कृषि एक्स्पो २०८१
विराटनगर । भदौ २७ देखि चार दिनसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ मा कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा एक्स्पोको तयारी तीब्र पारिएको छ ।
एक्स्पोमा परम्परागत रुपमा प्रयोग गरिने कृषि औजारहरु, हाते औजार, ट्रयाक्टर, ड्रोन, मल्टी हार्भेस्टर लगायतका सयौं कृषि यन्त्र उपकरणहरु प्रदर्शनीमा राखिने भएको हो ।
कृषि औजारको प्रदर्शनीका लागि एक्स्पोमा रहेका १३० वटा स्टलहरु मध्ये २५ वटा स्टलहरु छुट्याइएको छ । नेपालमा उत्पादित ‘मेड इन नेपाल’ ब्राण्डका कृषि औजारदेखि भारतमा उत्पादित विभिन्न प्रकारका कृषि उपकरणहरु समेत प्रदर्शनीमा राखिने जनाइएको छ ।
साथै किसानहरुले उत्पादन गरेका कृषि उपजलाई भण्डारण स्थल र बजारसम्म पुर्याउनका लागि आवश्यक पर्ने डेलिभरी भ्यान समेत प्रदर्शनीमा राखिने महासंघले जनाएको छ ।
एक्स्पोमा चारवटा डोम (छानो) रहने छन् । मोरङको कटहरीस्थित कृषि थोक बजार केन्द्रमा लाग्ने एक्स्पोलाई सफल पार्न महासंघले भव्य तयारी र प्रचार प्रसार गर्दै आएको छ ।
कृषि क्षेत्रको व्यवसायीकरण, किसान र व्यवसायीबीचको सहकार्य, आधुनिक कृषि प्रणालीको विकासमा एक्स्पोले कोशी प्रदेशमै कीर्तिमान कायम राख्ने महासंघका कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले बताएका छन् । उनले कृषि क्षेत्रको विकासमा यो एक्स्पोले रणनीतिक रुपमा सहयोग गर्ने दाबी गरे ।
‘हिजोआज खेती व्यवसायलाई कसरी अझ प्रभावकारी र लाभदायक बनाउने भनेर जान्नको लागि पहिले भन्दा धेरै तरिकाहरु छन्, ती मध्ये सबैभन्दा भरपर्दो र प्रत्यक्ष रुपमा सहभागी हुन पाउने, आँखाले हेर्न र अनभूत गर्न पाउने भनेको भौतिक रुपमा संचालन गरिने कृषि एक्स्पो नै हो’ उनले भने,‘कृषि एक्स्पोमा एउटै छानामुनि उत्पादन, सेवा र प्रविधिको एकमुष्ट प्रदर्शन हुनेछ, यसले व्यापारका साथै लगानीका अवसरहरु पहिचान गर्न र अन्वेषण गर्न सञ्जाल निर्माण गर्न अवसरहरु प्रदान गर्दछ ।’
राउतले कृषि क्षेत्रको आधुनीकरणमा हालसम्म गरिएका आधुनिक आविष्कारहरुको प्रदर्शनी गर्न एक्स्पो सफल हुने दाबी गरे । पछिल्लो पटक कृषि क्षेत्रमा समेत डिजिटल एवं भर्चुअल मार्केटिङ पद्धतिहरुको वृद्धि भएको भन्दै यो अवसरले व्यवसायीहरुलाई सम्भावित ग्राहकहरुसँग जोड्न, आमने–सामने अन्तरक्रिया गर्न र कृषि क्षेत्रका विभिन्न सवालहरुमाथि पृष्ठपोषण प्राप्त गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।
राउतले तीनै तहका सरकारहरुले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिंदै आएको र कृषकहरूलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले विभिन्न अनुदान कार्यक्रमहरु सञ्चालन गर्दै आउनु निकै सुखद भएको बताए ।
कृषि क्षेत्रको आधुनिक विकासबाट मात्रै देशको आर्थिक क्षेत्र अघि बढ्ने भएकोले तीनै तहका सरकारहरुले दिने अनुदानहरुमा कृषि उपकरण र मेसिनरीको खरिद, सिंचाइ प्रणालीको स्थापना र सुधार, उन्नत बीउ र जैविक मल, जैविक खेती प्रवर्द्धन, आधुनिक गोठ निर्माण, माछापालन, कुखुरापालन, गाईभैंसी, बाख्रा, बंगुरपालन, चिस्यान केन्द्र, शीत भण्डार, संकलन केन्द्र, गोदाम घर र रेफ्रिजेरेटर जडित ढुवानी साधनका लागि अनुदान सहयोग बढाउँदै जानुपर्ने महासंघले जनाएको छ ।
View : 130
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved