लोकतन्त्रको विरासत र अभिभावकत्वको अपेक्षा
आदरणीय शेरबहादुर देउवाज्यू,
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस सबैभन्दा पुरानो, ठूलो र ऐतिहासिक दल हो । यस दलले गणतन्त्र, लोकतन्त्र, मानव अधिकार र संसदीय व्यवस्थाजस्ता मूल्य–मान्यताहरू स्थापित गर्न र यसप्रतिको गहिरो चासो राख्नमा महत्वपूर्ण भूमिका खेलेको छ । विसं २००६ सालमा कलकत्तामा स्थापित यस पार्टीले राणाशासनको अन्त्यदेखि प्रजातन्त्र स्थापनासम्म ठूलो योगदान दिएको कुरा सर्वविदितै छ ।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला हुँदै तपाईं शेरबहादुर देउवाज्यूसम्म आइपुग्दा नेपाली कांग्रेसले आम नेपाली जनताका लागि ठूला तथा महत्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक सम्हालिसकेको छ ।
मुलुकको सबैभन्दा जेठो दल नेपाली कांग्रेसको मूल विचारधारा, जस्तैः लोकतन्त्र, संसदीय व्यवस्था, मानव अधिकार, सामाजिक लोकतान्त्रिक अर्थतन्त्र र बहुलवादलाई आम नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।
तपाईं सुदूरपश्चिमको विकट जिल्ला डडेलधुराबाट नेपाली राजनीतिमा उदय भए पनि तपाईंको स्वभाव सरल, कम बोल्ने, तनावमा पनि शान्त रहने, अनुशासित, भद्र र भलाद्मी लाग्दछ । कला र कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गरिसक्नुभएको तपाईंभित्र एक सहज नेताको व्यक्तित्व देखिन्छ ।
वर्तमान अवस्था र महाधिवेशनको अपरिहार्यता :
वर्तमान देशको अवस्था निकै अस्थिर र चुनौतीपूर्ण छ । मुलुकको पाँच पटकसम्म प्रधानमन्त्री पद सम्हालिसक्नुभएको तपाईंले अब वर्तमान अवस्थालाई सहजीकरण गर्दै मुलुकलाई स्थिरता र विकासको बाटोमा लैजानु हुन अनुरोध छ ।
नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने अवसर तथा १३ औं र १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित नेताको नाताले, अबको १५ औं महाधिवेशन नेपाली कांग्रेसको विधानअनुसार समयभित्रै गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न यो अत्यावश्यक छ ।
ऐतिहासिक योगदानको स्मरण :
विद्यार्थी आन्दोलनबाट नेपाली राजनीतिमा उदाउनुभएका तपाईं नेपाल विद्यार्थी संघको पहिलो सभापति पनि हुनुहुन्छ । ३० वर्षे पञ्चायत शासन अन्त्य गर्न, २०४६ सालको जनआन्दोलनमा सक्रियता देखाउन र २०५२ सालदेखि सुरू भएको माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउन तपाईंको भूमिका महत्वपूर्ण रह्यो । २०५२ सालमा भारतसित भएको महाकाली सन्धि सम्पन्न गर्नु तपाईंको प्रधानमन्त्रीकालको एक ऐतिहासिक कदम थियो ।
तपाईंले राजनीतिमा तनावका कारण नेपाली कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेको र पछि पुनः नेपाली कांग्रेसमै फर्किएको कुरा सर्वविदितै छ ।
जेनजी आन्दोलन र नेतृत्व परिवर्तनको आवश्यकता :
गत भदौ २३ र २४ गते भएको ऐतिहासिक आन्दोलन तथा विध्वंसले देशले थुप्रै होनाहार विद्यार्थी र भौतिक संरचना गुमायो । यो अवस्था आउनुमा कतै न कतै राजनीतिक कमजोरी देखिन्छ ।
त्यस आन्दोलनका क्रममा तपाईं र तपाईंको परिवार घाइते भएर अस्पतालमा देख्दा आम नेपालीको मन रोएको थियो । एक असल, सरल र अनुशासित नेतामाथि भएको यो हमलाले ३ करोड नेपालीको मन दुखेको थियो ।
यस परिस्थितिलाई दृष्टिगत गर्दै तपाईंले नेपाली कांग्रेसको सभापति पदबाट अलग हुने निर्णय गर्नुभयो । एउटा असल नेताले आफ्नो राजनीति ठिक्क उमेरसम्म गर्दछ । उमेरले ७० वर्ष कटिसकेपछि राजनीतिबाट विश्राम लिनु उपयुक्त हुन्छ ।
‘अबका दिनमा राजनीतिबाट विश्राम लिएर दोस्रो पुस्तालाई अघि सार्दै १५औं महाधिवेशनमा अभिभावकको भूमिका निर्वाह गर्न आम नेपालीले चाहेका छन् ।’
जेनजी पुस्ताको आन्दोलनले सत्ता नै परिवर्तन गर्यो र संसद विघटन भयो । जेनजी पुस्ताले उठाएका मागहरूलाई पुरानै शैलीमा वेवास्ता नगरी नयाँ सरकारले सम्मान गर्नुपर्ने बेला आएको छ । तपाईंले जेनजी पुस्ताप्रति देखाउनुभएको सद्भाव सराहनीय छ ।
भर्खरै मात्र नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकबाट फागुन २१ को निर्वाचनमा सहभागी हुने निर्णय स्वागतयोग्य छ । तपाईंको उमेर निकै भएकाले शारीरिक अवस्था कमजोर हुनु स्वाभाविक हो ।
अबका दिनहरूमा तपाईंले आम नेपालीको असल अभिभावक भएर सम्मानका साथ बाँकी जीवन देशलाई समर्पित गर्नुहोला । त्यसैमा तपाईंको कल्याण हुनेछ । महोदय, नेपाली कांग्रेसको नेतृत्व र वर्तमान राजनीतिको सन्दर्भमा सम्माननीय नेतालाई यो एक नागरिकको अनुरोध हो ।
अन्त्यमा तपाईंको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
View : 413
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved