समाचार टिप्पणी
विराटनगर । नेकपा एमाले विराटनगर महानगरको चुनावी नतिजा पनि आफ्नो पक्षमा पारेपछि विनोद ढकाल र उनको पक्षले सन्तोसको सास फेरेको छ । महानगरसम्मको निर्वाचन सम्पन्न हुँदा खासगरी मानगढ खानेपानीको निर्वाचनको विवादले सुरु भएको एमाले मोरङभित्रको कचमचलाई एउटा किनारा दिएको छ ।
त्यसो त प्रदेश अध्यक्ष घनश्याम खतिवडा, तत्कालीन जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, तत्कालीन जिल्ला इन्चार्ज हिक्मत कुमार कार्की, पछिल्लो समय जिल्ला इन्चार्ज बनेका जीवन घिमिरे, मोरङकै भुगोल प्रतिनिधित्व गर्ने केन्द्रीय नेता भानुभक्त ढकाललगायतको स्वार्थ मिलेपछि एमालेभित्र मानगढ प्रकरण मन्चित भएको थियो । यी सबै नेताहरू कसैगरि विनोद ढकाललाई ‘साइज’ मा राख्न चाहन्थे । निहुँ बनेर आइदियो, मानगढ खानेपानी चुनाव ।
खानेपानी निर्वाचनमा जिल्ला तहका नेताहरुको उम्मेदवार एकजना थिए, तत्कालीन महानगर अध्यक्ष सागर थापाको उम्मेदवार अर्कै । पार्टीले कहिँकतै निर्णय नगरेको उम्मेदवारलाई आधिकारिक भन्दै जिल्ला नेताहरूले महानगर अध्यक्ष थापासहितका नेताहरूलाई कार्वाही गरे । यो सवै काम गर्नका लागि अघि सारिएका अर्का पात्र थिए बाबुराम कार्की । संगठन कमिटी अध्यक्षको सपथ समेत नलिइ उनले थापासहितका नेतालाई कार्वाहीको पत्रमा हस्ताक्षर गरेका थिए ।
त्यसबेला कार्वाही थापाहरू माथि भएको थियो । तर, यो कार्वाहीको मुख्य लक्ष्य भने विनोद ढकाललाई कमजोर बनाउनु थियो । सबैजसो नेताहरुको मक्सद एकै थियो । ‘यसैगरी ढकालका सहयोगीहरूलाई रेट्दै जाने हो’ ती नेताहरुको भनाइ यस्तै लक्ष्यमा एकै हुन्थ्यो ।
तत्कालका लागि त संस्थापन पक्षका नेताहरुको दाउ सफल नै भयो । सागर थापालाई कार्वाही गरेर महानगरमा रोहित कोइरालालाई अध्यक्ष बनाउने, पर्शुराम बस्नेतलाई महानगर इन्चार्ज बनाउने काम नेताहरूले गरे । पर्दामा यहि ‘सिन’ चलिरहँदा जिल्लामा पनि बाबुराम कार्की लगायतको टिम नेतृत्वमा आइसकेको थियो ।
यद्यपि आफूलाई संस्थापन भन्ने यो समूहको रजाइँ एमाले मोरङमा लामो टिकेन । अध्यक्ष केपी शर्मा ओलीको नाममा रटाएर पिलाउन खोजिएको ‘संस्थापन टिम’ ले समर्थन गर्दा पनि मोरङ जिल्ला कमिटीमा अजम्बर राई अध्यक्षमा निर्वाचित बने । ‘हारिहाल्छ’ भन्ने निश्कर्षका साथ ‘लडोस्’ भनेर छाडिएका सागर थापाको शक्तिशाली उपस्थितिलाई रोक्न जिल्ला अधिवेशनकै दौरानमा ‘ढकाललाई होइन, पहिले थापालाई साइजमा ल्याउनुपर्छ’ भन्ने नयाँ बाण पनि भेदन भयो । संस्थापन भनिएको पक्षमा ‘बरु राजकुमार ओझा हार्दा केही नहोला, तर सागरले जित्नु हुँदैन’ भनेर मतदानको अघिल्लो रात लामै गलफत्ती चल्यो ।
जे जे गर्न खोजियो, अन्तिममा सवै उल्टो भयो । थापा आफुलाई पहिले कार्वाही गर्ने टिमलाई नै हराएर उपाध्यक्षमा निर्वाचित भए । बहुसंख्यक पदमा ढकाल पक्षकै उम्मेदवारले जिते । जसै जिल्लामा ढकाल समूहले जित्यो, यो टिमको नजर त्यसपछि महानगरतिर सोझियो ।
महानगरमा पनि संस्थापन भर्सेस ढकाल समूह नै मैदानमा आमने सामने देखियो । ‘अगुल्टो हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ’ भनेझैं जिल्लाको नियति सम्झिएर महानगरमा भने संस्थापन समुहका नेताहरू खुलेर रोहित कोइरालाको पक्षमा उभिएनन् ।
उद्घाटन सत्रमा देखिएपछि उनीहरू पटक–पटक पार्टी कार्यालय ओहोर दोहोर गरेनन् । जिल्ला इन्चार्ज जीवन घिमिरे र महानगर इन्चार्ज पर्शुराम बस्नेत बाहेकका अरु नेताहरू देखिएर प्रचारमा आएनन् ।
अर्काेतिर महानगर अधिवेशन उद्घाटन सत्रमै ढकालमाथि बोल्न नदिनका लागि अपमानजक व्यवहार हुनु र पार्टीको अधिवेशनमा बाउन्सरको लाइन लगाइनुले सवैका हुन खोजिरहेका रोहितलाई थप अप्ठेरामा पारेको केही प्रतिनिधिहरूले टिप्पणी गरेका थिए ।
महानगर इन्चार्ज पर्शुराम बस्नेतले ‘अबैधानिक नेतृत्व’ भनेपछि ढकालले अपमानबोध गरेर मञ्च छाडेका थिए ।
रोहित पूर्ण कार्यकालका लागि अध्यक्ष हुनका लागि ढकाल निवासमै पुगेर सहयोगको आग्रह गर्दा ढकालले पनि ठिकै ठाने, नराम्रो मानेनन् । तर पार्टीलाई सानो सानो घेरामा लैजाँदै गरिएको दृष्यबारे ढकालले रोहितलाई ब्रिफिङ गर्दै त्यहाँबाट माथि उठ्न आग्रह गरेका थिए ।
रोहितले एकपटक ‘पुरानै साथको निरन्तरता’ रोजेर स्वस्थ प्रतिष्पर्धा चुने । उनले देखिने गरी कसैप्रति कटाक्ष र नमिठो बोली व्यवहार गरेनन् ।
ढकालले अधिवेशनको उद्घाटनमा आफुमाथिको अपमानका वावजुद पनि ‘रोहित नराम्रो होइन’ भन्दै बाहिर कार्यकर्ताहरूसँग ‘अर्कै’ प्रति खनिएका थिए ।
यस्तै दृष्यका बिच उद्घाटनको तेस्रो दिन सुरु भएको मतदानबाट चौथौं दिन (शुक्रबार) विहानको पहिलो प्रहरसँगै अन्ततः जिल्लाकै नतिजासँग मिल्दो गरी महानगरको नतिजा प्राप्त भयो । ढकालले जे गर्न खोजेका थिए, त्यति भयो ।
अधिवेशनले रोहितको कमिटीमा सचिव रहेका बलराम गिरी (नविन) लाई अध्यक्षमा चुन्न सफल भयो । गिरीसहित पाँचै पदाधिकारी ढकाल पक्षकै उम्मेदवारहरू निर्वाचित भए ।
अध्यक्षमा बलरामले १७३ मत पाएर निर्वाचित हुँदा रोहित कोइरालाले १२१ मत प्राप्त गरे । नगर्न खोजिएको निर्वाचन भएरै छाडेपछि रोहितले पनि स्वस्थ्य प्रतिष्पर्धालाई राजनीति संस्कारका रुपमा स्वीकारे । उनले नतिजा लगत्तै बलरामसहित निर्वाचित सवैलाई सामाजिक सञ्जालका माध्यमबाट शुभकामना दिए । प्रतिनिधिहरू प्रति आभार व्यक्त गरे ।
‘गतिशील पार्टीको आन्तरिक जीवनमा हुने आपसी प्रतिस्पर्धा एक नियमित प्रक्रिया हो र यसबाट आएको परिणाम आत्मसात् गर्नुको विकल्प छैन’ उनले लेखेका छन्, ‘पार्टीले ताकेको मिसन ०८४ को लक्ष्य पूरा गर्न र समृद्ध विराटनगर निर्माणको दिशामा अग्रसरता देखाउँदै यहाँको विकास निर्माण एवं सुशासनको नेतृत्व गर्न नवनिर्वाचित महानगर नेतृत्व सफल रहोस् भन्ने कामना गर्दछु, साथसाथै सदैव खबरदारी सहितको रचनात्मक सल्लाह सुझाव एवं सहयोग रहिरहने प्रतिवद्वता पनि व्यक्त गर्दछु ।’
अहिले जिल्ला र महानगर दुबैमा अनुकुल नतिजा हात पारेका ढकाल तिनै नेता हुन्, जसले विगतमा पर्शुराम बस्नेतसहितको टिमलाई बलियो राजनीतिक संरक्षण दिएका थिए ।
विराटनगरमा कुनै कार्यकर्ता विवादमा पर्दा उनीहरूलाई ढाडस दिने एउटा छहारी बनेका थिए ढकाल । तर, जब उनलाई केही राजनीतिक परिस्थितिको उपज बनाएर शक्तिहीन बनाउने प्रपञ्च रे, त्यतिबेला ढकाललाई धेरैले साथ छाड्दै गए । बरु विगतमा ढकाल विरोधी भनिनेहरू भने उनीसँग जोडिए ।
अहिले समयक्रममा ढकालले पहिलो इन्ट्री गरेको १० औं जिल्ला अधिवेशन र त्यसपछि महानगर अधिवेशनबाट फेरि शक्तिमा फर्किन सफल भए । राज्यसत्ता र पार्टी सत्ता दुबैको प्रभाव चिरेर कार्यकर्ताले ढकाल र उनको टिमलाई रुचाए, साथ दिए । यसलाई उनले सदुपयोग गर्नुपर्ने उनका नजिकका कार्यकर्ता र शुभचिन्तकहरू बताउँछन् ।
‘विगतमा अराजनीतिक व्यक्तिहरू च्याप्दाको परिणाम उहाँले आफै भोग्नु भएको छरू एमाले मोरङका एक नेताले भने, ‘अब विगतको जस्तो गल्ती नदोहोर्याउने गरि अघि बढ्नुपर्छ, अब यो कोर्सलाई ढकाल जीले यहि सक्नुपर्छ, यहाँभन्दा तल वडामै जान थाल्नुभयो चैं धेरै कुरा अमिल्दो हुन्छ ।’
ती नेताले थपे ‘अहिलेको जिल्ला र महानगर नेतृत्वले पनि पार्टीमा मनपरी गर्न खोज्दाको परिणाम के हुन्छ भन्ने कुरा जिल्ला र महानगरको नतिजाबाट बुझ्नुपर्छ, एकल रुपमा पार्टी चलाउने र राजनीतिमा दादागिरी अबको समयमा कहिँ टिक्दैन भन्ने बुझेर अघि बढ्नुपर्छ ।’
View : 802
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved