आजभन्दा २५–२६ वर्ष अगाडिसम्म पनि विराटनगरको कुनै अग्ला घरको छतबाट हेर्दा वा हवाइजहाजबाट लिइएको विराटनगरको तस्वीर हेर्दा बाक्लो संख्यामा रूखहरू देखिन्थे ।
या भनाै कुनै जङ्गलमा बसाइएको शहर जस्तै देखिन्थ्यो विराटनगर ।
बजार क्षेत्रका घरहरूबाहेक अन्य क्षेत्रमा एक, दुईवटा रूख नभएका घर प्राय हुँदैन थिए ।
प्राय सबैका घरमा आँप, लिच्ची, अम्बा लगायतका फलफूलका रूखहरू हुन्थे ।
विराटनगरको हरेक कुनामा आँपबगैंचाहरू पनि थिए । सार्वजनिक स्थलमा पनि ठूला ठूला बर पिपलका रुखहरू थिए ।
आज समय धेरै अगाडि बढिसक्यो । विकासका लागि बाटोघाटो फराकिलो बनाउने काम भयो ।
बाटो छेउछाउ रहेका गाछीहरू धेरै काटिए ।
मानिसहरूले पनि आफ्नो जमिनको रूख काटेर पसल कबल भाडामा लगाउन मिल्नेगरी सटरसहितको व्यापारिक घर बनाउन थाले ।
जसका कारण हरियाली नासिंदै गैरहेको छ ।
२०४२ सालतिर गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएको थियो ।
रबरको खेती गर्न देशभरि प्रोत्साहन गरियो ।
विराटनगरमा धेरै व्यक्तिहरू कसैले व्यावसायिक रूपमा त कतिले एक दुईवटा भए पनि आफ्नो जमिनमा रबरको रूख रोपेका थिए ।
तत्कालीन नगर पञ्चायत कार्यालयबाट पनि बसपार्क अगाडिलगायत धेरै सार्वजनिक ठाउँमा रबरको वृक्षरोपण गरिएको थियो ।
सुरूका केही बर्ष गोरखकाली रबर उद्योग राम्रोसँग चलेपनि पछि घाटामा जान थाल्यो ।
ऋण काढेर व्यवसायिक रबर खेती गर्नेहरूको त विचल्ली नै भयो साथै व्यक्तिगत जमिनमा र सार्वजनिक स्थलमा रोपिएका रबरका रूख पनि किन हो सखाप नै पारियो ।
विसं २०४४ सालतिर तत्कालीन नगर पञ्चायतबाट धरानरोडको दुबै छेउमा विभिन्न जातका रूखहरू रोपेका थिए ।
दुई चार वर्षपछि ती रूख केही ठूला भए अनि काटिए ।
काटिनुको कारण थियो रूख बढेर माथि विजुलीका तार छोए भन्ने ।
अचम्म लाग्ने कुरा के थियो भने, रूख रोप्नुअगाडि सो कुरा विचार गरेर किन उपयुक्त ठाउँमा रोपिएन , यो प्रश्नको जवाफ कसैले दिएन ।
उक्त रूख काटिसकेपछि अन्य उपयुक्त ठाउँमा पुनः वृक्षरोपण पनि गरिएन ।
वि सं २०४६ सालतिर ‘अहिले सिसौंको रूख रोपे २५ वर्षमा हजारौं रूपैयाँ आम्दानी हुन्छ’ भनेर प्रचार गरियो ।
धेरै मानिसहरूले आफ्नो खेतमा समेत अरू बाली नलगाउनेगरी सिसौको जङ्गल नै बनाएर रोपेका थिए ।
सरकारी स्तरबाट पनि नहरको दाहिनेपट्टिको डिलमा सिसौको जङ्गल बनाइएको थियो ।
केही वर्षपश्चात २०५०, ०५२ सालतिर सिसौका रूखमा रोग लाग्यो, त्यो फैलियो भने अरू बनस्पतीलाई पनि हानी पु¥याउँछ भन्दै हुर्कीसकेका सबै रूखहरू काटियो ।
बि.सं. २०५५ सालतिर कुनै एउटा गैरसरकारी संस्थाको पहलमा बरगाछीदेखि दक्षिणी भेगसम्म धरानरोडको बीच डिभाइडरमा रूखहरू रोपिएको थियो ।
रूखहरू हुर्कंदै गर्दा सडकमा विभिन्न मोडहरूमा विपरीत दिशाबाट आउने, जाने सवारीसाधनहरू तथा पैदलयात्रुहरू छेलिएर चालकको नजरमा पर्दैनथे र जसको कारण दुर्घटना बढ्यो भनेर डिभाइडरमा हुर्र्किसडेका ती रूखहरू काटिएका थिए ।
डिभाइडरको भुइँ पनि पीच नै थियो । पिचमाथि केही फिट माटो पुरिएको सो ठाउँमा ठूला रूखहरू रोप्नु कत्तिको सुरक्षित थियो ? सो कुरा सोचिएको थियो कि थिएन थाहा छैन ।
वर्तमान समयमा हामी सबैले देखिरहेका छौ, महानगरपलिकाले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग आर्थिक सहयोग लिएर धरानरोडको डिभाइडरमा बरगाछीदेखि दक्षिण बोर्डरसम्म हरियाली सौन्दर्यकरण गर्ने भनी विभिन्न जातका विरूवा रोपण गरिंदै छ ।
विरूवाहरू अहिले सानै रहेका र हुर्किन बाँकी छन् तर घाँस बढेर घाँसेजंगल हुन थालेकोले अहिले सौन्दर्यकरण भैसकेको देखिदैन ।
साथै विराटनगरमा हरियाली बृद्धि गर्न ‘गो ग्रिन विराटनगर’ नामक संस्था र अभियन्ता पारूल क्षेत्रीको टोलीले विराटनगरका धेरै सडकहरूको छेउछाउलगायत अन्य खाली ठाउँमा पनि अभियान नै चलाएर रूख विरूवा रोपिरहेका छन् ।
यसमा धेरै विराटनगरवासीहरूको साथ र समर्थन रहेको छ ।
गोरखकाली रबर उद्योग स्थापना भएपश्चात धेरै व्यक्ति उत्साहित हुँदै, आफ्नो जीवनस्तर बढ्ने आशामा रोपेको रबरको रूख कुशासक र भ्रष्टाचारी जस्ता आपराधिका स्वार्थको कारण उद्योग धरासायी पारेर आममानिसलाई धोका दिएको कुरा छर्लङ्ग बुझ्न सकिन्छ ।
तर, त्यसपछि पटक पटक वृक्षारोपण गर्दै केही बर्षपछि सो वृक्ष नाश गर्नु यथार्थमा के कारण थियो होला, कतै वृक्षरोपणको लागि विदेशी अनुदान ल्याउने अनि पछि फेिर विदेशी अनुदान पुनः हात पार्न कै लागि सो वृक्ष नाश गरेका त होइनन्, यो बाहेक वास्तविकता अर्कै छ भने कसैले बताइदिए म आभारी हुने थिएँ ।
पहिले विराटनगरमा विजुलीको हाइटेन्सन लाइनबाहेक घर घरमा विजुली पुर्याउन काठको खम्बा प्रयोग गरिन्थ्यो ।
पछि, वन बिनास भएको, वर्षातको समयमा करेण्ट फैलिएको, असुरक्षित भएको जस्ता विभिन्न कारणले उक्त खम्वा बिस्थापित गरेर सिमेण्टको पोल प्रयोगमा ल्याइयो ।
मैले संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी राज्य माइनेदेखि दक्षिण पश्चिमको क्यालिफोर्निया राज्यलगायत २२ वटा राज्यहरू घुम्दा सबैतिर अझै पनि काठका पोलहरू नै प्रयोग भइरहेको देखें ।
संसारको सबैभन्दा विकसित राष्ट्रमा काठको खम्बा प्रयोग गर्दा समस्या नहुने तर हरेक वर्ष आवश्यकता अनुसार विरूवा रोपेर, त्यसलाई संरक्षण गरेर कम खर्चमा काठको खम्वा उत्पादन गर्न सकिनेमा एक गरिब राष्ट्रमा भने खर्चिलो कङ्क्रिटको खम्बा प्रयोग गर्नु पर्ने , कस्तो अचम्म ।
अन्त्यमा हाल महानगरपालिकाको अग्रसरतामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहयोगमा धरानरोडको डिभाइडरमा हुर्काइँदै गरिएको रूखहरूका कारण भविष्यमा विगतमा जस्तै दुर्घटना बढेमा के गरिन्छ .
अनि पारूल क्षेत्री लगायतका अभियन्ताहरूले सडक छेउछाउ रोपेको विरूवा बढेर विजुलीका तार छोएपछि कसरी व्यवस्थापन गरिएला ,
तसर्थ साँच्चिकै विराटनगरको हरियाली सौन्दर्यीकरण गर्ने हो भने महानगरपालिकाले इमान्दारितापूर्वक प्रतिवद्ध भएर सबै हरियाली अभियन्तालगायत आमजनताको साथ सहयोग लिएर दीर्घकालीन सोच राखी व्यवस्थित र योजनाबद्ध ढङ्गले अघि बढ्न आवश्यक छ ।
View : 349
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved