जुट उद्योगीको समस्या समाधानमा मौन
खण्डहर बनेको विराटनगर जुट मिल्स क्षेत्र ।
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा जुट उद्योगीको समस्यामाथिको उपेक्षाले ११ अर्ब रुपैयाँको निर्यात जोखिम बढेको भन्दै जुट उद्योगीहरूले चिन्ता व्यक्त गरिरहेको बेला सरकारले दैनिक १२५ मेट्रिक टनको महत्वाकांक्षी उत्पादन क्षमतामा विराटनगर जुट मिल्स सञ्चालन गर्ने योजना अघि सारेको छ ।
अधिकांश जिर्ण संरचनामा परिणत भएको विराटनगर जुट मिलको पुनः सञ्चालन, आधुनिकीकरण र दीर्घकालीन व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी औद्योगिक समूहसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा जुट मिल्स व्यवस्थापनले साझेदारको खोजी गर्दै आशयपत्र आह्वान गरेको हो ।
सरकारले जुट मिल्सलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा दीर्घकालीन औद्योगिक लगानीकर्तालाई लिजमा उपलब्ध गराएर सञ्चालन गर्ने प्रस्ताव अघि सारेको हो ।
कम्पनीले रणनीतिक लगानीकर्तालाई अधिकतम ३५ वर्षसम्म उद्योग सञ्चालन गर्ने अवसर दिने प्रस्ताव गरेको छ ।
प्रस्तावमा विराटनगर र दमक क्षेत्रमा रहेको ६७ बिघा औद्योगिक जग्गाको उपयोग गरी दैनिक १२५ मेट्रिक टन उत्पादन क्षमताको आधुनिक जुट उद्योग सञ्चालन गर्ने लक्ष्य प्रस्तुत छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा ५ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने कम्पनीको प्रक्षेपण छ ।
सरकारले दैनिक १०० मेट्रिक टन उत्पादन क्षमताको जुट उद्योग स्थापना, व्यवस्थापन तथा सञ्चालन गर्न सक्ने प्राविधिक क्षमता प्रमाणित गरी आशय पत्र प्रस्तुत गर्न साझेदारमा इच्छुक स्वदेशी तथा विदेशी कम्पनीलाई आग्रह गरेको छ ।
अर्कोतिर, लगानीकर्तासँग आन्तरिक तथा अन्तर्राष्ट्रिय बिक्री र वितरण सञ्जाल हुनुपर्ने भनिएको छ । नेपालको जुट उत्पादनको मुख्य बजार भारत हो ।
तर प्रधानमन्त्री साहको भारत भ्रमणमा अहिले सञ्चालनमा रहेका जुट उद्योगी न त समावेश गराइए, न त उद्योगीका समस्या नै उठान भयो । यस्तो अवस्थामा सरकारले विराटनगर जुट मिल्सलाई रातारात सञ्चालनको अवस्थामा पुर्याउने जस्तै गरी आशयपत्र आह्वान गरेपछि यहाँका निजी क्षेत्रका प्रतिनिधिहरूले समेत आश्चर्य प्रकट गरेका छन् ।
बुधबारमात्रै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले प्रधानमन्त्रीको भारत भ्रमणमा जुट उद्योगीले भोग्दै आएको समस्याको कुनैपनि तहबाट सम्बोधन हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका थिए ।
अहिले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्क बढाउनुका साथै थप काउन्टरभेलिङ शुल्क लगाउने तयारी गरेपछि नेपाली जुट उद्योग संकटतर्फ गइरहेको नेपाल जुट उद्योग संघले भन्दै स्पष्ट रुपमा आफ्नो चिन्ता सरकार समक्ष प्रस्तुत गरिसकेको छ ।
तर सरकारले यो समस्या समाधानमा कुनै ठोस पहल नगरेको र प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवेश नपाउँदा धेरै उद्योगीहरू थप चिन्तामा छन् ।
नेपाली जुट उद्योग क्षेत्रमा अहिले १५ हजार श्रमिकको रोजगारी जोडिएको छ भने २० हजार किसानको भविष्य संकटमा परेको जनाइएको छ ।
जुट उद्योगीको समस्या सम्बोधन हुने विषय नै अन्यौलमा रहेको बेलामा सरकारले जिर्ण रहेको विराटनगर जुट मिल्सलाई क्षमताभन्दा माथिको उत्पादन लक्ष्यका साथ संचालनको महत्वाकांक्षा प्रस्तुत गरेको हो ।
नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै जुट उद्योगको समस्या गम्भीरतापूर्वक उठ्ने अपेक्षा गरेको बताएका थिए ।
उनले दुई देशले सरकारबीच समझदारीमै भारतले लगाएको एन्टिडम्पिङ शुल्कको समस्या समाधान हुने अपेक्षा गरेका थिए । तर भ्रमणमा जुटको विषय नै प्रवेश नपाएपछि अहिले पूर्वका जुट उद्योगीहरू निराश बनेका छन् ।
उद्योगीमा देखिएको निराशाकै बीच सरकारले भने विराटनगर जुट मिल्स कम्पनी लिमिटेडलाई पुनर्जीवन दिन भन्दै रणनीतिक लगानीकर्ता खोज्ने प्रक्रिया अघि बढाएको जनाएको हो ।
जिर्ण अवस्थामा लामो समयदेखि रहेको विराटनगर जुट मिलको पुनः सञ्चालन, आधुनिकीकरण र दीर्घकालीन व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी औद्योगिक समूहसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा जुट मिल्स व्यवस्थापनले साझेदारको खोजी गर्दै आशयपत्र आह्वान गरिएको हो ।
विराटनगर जुट मिल्स लिमिटेडले बुधबार गोरखापत्रमा सार्वजनिक गरेको सूचनाअनुसार उद्योगलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा दीर्घकालीन औद्योगिक लगानीकर्तालाई लिजमा उपलब्ध गराएर सञ्चालन गर्ने प्रस्ताव अघि सारेको उल्लेख छ ।
कम्पनीले रणनीतिक लगानीकर्तालाई अधिकतम ३५ वर्षसम्म उद्योग सञ्चालन गर्ने अवसर दिने प्रस्ताव गरेको छ ।
प्रस्तावमा विराटनगर र दमक क्षेत्रमा रहेको ६७ बिघा औद्योगिक जग्गाको उपयोग गरी दैनिक १२५ मेट्रिक टन उत्पादन क्षमताको आधुनिक जुट उद्योग सञ्चालन गर्ने लक्ष्य प्रस्तुत छ ।
उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा ५ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने कम्पनीको प्रक्षेपण छ ।
सन् १९३६ मा स्थापना भएको विराटनगर जुट मिल्स नेपालको औद्योगिक इतिहासमा महत्वपूर्ण प्रतिष्ठानका रूपमा परिचित छ ।
कुनै समय देशको औद्योगिक विकास, रोजगारी सिर्जना र निर्यात व्यापारमा योगदान पु¥याएको यो उद्योग पछिल्लो समय आर्थिक, व्यवस्थापकीय तथा सञ्चालनसम्बन्धी समस्याका कारण कमजोर बनेको थियो ।
अहिले कम्पनीले रणनीतिक लगानीकर्ताको सहभागितामा उद्योगलाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्ने योजना अघि सारेको हो ।
कम्पनीले जुट मिललाई परम्परागत उत्पादनमा मात्र सीमित नराखी विविध प्रकारका जुटजन्य तथा वातावरणमैत्री औद्योगिक सामग्री उत्पादन गर्ने प्रतिष्ठानका रूपमा विकास गर्ने योजना अघि सारेको हो ।
प्रस्तावित उत्पादनमा जुटको धागो, हेसियन कपडा, जुटका बोरा, जियो–टेक्सटाइल तथा वातावरणमैत्री प्याकेजिङ सामग्री समावेश छन् ।
नेपालको आन्तरिक बजारमा कृषि उपजको प्याकेजिङका लागि जुटका बोराको माग तथा भारत र दक्षिण एसियाली बजारमा जुटजन्य उत्पादन निर्यातको सम्भावनालाई कम्पनीले लगानी आकर्षित गर्ने आधार बनाएको उल्लेख गरेको छ ।
जुटका धागो, कपडा, बोरा तथा अन्य मूल्य अभिवृद्धि भएका उत्पादनको निर्यातमार्फत उद्योगलाई प्रतिस्पर्धी बनाउने लक्ष्य आशयपत्र आह्वानसम्बन्धि सूचनामा उल्लेख छ ।
भारतीय बजार, सीमापार व्यापारिक मार्ग र रेल सञ्जालको पहुँच बढ्दै गएकोले जुटजन्य वस्तुको उत्पादनको ढुवानी तथा निर्यात लागत प्रतिस्पर्धी बनाउन सकिने सम्भावना रहेको उल्लेख छ । विराटनगर जुट मिल्स सञ्चालक समितिका पूर्वअध्यक्ष फुलकुमार लालबानीले सरकारले जुट उद्योग सञ्चालनका लागि महत्वाकांक्षी भएरै यो प्रक्रिया अघि बढाएको बताए । उनले अब नेपालको जुट उद्योगमा लगानीको वातावरण निर्माण हुने धारणा राखे ।
‘लगानीकर्ताले पनि आफ्ना कुरा भन्ने अवसर पाउने अवस्था बनेको छ, यो सूचना नै उद्योग चलाउने टेण्डर त होइन, सरकारले के के सुविधा दिने भन्ने पनि अब स्पष्ट हुँदै जान्छ’ उनले भने, ‘कोही राम्रो साझेदारले चासो राख्यो भने वा ज्वाइन्ट भेन्चरमा आयो भने पनि ठुलो सम्भावनाको बाटो चैं खुल्छ ।’
उनले आफूहरूले दुई वर्षदेखि पहल गरेर आशयपत्र खोल्ने अहिलेको अवस्थासम्म ल्याइपुर्याएको जिकिर गरे । ‘विराटनगरवासी भएकोले यो काम गर्नुपर्छ भन्ने लागेको हो, अहिले नै सवै कुरा मिल्छ भन्ने होइन, मिलेन भने फेरि अघि अर्को प्रक्रिया त अघि बढ्ला, अब छलफल बाटो चैं खुल्यो ।’
उनले जुट उद्योगमा सधँै एकैखालको समस्या नहुने बताए । अहिले देखिएका समस्या पनि समाधान हुँदै जाने बताए । तर एन्टिडम्पिङ लगायतका समाधान दुई पक्षीय रुपमा समाधान हुन नसके नेपालमा सञ्चालनमा रहेका ६ वटा जुट उद्योग भने बन्द हुने अवस्थामा पुग्ने अगुवा उद्योगी व्यवसायीहरू बताउँदै आएका छन् ।
रणनीतिक लगानीकर्तासँगको सहकार्यका लागि जुट मिल्स कम्पनीले तीन प्रकारका सम्भावित व्यावसायिक संरचना प्रस्ताव गरेको हो ।
पहिलो, उद्योग सञ्चालन गरेबापत कम्पनीलाई रोयल्टी भुक्तानी गर्ने व्यवस्था । दोस्रो, संयुक्त लगानीमा उद्योग सञ्चालन गर्ने र तेस्रो, निर्माण–सञ्चालन–हस्तान्तरण (बीओटी) मोडल । यीमध्ये उपयुक्त संरचना लगानीकर्ता र कम्पनीबीच हुने वार्ता तथा सम्झौताबाट निर्धारण गरिने उल्लेख छ ।
अधिकतम् ३५ वर्षसम्मको दीर्घकालीन लिजमा उद्योग सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको छ । यसबाट आवश्यक पूर्वाधार निर्माण, मेसिनरी आधुनिकीकरण, प्रविधि हस्तान्तरण र व्यावसायिक सञ्चालनमा निजी क्षेत्रको पूँजी तथा व्यवस्थापकीय क्षमता उपयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ ।
नयाँ रणनीतिक लगानीकर्तालाई विगतका ऋण तथा दायित्वको भार नपर्ने गरी व्यवस्था गरिने कम्पनीले प्रतिबद्धता नै जनाएको छ । लगानी आकर्षित गर्न कम्पनीले पुरानो ऋण तथा अनेकौं दायित्वको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएको हो ।
वित्तीय, सञ्चालनसम्बन्धी तथा श्रमसम्बन्धी पुराना दायित्वको पूर्ण व्यवस्थापन र छुट्टै हिसाब मिलान गरिने सरकारको तयारी रहेको उल्लेख छ ।
लामो समयदेखि आर्थिक समस्यामा रहेको उद्योगमा निजी क्षेत्रको प्रवेश सहज बनाउन यो व्यवस्था प्रस्ताव गरिएको जानकारहरू बताउँछन् ।
यद्यपि पुराना ऋण तथा श्रमिकका बाँकी दायित्व कसरी फरफारक हुन्छन् भन्ने जिज्ञासा पनि यो व्यवस्थाले उब्जाएको उनीहरूले बताए ।
पुरानो बक्यौता तथा ऋण व्यवस्थापनलाई आवश्यक आर्थिक स्रोत कहाँबाट जुटाउने भन्ने विषयलाई आशयको सूचनामा खुलाइएको छैन ।
कम्पनीले लगानीकर्तालाई औद्योगिक व्यवसाय ऐन, २०७६ तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार उपलब्ध हुने सुविधासमेत उल्लेख गरेको छ ।
यसमा मुनाफा तथा लाभांश विदेश लैजान पाउने अधिकार, पुँजीगत मेसिनरी तथा स्पेयर पाट्र्स आयातमा भन्सार सहजीकरण र प्रारम्भिक अवधिमा न्यूनतम लिज भाडा तथा रोयल्टीमा सहुलियतलगायतका अनेकौं सूविधा पनि प्रस्ताव गरिएको छ ।
विराटनगर जुट मिल्स कम्पनीले लगानीकर्ताका लागि योग्यता निर्धारण गरेको छ । जुट वा जुटसम्बन्धी उत्पादन उद्योग सञ्चालनमा कम्तीमा २० वर्षको निरन्तर र सफल अनुभव भएको कम्पनी वा लगानीकर्ता हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, दैनिक कम्तीमा १०० मेट्रिक टन उत्पादन क्षमताको जुट उद्योग स्थापना, व्यवस्थापन तथा सञ्चालन गर्न सक्ने प्राविधिक क्षमता प्रमाणित गर्नुपर्ने पनि उल्लेख छ । अर्कोतिर, लगानीकर्तासँग आन्तरिक तथा अन्तर्राष्ट्रिय बिक्री र वितरण सञ्जाल पनि हुनुपर्ने भनिएको छ ।
तर नेपालमा हाल सञ्चालित जुट उद्योगको सञ्चालन क्षमता हेर्दा यो लक्ष्यमा उत्पादन गर्ने योजना प्रस्तुत हुनै नसक्ने दाबी गरिएको छ । अहिलेकै अवस्थामा जुट मिल्स सुधार गरेर सञ्चालन गर्दा बढीमा दैनिक ३० टन जुटजन्य सामग्री उत्पादन हुनसक्ने यहाँका जानकारहरू बताउँछन् । तर मिल्सले दैनिक १२५ टन उत्पादन क्षमताको महत्वाकांक्षी लक्ष्यका साथ संचालन गर्ने उल्लेख गरेको छ ।
जुट उद्योगलाई कति क्षमतामा सञ्चालन गर्ने भन्दा पनि महत्वपूर्ण सरकारले चलिरहेका उद्योगको समस्या समाधानमा सहजीकरण गरी कायम रहेको लगानी सुरक्षा गर्नुपर्ने र निर्यात सुरक्षा प्रदान गर्नुपर्ने एक जुट उद्योगका व्यवस्थापकको भनाई छ ।
योग्यता पुगेका इच्छुक र योग्य रणनीतिक लगानीकर्तासँग सरकारको रोहबरमा कम्पनीले आशयपत्र पेस भएको एक महिनाभित्रै समझदारीपत्र (एमओयू) गर्ने लक्ष्य राखेको छ । त्यसपछि आपसी अध्ययन, वार्ता तथा आवश्यक प्रक्रिया पूरा गरी बाध्यकारी दीर्घकालीन साझेदारी वा लिज सम्झौता गरिने उल्लेख छ ।
विस्तृत कम्पनी परिचय, पछिल्ला तीन आर्थिक वर्षका लेखापरीक्षण गरिएका वित्तीय विवरण तथा उत्पादन र निर्यातसम्बन्धी प्रमाणसहित आशयपत्र पेस गरेपछि प्रारम्भिक मूल्यांकन गरिनेछ । सोही मूल्यांकनको आधारमा संक्षिप्त सूची तयार हुने र सूचीमा परेका लगानीकर्तालाई उद्योग परिसरको स्थलगत निरीक्षण तथा सम्पत्ति, जग्गा, कानुनी अभिलेख र अन्य विवरण अध्ययन गर्न भौतिक वा भर्चुअल डेटा रुमको पहुँच दिइने जुट मिल्स कम्पनीले जनाएको छ ।
लगानीकर्ताले पहिलो सूचना प्रकाशनको मितिले ३५ दिनभित्र सिलबन्दी आशयपत्र पेस गर्नुपर्ने जनाइएको छ । विराटनगर जुट मिल पुनः सञ्चालनको यो प्रस्तावले कोशी प्रदेशको औद्योगिक विकास, रोजगारी र निर्यात व्यापारमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
View : 57
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved