Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सांसदहरुलाई सुविधा थप्ने कुराले कांग्रेसका साथीहरुलाई अत्यन्त पीडा हुन्छ : डा शेखर

बाबुराम भण्डारी
१७ माघ २०८०, बुधवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको सेवा सुविधा थप गर्न गरेको तयारीप्रति नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले असन्तुष्टि पोखेका छन् । नेता कोइरालाले देशमा आर्थिक संकट छ भन्ने जान्दाजान्दै र मितव्ययिता अपनाउने कुरा गर्दागर्दै सांसदहरुलाई सुविधा थप्ने कुराले कांग्रेसलाई अत्यन्तै पीडा हुने बताएका हुन् । 

मंगलबार विराटनगर महानगरपालिका–७ स्थित हरियाली पार्कमा आयोजित ‘समुदायमा कांग्रेस अभियान’ कार्यक्रममा बोल्दै नेता कोइरालाले सुविधाहरु घटाउनु पर्ने ठाउँमा सुविधाहरु थपिरहेको सुन्नुपर्दा पीडा हुने गरेको बताए ।

राष्ट्रिय सभा निर्वाचन अगावैदेखि विराटनगर केन्द्रित कार्यक्रममा सहभागी हुँदै आएका नेता कोइरालाले सांसदहरुलाई सुविधा दिने कुरा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई नै पीडाबोध भइरहेको आफुले पनि महसुस गरेको बताए । उनले मुलुकमा ‘फाइनान्सियल क्राइसिस’ (वित्तीय संकट) कायमै रहेको र सँगै फाइनान्सियल क्राइम (वित्तीय अपराध)हरु पनि भइरहेको दाबी गरे । 

‘हामी मितव्ययिताको कुरा गरिरहेका छौं, देशमा आर्थिक संकट छ भनेर भनिरहेका छौं, अर्कोतिर तपाईंहरु सुविधाहरु थप्दै हुनुहुन्छ, सुविधाहरु घटाउनु पर्ने ठाउँमा हामी सुविधाहरु थपिरहेको सुनिरहेका छौं, यसले हामी नेपाली कांग्रेसका सवै साथीहरुलाई अत्यन्तै पीडा हुन्छ’ नेता कोइरालाले भने, ‘फाइनान्सियल क्राइसिस बढेर फाइनान्सियल क्राइमहरु पनि भइरहेको छ, फाइनान्सियल क्राइसिस र त्राइमहरुले गर्दाखेरी हाम्रो देशलाई अरु देशहरुले गलत मुल्यांकन र मापन गरिरहेको हुन्छ ।’

कोशी प्रदेशमा मुख्यमन्त्री माओवादीलाई दिएपछि कोइराला समूहमा रहेका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (ख) मा रहेको पदाधिकारीको परिभाषा अध्यादेशमार्फत संशोधन गरेका छन् ।

उनले ऐनको संशोधन गरी भविष्यमा आफूसहित तत्काललाई गठबन्धन दलका नेताहरु र वर्तमान प्रदेशसभाको सदस्य रहेका पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा दिन बाटो खोलेका छन् । अध्यादेशबाट तत्काललाई प्रदेशसभाका पदाधिकारीको परिभाषा फेरिए पनि सुविधा दिनका लागि भने सरकारले सोही ऐनको सुविधासम्बन्धि अनुसूची फेर्नु पर्नेछ ।

संशोधन गरिएको ऐनको उक्त खण्डमा पहिलेको व्यवस्थाको सट्टामा ‘पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रदेश सभाको बहालवाला सदस्य रहेको पूर्व मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्ष दलको नेता, सरकारमा सहभागी दलहरूका संसदीय दलका नेता, सत्तापक्ष दलको सचेतक र प्रदेश सभाका समितिका सभापतिसमेतलाई सम्झनुपर्छ’ भन्ने उल्लेख गरिएको छ । 

कोइरालाले सम्पति शुद्धिकरणमा पनि खराब अवस्था रहेको, विदेशबाट स्रोत नखुलेको पैसा आइरहेको र भ्रष्टाचार दिनानुदिनु बढेर गए पनि सरकारले कुनै ‘एक्सन’ नलिएको आरोप लगाए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरुको अवमूल्यन हुने गरी बोल्दै हिंडेको पनि गुनासो गरे । प्रधानमन्त्री दाहालले माघ १३ मा काठमाडौंमा आयोजित एउटा कार्यक्रममा करिव ३ हजार जनालाई छिट््टै सहिद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए । उनले देशमा सामाजिक र धार्मिक अस्थिरता र अराजकता बढेको बताए । साथै आर्थिक अस्थिरता पनि कायमै रहेको नेता कोइरालाको भनाइ थियो । 

‘अराजकताले देशलाई गाँजेको छ, दण्डहिनता बढेको बढ्यै छ, अब कतिसम्म भने देशको प्रधानमन्त्रीले तीन हजार सहिद थप्छौं भन्नुभयो, सहिद दिवसमा सहिदहरुलाई नै अवमुल्यन गर्नुभएन, त्यो कुरालाई ध्यान दिनुपर्‍यो, कोइरालाले भने, ‘सहिदको रियल परिभाषालाई अंगिकार गरिकन अगाडि बढेमात्रै सहिदलाई सच्चा श्रद्धाञ्जली हुन्छ ।’

कोइरालाले कांग्रेसलाई समुदायमा पुर्‍याएर जनभावना बुझ्नुपर्ने बताए । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै कांग्रेसले आगामी दिनमा सच्चिएर अघि बढ्नुपर्ने बताए । 

विराटनगरमा शुद्ध खानेपानी सेवालाई थप प्रभावकारी बनाउन महानगरपालिकाले जापानी सहयोग नियोग जाइकासँग मिलेर खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको बताए । साथै सिंघिया खोलाको तटबन्ध र खोला किनारका सुकुम्बासीहरुको समस्याबारे कुरा गर्दै उनले ठूलो बजेट लाग्ने र त्यसमा केही समय पनि लाग्ने हुँदा धैर्य गरिदिन उपस्थित कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

View : 202

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved