वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसलाई छोडेर नेकपा एमालेसँग गठबन्धन गरेपछि मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोसी प्रदेश सरकारमा पनि हलचल पैदा भएको छ । नेपाली काङ्ग्रेससहितको गठबन्धन दलहरूसँग विद्रोह गर्दै काङ्ग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा सरकार निर्माण हुने अन्तिम विकल्प रहेको संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार गठन भएको १४३ दिन नाघेको छ । केन्द्रमा फेरिएको गठबन्धनसँगै कुल ९३ संसदीय प्रदेश सभा रहेको कोसीमा ४० सिट संख्या सहित सबैभन्दा ठुलो दल एमालेले कार्कीको राजिनामा मागिसकेको छ । तर मुख्यमन्त्री कार्की पदबाट राजिनामा नदिने मोडमा छन् भने तत्काल सरकारमा सामेल नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारीमा पनि देखिएका छैनन् । जसका कारण मुख्यमन्त्री कार्कीले अहिले दोहोरो स्ट्यान्ड लिइरहेको बुझ्न कठिन छैन । तसर्थ कार्की नेतृत्वको सरकारको आयु र प्रदेश सभाको विघटन सन्दर्भमा मुख्यमन्त्री कार्कीसँग उद्घोष सहकर्मी ध्रुव भट्टराई ले गरेको कुराकानीको सारसंक्षेपः
केन्द्रको गठबन्धन भत्किएसँगै एमालेले तपाईँको राजिनामा मागिसकेको छ, अब पदबाट राजीनामा कहिले दिनु हुन्छ ?
केन्द्रमा सत्ता गठबन्धन गडबड भएको होइन, केन्द्रमा प्रधानमन्त्री निरन्तरता रहेपनि प्रधानमन्त्रीको सहयात्री दलहरू परिवर्तन भएका हुन् । प्रदेशमा त हैन नि, मुलुक संघीयतामा गएको छ नि, सातवटा प्रदेश छ नि, त्यस कारणले गर्दाखेरी पारी डाँडामा काग करायो भने यहाँ चाँहि रोटी भित्र किन छिराउनु पर्यो ?
तपाईँले नेतृत्व गरिरहेको प्रदेश सरकारमा सामेल माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूलाई त्यसो भए कहिले बर्खास्त गर्नु हुन्छ त ?
हेर्नुहोस्, यो सरकार नै अलग सरकार हो, यहाँ सबैले विश्वासको मत दिएको सरकार हो । त्यसैले गर्दा उहाँहरूले यो सरकारमा बसुन्जेल किन बर्खास्त गर्नुपर्यो ? मैले बर्खास्त गर्नुपर्ने कारण के छ ? हो, उहाँहरूले राम्रो काम गर्नु भएन भने, सरकारको एजेण्डामा काम गर्नु भएन भने, वहाँहरूले सरकारलाई असर पर्ने खालको काम गर्नुभयो भने त्यतिखेर चाँहि जुनसुकै पार्टी होस् बर्खास्त हुन्छ । तर के भने अहिलेसम्म क्याबिनेट प्रति म सन्तुष्ट छु । मेरो क्याबिनेटमा म सन्तुष्ट छु । त्यसकारण अहिले बर्खास्त गर्नुपर्ने अत्तालिनु पर्ने के छ र यो । यो त संविधानसम्मत बनेको सरकार हो । संविधानले दिएको अधिकार प्रयोग गर्ने हो ।
अन्य प्रदेशहरूमा कांग्रेसका मुख्यमन्त्रीले माओवादीका मन्त्रीहरूलाई बर्खास्त गर्ने क्रम सुरु भइसकेको छ नि, त्यो विधिलाई यो प्रदेशले अनुशरण गर्छ की गर्दैन त ?
अरू प्रदेशमा बनेको सरकार र यो प्रदेशमा बनेको सरकारको प्रकृति पनि फरक छ हैन ? अरू प्रदेशमा सरकार बन्दाखेरिको अवस्था र यो प्रदेशमा सरकार बन्दाको अवस्था फरक छ । त्यस कारणले गर्दाखेरी यो चाँहि कस्तो हो भने भाषा संस्कृति, रीति रिवाज, धर्म सबै फरक भएको प्रदेश हो । त्यस कारण अरू प्रदेश प्रदेशको तुलना नगरेकै राम्रो हुन्छ ।
केन्द्रमा फेरिएको गठबन्धन पछि तपाईँको राजिनामा माग्ने बारेमा पनि हालसम्म सत्ता साझेदार दल माओवादी नरम देखिरहँदा नयाँ गठबन्धनको एक घटक एमालेले भने तत्काल तपाईँले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि वातावरण बनाउनु पर्ने भनी रहेको छ । यस बिचका एकथरिले अहिले मुख्यमन्त्री आफ्नो सत्ता जोगाउन एमालेसँग छलफलमा रहेको भन्ने कुरामा कतिको सत्यता छ ?
म सत्ता जोगाउन कोहीसँग पनि संवाद गर्दिन, सरकार जनताको आशा, अपेक्षाकृत रुपमा चलोस् भनेर सबैसँग सौहार्द्रपूर्ण सम्बन्ध राख्न सबैसँग कुरा गर्न चाहन्छु । सबैलाई अघिल्लो मुख्यमन्त्रीले एउटा म्यान्डेटसहित मलाई मुख्यमन्त्रीमा सपोर्ट गराउनु भएको हो । त्यो चाँहि कस्तो हो भने संयुक्त सरकार बनाउने, अधिकतम सहमतिको सरकार बनाउने भनेको हो । सहमतिको सरकार बनाउन म जहिले पनि लचिलो छु । म सबैलाई समेटेर जानका लागि जहिलेपनि तयार भएर बसेकै छु । अब एमालेले राजिनामा मागेको विषय राजनीतिक एजेण्डा हो । त्यसलाई म सम्मान गर्छु । राजिनामा दिइहाले खाली भइहाल्छ नि, हामी जान पाउँछौँ की भन्ने कुरा त्यो त प्रयास भइहाल्छ नि । म पनि पटक- पटक प्रयासबाट पुगेको हो नि मुख्यमन्त्रीको पदमा ।
उसो भए केन्द्रमा सत्ता समीकरण फेरबदल भएपनि प्रदेशमा भने सर्वदलीय सरकार गठन गरेर भएपनि सरकार टिकाउने खेलमा देखिनु भएको हो ?
यो अहिले नै हैन, पहिला पनि तपाईँहरू सञ्चारकर्मीसँग, त्यसै गरी प्रदेश सभामा बोल्दाको कुरामा पनि । एउटा कुरा के भने सहमतिको सरकारको लागि यो प्रदेश सरकारको मुख्यमन्त्री जहिले पनि तयार छ । सहमतीय सरकारलाई हामी अगाडि लिएर जान अधिकतम सहमतिमा यो सरकारलाई बढाउन जहिले म लचिलो छु । यो आजमात्रै हैन, हिजो पनि र फेरी भोलि पनि यो कुरामा मैले कहिँकतै बोली फेरेको छैन । र, यो बोली फेरिन्न ।
केन्द्रमा गठबन्धन भत्किसकेको छ, यो अवस्थामा हेर्दा प्रदेश सरकारलाई निरन्तर दिने कुरामा संसदीय अङ्क गणितले तपाईँ अल्पमत हुनुहुन्छ, तर पनि सत्ता लिप्सा यति धेरै किन ?
अल्पमत र बहुमत भनेको के हो ? अल्पमत र बहुमत देखिने ठाउँ कहाँ हो ? प्रदेश सभा हैन ? त्यसैले अल्पमत र बहुमत नाप्ने थलो भनेको संसद् हो । संसद् बाहिर अल्पमत र बहुमत हुँदैन । अगर लेटरप्याडले सरकार बन्थ्यो भने, अल्पमत र बहुमत हुन्थ्यो भने म त ८ जनाले बनेको मुख्यमन्त्री हो नि, कि हैन ? कति हो ८ जना ? ९३ को प्रतिशत निकाल्नु त ?
यसो भए संविधानको धारा १६८ को उपधार (५) अनुसार मुख्यमन्त्री भएको म भनेर आफूलाई अविच्छिन्न मुख्यमन्त्रीका रूपमा चित्रित गराउन खोज्नु भएको हो ?
संविधानको धारा १६८ को उपधार (५) किन बन्यो ? किन भने (३) सम्म सरकार बनेन । एकचोटी तिमीलाई चान्स छ, स्वतन्त्र रूपमा एकचोटी आऊ, सांसदहरू मिलेर आउन सक्छौ भने आउ । मैले सांसदहरू मिलाउन सकेँ– म आएँ । त्यस कारणले गर्दा त्यसमा चाँहि अल्पमत परेको खण्डमा विश्वासको मत लिन सक्छौ भनेपनि म आए । त्यसपछि विश्वासको मत पनि लिन सके । अब दुई वर्षसम्म संसदीय अभ्यासमा अविश्वासको मत राख्न पाइँदैन । त्यस कारण संविधानको म्यान्डेट अनुसार काम गरेन भने संविधान त जनताको रगतबाट बनेको हो नि ।
जनताको रगतबाट बनेको संविधानको अवमूल्यन जनप्रतिनिधिहरूले गर्न मिल्छ ? त्यो गर्नुस् भनेको घोर पाप हो । त्यसैले जनताको रगतबाट बनेको संविधान रक्षा गर्ने काम सरकार प्रमुखको हो, त्यो संविधानसम्मत चल्नुपर्छ । यो वा त्यो बहुमत या अल्पमत भन्ने विषय संविधानको धारा १६८ को उपधारा (२) मा छ । (१) मा छ पूर्ण बहुमत । बहुमत अल्पमत कति मत भन्ने कुरा (२) मा छ । एक चोटी तिमीलाई चान्स के छ भने तिमी अल्पमतमा नै छौ भने पनि ठुलो दललाई भनेर पनि उपधार (३) मा व्याख्या गरिएको छ । त्यसैले त्यसपछिको अवस्थामा संसद् विघटन गर्नु हुँदैन । चाँडोचाँडो दुई महिना, तिन महिनामा मध्यावधि गर्नु हुँदैन । त्यस कारण संविधानको धारा १६८ को उपधार (५) अनुसार सरकार गठनको लागि खोजी भएको मुख्यमन्त्री हो म । संविधानसम्मत अनि त्यत्रो सबैको प्रिय भएर बनेको मुख्यमन्त्री भएको म । संविधानले अन्तिम अस्त्रका रूपमा व्याख्या गरेर बनेको म मुख्यमन्त्रीको सपनालाई चाँहि धुजाधुजा पर्न मिल्छ ? त्यो मिल्दैन नि । त्यस कारणले गर्दाखेरी त्यतापट्टि संविधानको बाहिर, संविधानको बर्खिलापमा, संविधानलाई अवहेलना गर्ने कुरामा च्यात्ने कुरामा मेरो कदम अगाडि जाँदैन ।
नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा, जसपा लगायतका दलसँग मिलेर नयाँ गठबन्धन अनुसारका दलहरूले प्रदेशमा पनि तपाईँको सरकार गिराउन र आफू नेतृत्वको प्रदेश सरकार बनाउने खेलमा लागे भने तपाईँ त्यो अवस्थामा के गर्नुहुन्छ ?
यस्तो कुरा त के हुन्छ भने, कसरत त जसले पनि गर्न पाउँछ । स्वाभाविक उहाँहरूले गर्न पाउनु हुन्छ पनि । संविधानसम्मत उहाँहरूले गर्नु भएको कसरतलाई म प्रजातान्त्रिक पार्टीको एक सदस्यको हिसाबले स्वागत गर्न चाहन्छु ।
संविधान त मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके वा अर्को सरकार बन्न नसके मात्र मध्यावधि भनेको छ नि ? तर तपाईँ सरकार फेरबदलमा दलहरू लागे प्रदेश सभा विघटन गरिदिन्छु भनेर धम्काउँदै हुनुहुन्छ भन्ने कुरा छ नि ?
तपाईँले यो अन्तरवार्ता लिनु पहिला राम्ररी संविधान अध्ययन गर्नु भएन की जस्तो मलाई महसुस भयो । किनकी संविधानको धारा १६८ को उपधार (५) अनुसार सरकार बनेपछि धारा (४) अनुसार विश्वासको मत लिनुपर्छ भन्छ । धारा ७ ले यदि मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मध्यावधिको घोषणा गर्नुपर्ने हुन्छ भनेर प्रष्टसँग व्याख्या गरेको छ । हैन, त्यस कारणले मैले विश्वासको मत लिन्न कहाँ भनेको छु र ? उहाँहरूले अति नै गर्नु भएछ भने मैले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि संसद् छँदैछ नि, संसद्मा म जान्छु नि ।
यदि तपाईँले विश्वासको मत प्राप्त गर्न सक्नु भएन भने त सरकार गुमाउनु पर्ला त, त्यो जोखिम मोल्न तयार हो तपाईँ ?
संविधानको धाराहरूको अक्षरशः पालना गर्ने व्यक्ति भएको हुँदा म पार्टीको विधानभन्दा पनि बाहिरबाट देशकै संविधान मानेर आएको मान्छे हो । पार्टीको नीति चाँहि मानेको तर पार्टीको विधानभन्दा पनि संविधान माथि छ भनेर आएको मान्छे म । त्यसैले म संविधानको धारा मान्दिन भनेर हुन्छ ? संविधानका हरेक धाराको अक्षरशः पालना गर्छु । त्यो भन्दा दायाँ बायाँ हुँदैन । अनि तपाईँले भन्नु भएको विषय सरकार फेरबदल कसरी हुन्छ कोसीमा ? के डोजर ल्याएर उताबाट उठाएर उता राख्ने हो ? हिजो जबरजस्ती सरकार बनाउँदाखेरी अदालतले हैन भनेको हैन ? त्यही संविधानलाई टेकेर भनेको हैन ? त्यसले मेरो नेतृत्वको सरकार फेरबदलको विषय लिएर मैले अदालत कुर्नुपर्ने अवस्था छैन र जानै पर्दैन, अदालत किन जानुपर्छ मैले ? के गरेर हटाउने ? संविधान अनुसार नै हटाउने । यो अहिलेको प्रदेश सभा संविधान बाहिरबाट बनेको हो ? मलाई सरकारको नेतृत्वबाट हटाउन संविधान बाहिर जाने के यो रुस र उत्तर कोरियामा बनेको सरकार हो ? हैन भने यहीँको संविधान अनुसार काम हुन्छ । त्यस कारण मेरो नेतृत्वको सरकार दुई वर्षसम्म सुरक्षित छ ।
यसो भए तपाई यो सरकारको आयु चै कहिलेसम्म हो त, दुई वर्षसम्म हलचल गर्दैन भन्नेमा ढुक्क हुनुहुन्छ ?
वर्तमान प्रदेश सरकार कसरी दुई वर्षसम्म हलचल गर्छ त ? यो सरकार गठनको प्रक्रियामा नै दुई वर्षसम्म हलचल नै नहुने गरी गाडेको खाँबो हो नि । मूल खाँबो हो । तपाईँ किन त्यसमा चिन्ता गर्नुहुन्छ । एकदम चिन्ता नगरीकन यो सरकारलाई सहयोग गर्ने हो । यो मध्यावधि चुनावमा जाने कुरा दुई वर्षभन्दा अघि संविधानले नै परिकल्पना नगरेको विषय हो । त्यसैले त्यो सम्भव नै छैन । र, म जनतालाई मध्यावधिमा धकेल्न चाहन्न । म बाट मध्यावधिमा जाने खालको कुनै काम हुँदैन । तर उहाँहरू (दलहरूबाट) जबरजस्ती मध्यावधिमा जान्छौँ, हामी चुनावको लागि तयार छौं, तैँले चुनावको वातावरण बनाई दे, चुनाव गराई दे भन्ने हिसाबले क्रियाकलाप गर्नुहुन्छ जस्तो मलाई पनि लाग्दैन । त्यसमा उहाँहरु पनि चुनावमा जाँदा के भनेर जाने ? छैन नि एजेन्डा । सरकार बनाउने र सरकार फेरिदेऊ भनेर जाने हैन होला नि त ? त्यसकारण उहाँहरूबाट पनि त्यस खालको क्रियाकलाप हुँदैन होला भन्ने मलाई विश्वास छ ।
View : 214
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved