओवादी सरकारबाट बाहिरिनु पर्ने प्रष्ट सन्देश दिइसकेका छन् ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीदेखि मुख्यमन्त्री कार्की निकट एमाले सांसद बुद्धिकुमार राजभण्डारीसम्मले यसको पुष्टि गरिसकेका छन् । प्रमुख सचेतक भण्डारीले ‘बदलिएको परिस्थिति बुझेर माओवादी मन्त्रीहरूले आफै राजीनामा दिने सन्देश मुख्यमन्त्रीले दिइसकेको’ बताइसकेका छन् । एमालेकै अरु सांसदहरुले पनि माओवादीले कोशीमा अनावश्यक सत्तालोभ देखाएको भन्दै बारम्बार कटाक्ष नै गरिसकेका छन् ।
‘यिनै माओवादी माननीयहरू नै होइनन्, पोहोर बजेट ल्याउने बेलामा गठबन्धन फेरियो भन्दै हिक्मत कार्की नेतृत्वको सरकार छाड्ने ?’, प्रदेशका पूर्वमन्त्री एवम् एमालेका सांसद् बुद्धिकुमार राजभण्डारीले भने ‘पोहोर गठबन्धन फेरियो भन्दै बजेट ल्याउने बेलामा सरकार छाड्ने माओवादी अहिले कुन नैतिकताका आधारमा सरकारमा बसिरहेको हो ? मैले बुझ्न सकेको छैन ।’
मुख्यमन्त्री कार्की निकट सांसद राजभण्डारीका अनुसार मुख्यमन्त्रीका तर्फबाट आफै राजीनामा दिएर हिंड्नु भन्ने सन्देश माओवादी मन्त्रीहरूसम्म पुगिसकेको छ । ‘सन्देश पनि पुगिसकेको छ, कथम नपुगेकै रहेछ भने पनि केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री खुस्किसकेपछि उहाँहरूले आफै सरकार छाड्नुपर्ने हो’, उनले भने ‘यो नै राजनीतिमा नैतिक काम र कदम हो । होइन, नैतिकता केही होइन भन्ने तर्क गर्ने हो भने त मेरो भन्नु केही छैन ।’
त्यसो त माओवादी कोशीका नेताहरूले नै यसअघि गठबन्धन फेरिँदा नैतिकता देखाउँदै एमालेले सरकार छाड्नुपर्ने बताउँथे । गएको कात्तिक १ मा तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेलाई नैतिकताको पाठ पढाउन खोज्दै भनेका थिए ‘आजदेखि कोशीमा हाम्रो गठबन्धनकै सरकार बन्यो । एमालेसित थोरै मात्रै नैतिकता बाँकी छ भने उसले तत्कालै सरकार छाड्नुपर्छ ।’
अहिले उनै नेता आङ्बो सरकारबाट माओवादी तत्कालै नहट्ने भन्दै सरकारमा पार्टीलाई अड्याइरहने उपायको खोजीमा देखिन्छन् ।
View : 1108
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved