Biratnagar, Morang, Nepal
१ मंसिर २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएर पुरा भयो छठ ब्रत (फोटो)

उद्‌घोष संवाददाता
३० कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । छठ पर्वको मुख्य दिन आइतबार साँझ नदी, खोला र तलाउ किनारबाट अस्ताउँदो सूर्यलाई पूजाआराधना गरेका ब्रतालुहरूले सोमबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् । उनीहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यस बर्षको छठ ब्रत पूरा गरेका छन् ।

हरेक बर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी छठ पर्व मनाउने गरिन्छ । छठको मुख्य दिन आइतबार सूर्य उपासना गरिएको थियो ।

छठीमाताका उपासकहरूले विराटनगरको सिंघीया खोला, पश्चिममा रहेको सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर, केशलिया खोला किनार, तलाउ किनार र पानी जमाएर पनि सूर्यलाई अघ्र्य दिएर कठोरताका साथ आराधना गरेका हुन् ।

महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त बास सफलहोस् भनी उनले सूर्यदेवलाई आराधना गरेर यो ब्रत बसेकी थिइन् । 

सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको जनाइएको छ । त्यतिबेला पाण्डवहरू मोरङको विराटनगरस्थित भेडियारी क्षेत्रमा रहेको विराट राजाको दरबारमा लुकेर बसेको पौराणिक किंवदन्ती रहँदै आएको छ । 

सूर्य पुराणमा भने अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलो छठ व्रत बसेकी बताइन्छ । फलस्वरूप उनले अटल सौभाग्य र पतिको प्रेम प्राप्त गरेको उल्लेख छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको पौराणिक कथन रहेको छ ।

छठ पर्वमा ब्रत बसेको खण्डमा दुःख र दरिद्रताबाट मुक्ति पाइने विश्वास रहँदै आएको छ । ब्रत बस्दा विभिन्न प्रकारका फलका झुप्पा–झुप्पै चढाउँदा सूर्य देवता प्रसन्न हुने जनविश्वास रहेको छ ।

त्यस्तै, सूर्यको पूजाआराधना गरी अघ्र्य दिंदा चर्म अर्थात् छाला रोग नलाग्ने पनि धार्मिक विश्वास रहेको छ । 

कतिपय भक्तालुहरूले आइतबार रातभर घाट निर्माण गरिएको नदी, खोला र तलाउ किनारमै रातभर जाग्राम बसेर सोमबार सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिएर आराधना गरेका छन् ।

View : 50

१ मंसिर २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved