विराटनगर । कोभिड–१९ महामारीमा प्रदेश सरकारकै आह्वानमा नागरिकस्तरबाट सहयोग जुटाएर निर्माण गरिएको कोभिड अस्पताल राजनीतिक स्वार्थको निसानामा पर्दै आएको छ । करोडौंका उपकरणहरु रहेको उक्त अस्पताललाई सरकारैपिच्छे नाम फेर्ने तर उपचार सेवाका लागि कुनै ठोस योजना अघि नसार्ने प्रवृत्ति वर्तमान सरकारसम्मै सरेको हो ।
कोभिड महामारी रोकिएपछि प्रदेश सरकारकै निर्णयमा संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रूपान्तरण गरिएको यो अस्पताललाई वर्तमान मुख्यमन्त्री केदार कार्कीले शैलजा आचार्य हृदय रोग केन्द्रका रुपमा नामकरण गरेर सञ्चालनको प्रयास थालेका छन् । केन्द्रको सोमबार उद्घाटन गर्ने उनले तयारी गरिरहेका छन् ।
मुख्यमन्त्री कार्कीले मुटु रोगसँग सम्बन्धित विशिष्टीकृत सेवा उपलब्ध गराउने दाबी गर्दै यो अस्पतालको अवधारणा अघि सारेका हुन् । त्यसका लागि चालु आर्थिक वर्षको विनियोजन अध्यादेश प्रतिस्थापन विधेयकमार्फत बजेट छुट्याएको दाबी गरेका छन् ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मुख्यमन्त्री कार्कीले अस्पताल सञ्चालनको ठोस कार्ययोजनाबिनै माघ १ गतेदेखि हतार हतारमा कोटेसनमा काम लगाएर अस्पतालको संरचनाको निर्माण तथा मर्मत गराएका छन् ।
हृदय रोग केन्द्र सञ्चालनको तयारी अघि बढाए पनि यसअघि त्यहाँ सहयोग गरेका विराटनगरका उद्योगी व्यवसायीहरुले भने आफूहरुसँग कुनै सरसल्लाह नगरी प्रदेश सरकारैपिच्छे अस्पताल निर्माण अघि बढाएको गुनासो गरेका छन् ।
नागरिक केयर सेन्टरका अध्यक्ष समेत रहेका विराटनगरका उद्योगी एवं संविधानसभा सदस्य पवन सारडाले तत्कालीन प्रदेश सरकारकै सहयोगमा नागरिक केयर सेन्टर स्थापना गरेर ४० दिनमा सबै संरचना निर्माण गरे पनि अहिले आएर एक शब्द पनि नसोधी सरकारले आफूखुसी रुपमा अर्को अस्पताल बनाएको बताए ।
उनले मुटु रोगको अस्पताल खोल्नु राम्रो काम भए पनि सरकारलाई नै सहयोग गर्ने निजी क्षेत्र र नागरिक समाजको विश्वासनीयतामै प्रश्न खडा हुने व्यवहार गरेको आरोप लगाए । ‘त्यस्तो कोभिडको महामारीमा हामीले ज्यान जोखिममा राखेर एसीदेखि जेनेरेटर, ट्रान्सफन्सरसम्म, फल्स सिलिङदेखि प्रत्येक बेडमा पुग्ने अक्सिजनको लाइनसम्मको काम दिनरात लगाएर ४० दिनमा सम्पन्न गर्यौं,’ सारडाले भने, ‘सरकारकै आग्रहमा २०० बेडको नागरिक केयर सेन्टर बनायौं, तर आज जुन सरकारले केही राम्रो गर्दैछु भन्ने दाबी गरिरहेको छ, त्यत्रो योगदान गरेको हामीलाई एकशब्द पनि नभनी नयाँ अस्पताल बनाएको कुरा बाहिरबाटै सुन्नुपर्यो ।’
उनले सरकारको व्यवहारले विराटनगरको सामाजिक र निजी क्षेत्र मिलेर हरेक आपतविपद्मा पुर्याउँदै आएको योगदानप्रतिको विश्वासनीयतामाथि प्रश्न उठाइदिएको बताए । यस विषयलाई आफूहरुले गम्भीरताका साथ लिएको सारडाले बताए ।
‘अहिले मुख्यमन्त्री को हुन्छ, को आउँछ जान्छ हामीलाई चासो भइराख्ने विषय होइन, तर सरकारसँगै मिलेर काम गर्ने संस्थाहरुलाई नै बेवास्ता गरिनुले हामीलाई निकै दुखित बनाएको छ,’ उनले भने ।
आफूहरुले सहयोग गरेका र प्रदेश सरकार, विराटनगर महानगरपालिकाको लगानीमा किनिएका करोडौंका स्वास्थ्य पूर्वाधार र उपकरणहरु गोदाममा थन्क्याएको जानकारी आएको भन्दै सारडाले आपत्ति जनाए ।
प्रदेश सरकारले कोभिडको समयमा ५२ वटा आइसीयू बेड राखेर तयार पारेको भवनलाई नै शैलजा आचार्य हृदय रोग केन्द्रका रुपमा विकास गरेपनि त्यहाँका आइसीयू र बेडहरु हटाएर गोदाममा थन्क्याएको हो ।
तत्कालीन अवस्थामा प्रदेश सरकारले आफ्नो सरकारी संयन्त्रबाट काम गर्न ढिलाइ हुने भएपछि नागरिक केयर सेन्टरलाई एक करोड रुपैयाँ निकासा गरेर काम लगाएको थियो । त्यस्तै विराटनगर महानगरपालिकाले २५ लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
अघिल्ला सरकारहरुले संक्रामक रोग तथा सघन उपचार केन्द्रका रुपमा अघि बढाए पनि पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी नहुँदा सरकारको योजनाअनुसार सञ्चालन हुन सकेको थिएन । त्यसयता प्रयोगविहीन बनेका करोडौंका अत्याधुनिक उपकरणहरु अहिले झनै अस्तव्यस्त बनाएर थन्क्याइएका हुन् ।
मुख्यमन्त्री कार्कीले शैलजा आचार्य हृदय रोग केन्द्रका नाममा करिब ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर अस्पताल सञ्चालनको तयारी गरेका हुन् । आफू नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको अवसरमा उनले सोमबार यस अस्पतालको उद्घाटन गर्दैछन् ।
यसैबीच अस्पताल निर्माणका लागि मुख्यमन्त्री कार्की नै मन्त्री रहेको स्वास्थ्य मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टेण्डरलाई छलेर सूचीकृत फर्महरुमार्फत सिधा खरिदको प्रक्रियाबाट उपकरण र आवश्यक सामग्रीहरु खरिद गरेको जनाइएको छ । आपूर्ति व्यवस्थापन केन्द्र स्रोतका अनुसार तत्काल सामग्रीहरु खरिद गर्नु भन्ने आदेश आएकाले सामान खरिद गरिएको हो।
अस्पतालभित्रको पार्टेसन र मर्मत, छानामा जस्तापाता लगाउने लगायतका काम स्वास्थ्य मन्त्रालयमार्फत टुक्रे काम बनाएर माघ १ गतेदेखि हतार हतार गराइएको पाइएको छ । ती सबै ठेकेदार कम्पनी कला बिल्डर्समार्फत भइरहेको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. वीरेन्द्रकुमार मण्डलले भने बजेटको सुनिश्चितता भए पनि बजेट आइनसकेको जानकारी दिए । उनले कुन सामान कुन रेटमा खरिद गरिएको हो भन्ने आफूले सबै बताउन नसक्ने जिकिर गरे ।
यो स्वास्थ्य संरचना २०७६ साल चैत ७ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा रहेको प्रदेश निर्देशन समितिको निर्णयअनुसार कोशी अस्पताल मातहत रहने गरी ५० शय्याको कोभिड १९ उपचार केन्द्रका रुपमा निर्माण गरिएको थियो । अलपत्र अवस्थामा रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाम घरलाई मर्मत गरेर पहिलो चरणमा कोभिड अस्पताल सञ्चालन गरिएको थियो ।
View : 309
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved