उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा खोलामाथि १२ वर्ष लगाएर बनाइएको पुल बाढीले बगाउँदा खोलामा ह्यूमपाइप राखेर बनाइएको बाटोबाट सवारी साधन सञ्चालन गरिंदै आएको छ । तस्वीर : उद्घोष
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा खोलामाथि झण्डै १२ करोड रूपैयाँ खर्चिएर १२ वर्षमा एउटा पुल निर्माण भयो । तर, अहिले सो पुलबाट गाडी गुड्दैनन् । २०६७ सालमा निर्माण सुरु भएर बनेको ‘शिवाई पुल’ उद्घाटन तयारी गर्दागर्दै २०७८ मा त्रियुगा बाढीको चपेटामा पर्यो ।
२०७८ असार २९ को बाढीले पुलको शिवाईतर्फको पिलर नै बांगिएर एउटा स्पान खोलामा खस्यो, अर्को स्पान भने बांगियो । लगत्तै साउन २ मा फेरि त्रियुगा खोलामा बाढी उर्लियो । बाढीले अन्य पिलर पनि बंग्याउँदा थप दुईवटा स्पान खोलामा खसे ।
बल्लतल्ल बनेको पुलबाट गाडी नगुड्दै बालुवा मात्रै बगाएर ल्याउने त्रियुगा खोलाको बाढीले पुल क्षतिग्रस्त बनाइदिएको हो ।
त्रियुगा नदीले चौदण्डीगढीको वडा नम्बर ५ स्थित बेल्हा र शिवाई बजारलाई छुट्याउँछ । त्यस्तै वडा नम्बर ६ र ९ पनि त्रियुगा खोलाको पारी पर्ने भएका कारण यी वडाका बासिन्दालाई वर्षायाममा पालिकाको केन्द्र बेल्टार बजार पुग्न नाउ (काठको डुंगा) बाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
पालिका मुकाम बेल्टारसँग वडा नम्बर ५ को शिवाई, सुन्दरपुरसहित वडा नम्बर ६ र ९ लाई जोड्न शिवाई पुलबाहेक अहिलेसम्म विकल्प छैन ।
२०६७ असार २३ मा ठेकेदार कम्पनी महालक्ष्मी÷लोकप्रिय जेभी कलंकी काठमाडौंसँग ९ करोड ७६ लाख रूपैयाँको लागतमा तीन वर्षभित्र शिवाई पुल बनाइसक्ने गरी सम्झौता भएको थियो ।
२०७० असार २२ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नु पर्ने शर्त भए पनि पुल बनिसक्नलाई १२ वर्ष कुर्नु परेको थियो । लागत पनि बढेर झण्डै १२ करोड पुगेको थियो ।
१० वटा पिलर र २५ मिटरका १२ वटा स्पान रहेको र पाँच मिटर चौडाई रहेको यो पुलले सप्तरीको फत्तेपुर बजारलाई समेत मदन भण्डारी राजमार्ग अन्तरगत बेल्टार बजारमा जोडेको थियो । सोही कारण शिवाई पुलको निर्माण चर्चामा मात्रै सीमित थिएन, विगतका निर्वाचनमा उम्मेदवारहरूलाई भोट माग्ने गतिलो माध्यम बन्दै आएको थियो ।
पुलको पिलर निर्माण गर्ने क्रममा खोला मुनि रुखका ठूला मुढा भेटिएको र सरकारले समयमा कम्पनीलाई भुक्तानी नदिएको जस्ता समस्या ठेकेदार पक्षले अघि सार्दा पुल निर्माणमा ढिलाई भएको थियो ।
पुल निर्माणका लागि तयार पारिएको प्राविधिक स्टिमेट नै त्रुटिपूर्ण भएका कारण निर्माण अवधि लम्बिन पुगेको सम्वद्ध एक इन्जिनियरले बताए । पुल बनाउन जग खन्ने क्रममा वर्षौंअघिका रुखका जरा र मुढा भेटिएर पुनः प्राविधिक स्टिमेट गर्नु पर्दा निर्माणको अवधि पर धकेलिएको उनले उल्लेख गरे । यस्तो अवस्थामा काम गर्न कठिन भएको भन्दै निर्माण व्यवसायीले पनि कामै नगरी वर्षौं समय खर्चिए ।
चुनौतिका वावजुद शिवाई पुल तयार त भयो, तर बाढीले पिलर र स्पान बगाइदिंदा अहिले नदीमा ह्यूमपाइप राखेर सवारी साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको वडा नम्बर ५ का वडाध्यक्ष तुलसीराम ढकालले बताए ।
वडाध्यक्ष ढकालले आफैं पुल पुनर्निर्माणका लागि दवाव दिन गठित ११ सदस्यीय संघर्ष समितिको संयोजक रहेर सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएको बताए । तर, परिणाम अहिलेसम्म नआएको उनले गुनासो गरे ।
‘यो पुलको विषयमा प्रधानमन्त्री तहमै तीन पटक छलफल भइसकेको छ, मन्त्री र सचिव तहमा त कति हो कति’ वडाध्यक्ष ढकालले भने, ‘हामीले दलका नेताले गरेनन् भनेर दललाई नै निषेधित पनि गर्यौं, तर सबैभन्दा अप्ठेरो कर्मचारीतन्त्रबाट हुने रहेछ, कर्मचारीले अनेक बहाना बनाएर कामै अघि बढाइ दिंदैनन्, राज्यको ध्यान जानु आवश्यक छ ।’
पुल नबनुञ्जेललाई झोलुङ्गे पुल
वर्षायाममा त्रियुगा खोलामा बाढी आउँदा चौदण्डीगढी नगरपालिकाको तीनवटा वडाका बासिन्दालाई पालिकाको मुकाम बेल्टार बजार पुग्न कठिनाई हुँदै आएको छ । उनीहरूले सप्तरीको फत्तेपुर बजार हुँदै बसाहाबाट घुमेर बेल्टार जानुपर्ने अवस्था रहेको छ ।
तत्कालका लागि झोलुङ्गे पुल निर्माण गर्न कोशी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।
पुरानो पक्की पुल मर्मत सम्भारको टेण्डर नै रद्ध भएको र ठेकेदारले पहिले काम गरेको पैसा पनि नपाएको गुनासो नगरपालिकामा आउने गरेको जनप्रतिनिधिहरूले बताए ।
भत्किएको पुलबाट आवत–जावत गर्न र मानिसलाई आपतकालीन सेवा प्रवाह गर्न पुलको पक्की संरचनामा जोडिने गरी कोशी प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाएको हो ।
पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गंगासागर यादवले बाढी आएको बेलामा आवत–जावत गर्न अस्थायी संरचनाका रुपमा ६० लाख रूपैयाँ लगानी लगेर उक्त स्थानमा झोलुङ्गे पुल जडान गर्न लागिएको बताए । उनले उपभोक्ता समितिमार्फत आगामी चैत मसान्तभित्र झोलुङ्गे पुल सम्पन्न गरिसक्ने बताए ।
‘पहिलेको पक्की पुल भत्किएपछि प्रदेश सरकारले ६० लाख रूपैयाँ विनियोजन गरेर झोलुङ्गे पुल निर्माणको काम अघि बढाएको छ, नयाँ पुल बनेको खण्डमा झोलुङ्गे पुललाई खोलेर अर्को ठाउँमा लैजान पनि मिल्छ’ इन्जिनियर यादवले भने, ‘उपभोक्ता समितिमार्फत अस्थायी संरचनाका रुपमा पुल बनाइन्छ, मानिससहित साइकल, मोटरसाइकल र आपतकालीन यात्रा गर्न सहज बनाउने मुख्य उद्देश्य हो, चैतसम्म निर्माण गरिसक्ने लक्ष्य छ ।’
अर्को नयाँ पुलको माग
बनिसकेको पुल बाढीले बगाइदिएपछि दलका नेता कार्यकर्ता, कोशी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीदेखि प्रदेशसभाका सांसदहरू, सडक विभागका निर्देशकदेखि पुल महाशाखाका इन्जिनियरलगायत उच्च तहका प्राविधिक कर्मचारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुल्चोक इन्जिनियरिङ क्याम्पसका इन्जिनियर र विद्यार्थी लगायतले बाढीले क्षति गरेको शिवाई पुलको पटक–पटक स्थलगत अनुगमन गरिसकेका छन् ।
तर, अहिलेसम्म पुल मर्मत वा अन्य वैकल्पिक व्यवस्थाको काम अघि बढ्न नसकेको स्थानीय शिक्षक भाष्कर चौधरीले बताए । पुल नहुँदा आपतकालीन सेवा, औषधि उपचार, प्रहरी प्रशासनसँगको समन्वयको काम गर्न निकै कठिनाई हुने गरेको उनले बताए ।
पुल बनाउन पहल गर्ने, मन्त्रालय धाउने र पत्राचार गर्दै राजनीतिक पक्ष विपक्षमा जनतालाई उभ्याएर जस लिने होडबाजी चलेपनि पुल पुनर्निर्माणको काम भने अघि बढ्न सकेको छैन ।
चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले पुल नहुँदा जनताले धेरै दुःख पाएको बताए ।
उनले पुल बगाएको ठाउँमा पुरानो पिलर निकालेर नयाँ पिलर राख्न प्राविधिक रुपमा अझ कमजोर हुने भन्दै प्राविधिकहरूले सही गर्न नमानेको बताए ।
‘पुल बन्दैखेरी डिजाइनमा कमजोरी भएको रहेछ’ मेयर लामाले भने, ‘यहाँ अब नयाँ पुल बनाउनुको विकल्प छैन, पुल जनताको प्राथमिकताको विषय भएको छ, किनभने यस क्षेत्रका जनताले पुल नहुँदा धेरै नै दुःख पाइसकेका छन् ।’
उनले नयाँ पुल निर्माणका लागि चालु आर्थिक बर्षमा तीन करोड रुपैयाँ विनियोजन भइसकेको जानकारी दिए । तर, विगतको अनुभवले नयाँ पुल पनि समयमा नबन्ने हो कि भन्ने चिन्ता भने कायमै रहेको बताए ।
‘नयाँ पुल बनाउनु प¥यो भने डीपीआर गरेर टेण्डर निकाल्न पनि पाँच वर्ष त्यसै लाग्छ’ मेयर लामाले व्यंग्य गरे ।
हरेक बर्ष खोलामा ह्यूमपाइप
बनिसकेको पुलको पिलर र स्पान बगाएयता हिउँद याममा मात्रै सवारी साधन सञ्चालन हुनेगरी त्रियुगा खोलामा ह्यूमपाइप राखेर यातायात सञ्चालन गरिंदै आएको छ ।
सवारी साधन त्रियुगा खोलामाथि ह्यूमपाइप राखेर बनाइएको बाटोबाट गुड्छन् । वर्षा लागेपछि त्रियुगा बाढीले ह्यूमपाइप बगाउँछ र डुंगा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
नगरपालिका र ५ नम्बर वडा कार्यालयले हरेक वर्ष त्रियुगा खोलामा ह्यूमपाइप राख्न थप बजेट छुट्याउने बाध्यता रहेको वडाध्यक्ष ढकालले बताए ।
‘यसपटक पनि वडा र नगरपालिका मिलेर खोलामा २२ वटा ह्यूमपाइप राखेर बाटो बनाएका छौं, झण्डै ३ लाख रूपैयाँ खर्च भइसकेको छ, बेलाबेलामा बिग्रिइरहने भएकोले मर्मत पनि गर्नैपर्छ’ उनले भने, ‘हरेक वर्ष पाँच लाख रुपैयाँ त खोलामै बगाउन खर्च गर्नुपर्छ, एक साल लगाएको ह्यूमपाइप अर्को सालको बाढीले बगाइहाल्छ, तर जसरी पनि गाडी चलाउनु पर्ने बाध्यता छ, ह्यूमपाइप राखेरै भएपनि हामीले सबै प्रकारका सवारी साधन ओहोरदोहार गर्नसक्ने बनाएका छौं ।’
View : 217
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved