Biratnagar, Morang, Nepal
२४ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

सामुदायिक कुकुर र बिहान हिंड्नेहरूको त्रास

माधव अधिकारी
२४ कार्तिक २०८३, मङ्गलवार

Advertisement

शहरी समाजमा बिहानको समयमा ताजा हावा लिन, शारीरिक व्यायाम गर्न वा बिहानको समयमा बाहिर निस्कने बानी आम नागरिकहरूमा गहिरो रूपमा बसिसकेको छ ।

व्यस्त जीवनशैलीबाट केही समय निकालेर आफ्ना लागि समय दिनु र स्वस्थ जीवनशैलीको अवलम्बन गर्नु शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि अति उत्तम मानिन्छ ।

 

बिहानको यो समय शारीरिक रूपमा सक्रिय हुन मात्र होइन, मानसिक शान्तिको अनुभूति गर्न र प्राकृतिक सौन्दर्यसँग साक्षात गर्नका लागि पनि स्वर्णिम अवसर हो ।

तर, पछिल्लो केही वर्षयता बिहानको यो शान्त र स्वास्थ्यवर्धक समय सडकमा घुम्ने सामुदायिक कुकुरहरूको आतङ्कका कारण ठूलो त्रास र अनिश्चिततामा परिणत हुँदै गएको छ ।


 बिहान सबेरै सडकमा निस्कने नागरिकहरूका लागि सामुदायिक कुकुर (हेपाइती बोलीमा भुस्याहा कुकुर) हरूको उपस्थिति एक गम्भीर चुनौती बनेको छ ।

एकातिर कुकुरले टोक्ने र त्यसबाट रेबिज जस्ता भयानक रोग सर्ने डर छ भने अर्कोतिर अनायासै हुने आक्रमणले उत्पन्न गर्ने मानसिक त्रासले मानिसहरूलाई घरभित्रै सीमित हुन बाध्य पार्दैछ ।


बिहानको समयमा मानिसहरूको चहलपहल कम हुने र सडकहरू प्रायः सुनसान रहने हुनाले कुकुरहरूले आफ्नो बथान बनाएर बस्ने गर्छन् ।

यही समयमा जब कोही व्यक्ति दौडिन वा हिंड्नका लागि सडकमा निस्कन्छ, तब कुकुरहरूले त्यसलाई आफ्नो क्षेत्रमा भएको हस्तक्षेप वा खतराको रूपमा लिने गर्छन् ।

परिणामस्वरूप, बथानका बथान कुकुरहरू एक्कासी मानिसतिर झम्टिन आउने, पछि लाग्ने वा भुक्दै आक्रमण गर्ने समस्या अत्यधिक बढेको छ ।

यसरी बिनाकारण कुकुरको आक्रमणमा पर्नुपर्ने अवस्थाले गर्दा बिहान हिँड्ने नागरिकहरूको सुरक्षामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

विशेष गरी वृद्धवृद्धाहरू र बालबालिकाहरू यसको अत्यधिक चपेटामा परेका छन् । उमेर ढल्किसकेका वृद्धवृद्धाहरू कुकुरले अचानक आक्रमण गर्दा भाग्न वा आफ्नो बचाउ गर्न शारीरिक रूपमा असमर्थ हुन्छन् भने बालबालिकाहरूमा यसले दीर्घकालीन रूपमा गहिरो मनोवैज्ञानिक त्रास पैदा गर्ने गरेको छ ।

बिहानको शान्त वातावरणमा शारीरिक व्यायामको आनन्द लिनुको सट्टा कतिबेला कुकुरले आक्रमण गर्छ भन्ने डर बोकेर हिँड्नुपर्ने यो बाध्यात्मक परिस्थिति निकै दयनीय छ ।
सामुदायिक  कुकुरको यो समस्या केवल सैद्धान्तिक वा काल्पनिक मात्र होइन, यो हामीले दैनिक समाजमा प्रत्यक्ष भोगिरहेको कडा र तितो यथार्थ हो ।

 

विराटनगर–३ का नवीन यादव बिहान–बिहान फुटबल खेल्न जाँदा एक दिन कुकुरले खेदायो र घुँडामा नंग्रा गाड्यो ।

त्यस घटनादेखि उनलाई कुकुर देख्दा सधैँ डर लाग्ने गरेको छ । त्यस्तै, अर्का स्थानीय नागरिक पत्रकार प्रेम देवान पनि सडकमै कुकुरकै कारण स्कुटर दुर्घटनामा परेका छन् ।

यी दुई घटना त केवल प्रतिनिधि पात्र र उदाहरण मात्र हुन्; गाउँदेखि शहर बजारसम्म कुकुरसँग जोडिएका यस्ता कहालीलाग्दा घटनाहरू सयौँको संख्यामा दिनप्रतिदिन भइरहेका छन् ।
 कुकुरले मानिसलाई टोक्छन् वा लखेटेर दुर्घटनामा पार्छन्, तर त्यसको जिम्मेवारी लिने कुनै मालिक हुँदैन र घाइतेले आफ्नो उपचार खर्च आफैँ व्यहोर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

यस्तो विकराल र भयावह अवस्था आज देशैभरिका सबै शहरमा व्याप्त छ । तर यहाँ सबैभन्दा ठूलो प्रश्न यो उठ्छ कि जनताका प्रतिनिधिहरूले जनताको यो पीडा, आवाज र सुरक्षाको चित्कार किन नसुनिरहेका होलान् ?
यसै गम्भीर विषयमा प्रकाश पार्दै पत्रकार प्रेम देवानले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको विचारले पनि स्थानीय नागरिकको वास्तविक पीडालाई मुखरित गर्दछ ।

उहाँका अनुसार विराटनगरमा लामो समयदेखि छाडा चौपाया र सामुदायिक कुकुरको समस्या अति विकराल रूपमा कायम छ ।

सडकमा जथाभावी हिँड्ने चौपाया र कुकुरका कारण दिनहुँ सवारी दुर्घटनाको जोखिम बढेको छ भने नागरिकले दैनिक आवतजावतमा समेत ठूलो   सास्ती भोगिरहेका छन् ।

यो केवल सडक व्यवस्थापनको सामान्य विषय मात्र नभएर नागरिकको प्रत्यक्ष सुरक्षा र सार्वजनिक स्वास्थ्यसँग जोडिएको अत्यन्तै गम्भीर समस्या हो ।

त्यसैले आगामी दिनमा नगरको नेतृत्व सम्हाल्न चाहने प्रतिनिधि वा उम्मेदवारहरूलाई उहाँको स्पष्ट सुझाव छ कि चुनावी नारा र आश्वासनमा मात्र सीमित नभई छाडा चौपाया तथा सामुदायिक कुकुरको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने ठोस र व्यावहारिक योजना ल्याउनुपर्छ ।


 कुकुरको मानवीय व्यवस्थापन, बन्ध्याकरण तथा खोप कार्यक्रम, सडकमा छाडा चौपाया नियन्त्रण र जिम्मेवार निकायको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखेर दिगो समाधान खोज्न आवश्यक छ ।

विराटनगर लगायतका सम्पूर्ण शहरहरूलाई सुरक्षित, व्यवस्थित र नागरिकमैत्री शहर बनाउने नेतृत्व नै आजको साँचो आवश्यकता बनेको छ ।  

 

सामुदायिक कुकुरहरूको यो आतंक केवल शारीरिक चोटपटकमा मात्र सीमित छैन, यसले मानिसको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पु¥याइरहेको छ ।

कतिपय मानिसहरू कुकुरको टोकाइ वा आक्रमणबाट बच्नका लागि बिहान हिँड्न जानै छोडिसकेका छन् भने कतिपयले आफ्नो नियमित बाटो बदल्न बाध्य भएका छन् ।

जब कुनै व्यक्तिलाई कुकुरले लखेट्छ वा टोक्छ, तब उसको मनमा उत्पन्न हुने भय र त्रास लामो समयसम्म रहिरहन्छ । सामुदायिक कुकुरको टोकाइबाट सर्ने रेबिज रोग त झन् शतप्रतिशत जस्तै घातक मानिन्छ ।

यदि समयमै यसको उपचार र खोप पाइएन भने यसले अकालमै ज्यानै समेत लिन सक्छ ।

हाम्रा सडकहरूमा घुम्ने अधिकांश सामुदायिक कुकुरहरूले कुनै पनि किसिमको स्वास्थ्य परीक्षण वा रेबिजविरुद्धको खोप पाएका हुँदैनन् ।

यसले गर्दा टोकाइको घटना सामान्य लागे पनि त्यसको परिणाम ज्यादै गम्भीर हुन पुग्छ ।

 

यसरी नागरिकहरूको दैनिक जीवन र स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको यस समस्यालाई अब सरकार तथा समाजले बेवास्ता गर्न मिल्दैन ।
यसै सन्दर्भमा, आम मानिसको मनमा उठ्ने एउटा महत्त्वपूर्ण र गम्भीर प्रश्न यो हो कि के साँच्चै सामुदायिक कुकुरहरू हाम्रो समाजका लागि आवश्यक छन् ?

यो प्रश्नमा समाजमा विभिन्न किसिमका दृष्टिकोणहरू पाइन्छन् । एकातिर पारिस्थितिकीय प्रणाली र प्रकृतिप्रेमी दृष्टिकोणबाट हेर्दा, पृथ्वीमा जन्मिएका हरेक जीवजन्तुको बाँच्न पाउने अधिकार हुन्छ र उनीहरूको पनि आफ्नै किसिमको अस्तित्व हुन्छ ।

प्राचीन समयमा र अझै पनि केही हदसम्म कुकुरहरूले मानव बस्तीका फोहोरमैला र सिनोहरू खाएर वातावरणलाई केही हदसम्म सफा राख्न मद्दत पु¥याएका छन् ।

तर, आधुनिक सहरीकरण, व्यवस्थित फोहोरमैला व्यवस्थापन प्रणाली र सरसफाइका अत्याधुनिक प्रविधिहरू विकास भइसकेको आजको युगमा यो तर्क धेरै हदसम्म कमजोर भइसकेको छ ।

 

अर्कोतर्फ, पशु अधिकार र मानवीय संवेदनाका पक्षधरहरू सडकमा आश्रित मूक प्राणीहरूलाई निर्मम ढङ्गले लखेट्नु वा मार्नु सभ्य समाजको परिचय होइन भनी तर्क गर्छन् ।

यो द्विविधाको बीचमा यथार्थ कुरा के हो भने, सामुदायिक कुकुरहरूलाई  उचित व्यवस्थापन आजको टड्कारो आवश्यकता हो ।

यदि हामीले सामुदायिक कुकुरहरूको संख्यालाई अनियन्त्रित रूपमा बढ्न दियौं भने यसले मानव जीवन र सुरक्षालाई गम्भीर संकटमा पार्छ ।

तर यसको मतलब यो होइन कि उनीहरूलाई क्रूरतापूर्वक सडकबाट हटाइयोस् वा मारियोस् ।

यसको सट्टा, वैज्ञानिक र मानवीय दुवै पक्षलाई समेट्ने गरी प्रभावकारी व्यवस्थापन नीति लागू गर्नुपर्छ ।

सामुदायिक कुकुरहरूको समस्यालाई दिगो रूपमा समाधान गर्न स्थानीय तह, महानगरपालिका, नगरपालिका तथा गाउँपालिका लगायतका सरकारका निकायहरूले गम्भीर भएर लाग्न जरुरी छ ।

यस दिशामा सबैभन्दा पहिलो र प्रभावकारी कदम भनेको नियन्त्रित बन्ध्याकरण अभियानलाई व्यापक र कडा रूपमा लागू गर्नु हो ।

 

जबसम्म सामुदायिक कुकुरहरूको जन्मदरलाई वैज्ञानिक तरिकाले नियन्त्रण गरिँदैन, तबसम्म जति नै प्रयास गरे पनि कुकुरहरूको संख्या घट्ने छैन ।

यसका साथै, सडकमा हिँड्ने प्रत्येक कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउनुपर्छ ।

यदि सबै कुकुरहरू खोपप्राप्त छन् भने, कुनै कारणवश कसैलाई टोकिहाले पनि त्यसबाट ज्यानै जाने खालको रेबिज रोग सर्ने खतरा नगण्य हुन्छ ।

यस्ता अभियानहरू कागजी योजनामा मात्र सीमित नभई धरातलमा प्रभावकारी ढङ्गले कार्यान्वयन हुनुपर्छ ।

 

बन्ध्याकरण र खोपका अतिरिक्त, सहरी क्षेत्रहरूमा पशु आश्रय स्थलहरूको निर्माण गर्नु अर्को बुद्धिमानीपूर्ण कदम हुनेछ । धेरै जसो सडक कुकुरहरू बिरामी, बुढा वा असाध्यै आक्रामक स्वभावका हुन्छन्, जसलाई खुला सडकमा छाड्दा मानिसहरूलाई बढी खतरा हुन्छ ।

यस्ता कुकुरहरूलाई नियन्त्रणमा लिएर विशेष आश्रय स्थलहरूमा राखी उनीहरूको उचित रेखदेख र खानपानको व्यवस्था मिलाउन सकेमा सडकको त्रास स्वतः कम भएर जान्छ ।

यस कार्यमा स्थानीय सरकारसँगै विभिन्न पशु कल्याणकारी संस्थाहरू र स्वयम्सेवकहरूको सहकार्य लिइनुपर्छ ।

यस समस्याको अर्को महत्त्वपूर्ण पाटो भनेको नागरिकहरूको बानीमा सुधार र फोहोर व्यवस्थापन हो ।

धेरै ठाउँमा मानिसहरूले घरमा बचेका खानेकुराहरू वा पुराना खानाहरू जथाभावी सडकमा फालिदिने गर्छन्, जसले गर्दा त्यहाँ कुकुरहरूको ठूलो भीड जम्मा हुने गर्छ ।

जब कुकुरहरूले नियमित रूपमा एउटै ठाउँमा खानेकुरा पाउँछन्, उनीहरू त्यही क्षेत्रलाई आफ्नो इलाका ठानेर बस्छन् र नयाँ मानिसहरू देख्दा आक्रमण गर्न थाल्छन् ।

त्यसैले, जथाभावी खाना फालिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ र सहरको फोहोर व्यवस्थापन प्रणालीलाई चुस्त बनाउनुपर्छ ताकि कुकुरहरू खानाको खोजीमा सडकमा भौंतारिन नपरोस् ।


अन्त्यमा सामुदायिक कुकुरहरूको आतंक आज कुनै सामान्य वा व्यक्तिगत समस्या मात्र रहेर एउटा राष्ट्रिय जनस्वास्थ्य र सार्वजनिक सुरक्षाको विषय बनेको छ ।

बिहान हिंड्ने नागरिकहरूको जीवन रक्षा र सुरक्षा पहिलो र सर्वोपरी सर्त हो भने, अर्कोतर्फ मूक प्राणीहरूप्रति मानवीय र सदभावपूर्ण व्यवहार गर्नु हाम्रो नैतिक दायित्व पनि हो ।

यी दुवै पक्षबीच सन्तुलन कायम गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।

यदि स्थानीय सरकार, सम्बन्धित निकाय, पशु अधिकारकर्मी र आम नागरिकहरू सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक सहकार्य गरेर वैज्ञानिक व्यवस्थापनको बाटो अपनाए भने, सामुदायिक कुकुरको त्रासबाट मुक्ति पाउन सकिन्छ र हामी सबैको दैनिक यात्रा सुरक्षित, शान्त र आनन्ददायक बन्न सक्छ ।

(माधव अधिकारी पतञ्जली याेग  विराटनगर महानगरका अध्यक्ष हुन् ।)

View : 65

२४ कार्तिक २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved