मनमोहन प्राविधिक विश्वविद्यालय
विराटनगर । दोस्रो कार्यकालका लागि नियुक्त भएका मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति सुवासश्री पोखरेलले अबको आफ्नो लक्ष्य ‘मिसन २०८५’ लाई सफल बनाउने भएको बताएका छन् । पोखरेल बिहीबार फेरि दोस्रो कार्यकालका लागि नियुक्त भएपछि आफैले निर्धारण गरेको मिसन पूरा गर्न प्रतिवद्ध देखिएका हुन् ।
उनले आफ्नो दोस्रो चार वर्षे कार्यकालमा ‘मिसन २०८५’ रणनीति सफल बनाएर विश्विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर छाड्ने प्रतिबद्धता जनाएका छन् । उपकुलपति पोखरेलले विभिन्न बिषयमा पीएचडीसम्मको पठनपाठन गराउनका लागि विश्वविद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन मिसन २०८५ रणनीति तयार गरेको बताए ।
उनका अनुसार मिसन २०८५ रणनीतिअन्तर्गत अत्यावश्यक मुख्य १८ कार्यभारहरू छन् । जसमा जम्मा १०८ वटा कामहरू सम्पन्न गर्नुपर्ने छ ।
तयार पारिएको रणनैतिक प्रतिवेदनअनुसार आगामी मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठ्यक्रम निर्माण गर्नेछ ।
पाठ्यक्रम निर्माणपछि ५ वटा विषयमा पीएचडी र १० वटा मास्टर्स र १२ वटा थप ब्याचलर तहको कक्षा सञ्चालन गर्नेछ । यसैगरी विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउन १८ वटा ल्यावहरू निर्माण गर्नेछ ।
सोही मिसनअन्तर्गत विश्वभरका १८ वटा विश्वविद्यालयसँग एमओयू गर्ने योजना विश्वविद्यालयले बनाएको छ । दक्ष विद्यार्थी उत्पादन गर्न विभिन्न देशहरूबाट कम्तीमा एउटा विषयमा एक जना विदेशी विज्ञ शिक्षक ल्याइने छ । यसबाहेक विश्वविद्यालयले आफ्नै तारामण्डल निर्माण गर्नेछ भने साइन्स म्युजियम सहितको विज्ञान–पार्क पनि निर्माण गर्ने योजना छ ।
यसबाहेक एक हजार जना सहभागी हुने अडोटोरियम हल, पाँच हजार क्षमताको स्टेडियम निर्माण गर्नेदेखि अलग्गै टिचिङ ब्लक, आफ्नै ग्रोसरी कम्प्लेक्स बनाउने मनमोहनको योजना छ ।
विश्वविद्यालय क्षेत्रलाई मनमोहन स्मार्ट सिटीका रुपमा विकास गराउने, आफ्नै मनमोहन कानुन ब्लक बनाउने, एनिमल हाउस तयार गर्ने, इलेक्ट्रिक टेस्टिङ सेन्टर स्थापना गर्ने लगायतका कार्यभारहरू मनमोहनले लिएको छ ।
मिसन २०८५ का लागि आवश्यक १८ कार्यभार पूरा गर्नका लागि २० अर्ब बढी लाग्ने भएकाले बजेटका लागि कोशी प्रदेश सरकार, संघीय सरकार, अनुदान आयोगदेखि विभिन्न नियोगहरूसँग सहयोग सम्झौता गर्ने मनमोहनको नीति छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हालसम्म ‘इन्जिनियरिङ’, ‘मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज’, स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल’ गरी तीन वटा स्कुल छन् ।
जसमा सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स स्नातक, औषधि विज्ञान (फार्मेसी) स्नातक, अस्पताल म्यानेजमेन्ट स्नातकोत्तर र कानुनमा स्नातक र स्नातकोत्तरको पठनपाठन भरहेको छ । यसबाहेक तीन वर्षे डिप्लोहमा तहमा आठ वटा विषयमा विभिन्न प्राविधिक विषयमा पढाइ भइरहेको छ । विश्वविद्यालय करिब २१ विघाहा क्षेत्रफलमा फैलिएको छ ।
View : 100
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved